१ अर्ब २४ करोडकाे सडक: ५ वर्ष बित्याे ३० किलाेमिटर पनि बनेन

  २०७७ साउन २२ गते १५:४८     विकासन्युज

काठमाडाैं । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

दुई वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी मुढेबाट चरिकोटसम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको भएता पनि पाँच वर्ष बितिसक्दासमेत काम सम्पन्न हुनसकेको छैन । समयमै काम नगरेपछि निर्माण कम्पनीले विभिन्न बहानामा पटक–पटक समय थप गर्दै आइरहेको छ । पटक–पटक समय थप भएता पनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा दोलखाका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी विसं २०७२ भदौमा सम्झौता गरी शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी कम्पनीले जिम्मा लिएको थियो । सडक अलपत्र पारेको र नागरिकलाई दुःख दिएको भन्दै दोलखाका नागरिक समाजले सङ्घर्ष समिति नै गठन गरी पटक–पटक आन्दोलनसमेत गर्दै आएका छन् ।

नागरिकको चर्को आन्दोलनपछि केही समय काम गरेजस्तो गरे पनि निर्माण कम्पनीले निरन्तर काम गर्न सकेको छैन । सडकको अवस्था र नागरिकले भोग्नुपरेको समस्याको विषयमा निर्माण कम्पनीलाई जानकारी गराई पटक–पटक सडक सुधारका लागि अनुरोध भइरहेको र बेवास्ता गरे आन्दोलनको तयारी भइरहेको नागरिक समाज दोलखाका संयोजक चीरञ्जीवी मास्केले बताए ।

ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई निर्माणकार्यलाई गति दिन नसक्दा वर्षाको समयमा दोलखाबाट राजधानी काठमाडाैं जोडने एक मात्र सडकखण्ड अस्तव्यस्त बन्नुका साथै नागरिकले कष्ट व्यहोर्न बाध्य भएका छन् ।

भारतीय एक्जिम बैंकको रु एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाडीचौर–चरिकोट सडकखण्ड पहिलो चरणको खाडीचौरबाट मुडेसम्मको काम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणको २५ किलोमिटर सडक कालोपत्र गरी अन्तिम चरणमा पुगे पनि मुडेबाट चरिकोटसम्म ३० किलोमिटर सडकखण्डको काममा कुनै प्रगति हुनसकेको छैन । तीस किमि सडकमा कटिङ फिलिङको काम सकी केही क्षेत्रमा सव वेको काम गरेको भएतापनि वर्षाका कारण सडक हिलाम्मे बनेको छ ।

निर्माण कम्पनीलाई समयमै काम गर्नका लागि पटक–पटक ताकेता गर्दा पनि काम नगरेको र बेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालयले १० प्रतिशत जरिवाना लगाएको छ । निर्माण कम्पनीले काम समयमा सम्पन्न नगरेका कारण रु ८ करोड जरिवाना तिर्न बाँकी रहेको भए पनि रु ३५ लाख ९१ हजार निर्माण कम्पनीबाट रकम असुली गरिसकेको आयोजना प्रमुख दीप वाराहीले जानकारी दिए ।

वर्षायाममा कालोपत्रको काम गर्न नमिल्ने भएपछि हाल मर्मतसम्भारको काम मात्र भइरहेको उनले बताए । निर्माणको चरणमा रहेका र समय अवधि सकिएका तथा निर्माणका काम सम्पन्न नभएका आयोजनालाई एक वर्षको सयम अवधि थप भएसँगै आयोजनाको समय अवधि पुस २५ गतेसम्मका लागि थप भएको छ । निर्धारित समयमै काम सम्पन्न गराउनका लागि आफूले पटक–पटक आग्रह गरिरहेको र नियमित अनुगमन भइरहेको आयोजना प्रमुख वराहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.