गैरकानुनी क्रिप्टो करेन्सीको प्रयोग बढ्दो, ख्यालख्यालैमा पीआई नेटवर्क माइनिङमा सघाउँदै नेपाली

  २०७७ साउन १४ गते १०:२७     नबिन पाेखरेल

काठमाडौं । केही समययता मोवाइलमा पाई (पीआई) नेटवर्क एप डाउनलोड गर्नेहरुको संख्या बढ्दो छ । पीआई नेटवर्क नामक क्रिप्टो करेन्सीको माग बढ्दै गर्दा यो एप चलाउन कानुनी हो कि गैरकानुनी हो भन्ने अधिकांशको चासोको विषय बनेको छ ।

नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरीको साइबर व्यूरो भर्चुअल मनी चलाउनु गैरकानुनी रहेको बताउँदै आएका छन् । यता सामाजिक संजाल प्रयोगकर्ताहरु भने एक अर्कालाई पीआई नेटवर्क चलाउन प्रोत्साहित गरिरहेका छन् ।

अहिले पीआई नेटवर्कको एप्लिकेसन एन्ड्रोइड अपरेटिङ सिस्टमको गुगल प्ले स्टोर र आइफोनको एप स्टोरमा उपलब्ध छ ।

स्याण्डफर्ड युनिभर्सिटीका विद्यार्थीले सुरुवात गरेको भनिएको पीआई नेटवर्क आगामी २०२१ बाट संचालनमा आउने भनिएको छ । यसको प्रचार प्रसार तथा माइनिङ् (चलाउने काम) सुरु भइसकेको छ ।

पीआई नेटवर्क एक प्रकारको क्रिप्टोकरेन्सी हो । अमेरिका तथा यूरोपका केही देशमा क्रिप्टो करेन्सी चलाउनु कानुनी नै हो । तर कतिपय राष्ट्रहरुको क्रिप्टो करेन्सीलाई गैरकानुनी भन्दै प्रयोग तथा प्रचार प्रसारमा रोक लगाउँदै आएका आएका छन् ।

के हो क्रिप्टो करेन्सी ?

क्रिप्टो करेन्सी एक किसिमको ईन्टरनेट मुद्रा (भर्चुअल करेन्सी) हो । क्रिप्टोको अर्थ कुनै पनि कुरालाई सेक्यूरिटी दिन कोड भाषामा राख्नु भन्ने हो ।

पछिल्लो समय यसलाई कुनै पनि देशको कागजी नोटको विकल्पमा प्रयोग गर्ने गरिएको छ । यो भनेको तपाईले कुनै १ हजार पर्ने सामान किन्नुभयो भने त्यो पैसा होइन त्यतिनै बराबरको क्रिप्टो करेन्सी दिन सक्नुहुनेछ ।

अहिले ईन्टरनेटमा हजारौं यस्तो मुद्राहरु छन्, जो सिमित व्यक्तिले कुनै पनि पैसाको विकल्पमा प्रयोग गर्न सक्छन् । लाईटक्वाइन, ईजीक्यास, विटक्वाइन लगायतका हजारौं यस्ता मुद्राहरुको कारोबार अहिले पनि इन्टरनेटमा भइरहेको छ । त्यसमध्ये पीआई नेटवर्क सन् २०२१ देखि संचालनमा आउने भनिएको छ ।

सफ्टवेयरमा आधारित यो मुद्राको सुरुवात स्ट्याण्डफर्ड युनिभर्सिटीका विद्यार्थीले गरेको भनिएको छ । विश्वको कुनै पनि देशमा यस्ता मुद्राको नियमनकारी निकाय छैन ।

क्रिप्टो करेन्सीको कारोबारमा लाभहानीको प्रसँग पनि जोडिन्छ । तर, यसमा करको विषयमा पनि धेरै देशले निर्णय गरिसकेका छैनन् । केही समय अघिमात्रै जापान सरकारले विटक्वाइनको कारोबारलाई बैधानिकता दिएको छ । जापानले बैधानिकता दिएपछि यसको माग उच्च गराउन सहयोग पुगेको थियो ।

विश्वका विभिन्न देशको चलनचल्तीको परम्परागत मुद्राले क्रिप्टो करेन्सी किन्न पाइन्छ । मनि एक्स्चेन्जरले विदेशी मुद्रा साटेजस्तो गरी अन्य मुलुकमा क्रिप्टो करेन्सी पनि किन्न र बेच्न पाइन्छ । विश्वका विभिन्न स्थानमा विभिन्न क्रिप्टो करेन्सीका एटीएम मेसिनहरू पनि छन् ।

विटक्वाइन जस्ता केही क्रिप्टो करेन्सीहरु विभिन्न विकसित देशमा मुद्राको विकल्पमा पनि प्रयोग गर्न पाइन्छ । तर नेपालमा भने नेपाल राष्ट्र बैंकले कुनैपनि यस्ता भर्चुअल मुद्राको कारोबारलाई बैधानिकता दिएको छैन ।

लगानीको उपकरण

क्रिप्टो करेन्सीमा सुन र डलरमा जस्तै लगानी पनि गरिन्छ । तर यसमा लगानी गर्नु निकै नै जोखिमपूर्ण रहेको छ । विश्व इतिहासमा यसरी आएका मुद्राहरु टाट पल्टिएका अर्थात फेल भएका उदाहरण धेरै छन् । किनभने यो कुनै व्यक्ति तथा देशको नियन्त्रणमा छैन । यसको नियमनकारी निकाय तथा कुनै पनि नियमकानूनमा नभएको इन्टरनेट सफ्टवेयरमा आधारित भएको कारण कुनै पनि समयमा दुर्घटना नहोला भन्न सकिन्न ।

यस्ता क्रिप्टो करेन्सीहरुमा विटक्वाइन चर्चित छ । यसको सिको गर्दै धेरै क्रिप्टो करेन्सीहरु संचालनमा आएका छन् । लाईटक्वाइन, ईथेरियम, जिक्यास, विटक्वाइन क्यास जस्ता क्रिप्टो करेन्सी संचालनमा छन् । पछिल्लो समय पीआई नेटवर्क स चालनमा आएको छ र व्यापक प्रचार प्रसार भएको छ । यी सबै एकै प्रकारका खुल्ला सफ्टवेयरमा आधारित क्रिप्टो करेन्सी हुन् । यस्ता भर्चुअल मनी कुनै पनि समय ह्याकर लगायतकाको फन्दामा पर्न सक्ने सम्भावना रहन्छ । र, कारणविनै ध्वस्त हुन पनि सक्छ । सुरक्षाको हिसाबले यस्ता मुद्राहरुमा लगानी गर्नु निकै नै खराब निर्णय हुनसक्छ ।

नेपालबाट सम्भव छ लगानी गर्न ?

करिब छैन । किनभने नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीलाई गैरकानुनीमा मानेको छ । गैरकानुनी कारोबारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहज हुदैन ।

अरु समस्या पनि छन् । जस्तो कि नेपालबाट विदेशमा लगानी गर्नको लागि कानुनी रुपमा पाइदैन । विदेश जाने नेपालीले बढीमा लान पाउने वा पठाउन पाउने रकम भनेको ५ सय अमेरिकी डलर हो । कसैले विदेशका कलेजमा भर्ना भएको र कलेज फि तिर्न रकम पठाउनु पर्याे भने ५ सय डलरभन्दा बढी रकम पठाउन खोज्ने वित्तिकै स्वीफ्टले स्वचालित रुपमै रिजेक्ट गरिदिन्छ । त्यसैकारण बैंकका कुनै कर्मचारीले बद्मासी गर्न चाहेर पनि सम्भव छैन ।

संचालनमा आएका विभिन्न क्रिप्टो करेन्सीको मूल्य १ लाख अमेरिकी डलरभन्दा बढी पनि छ । नेपालमा कसैले अर्काे व्यक्तिको नाममा बैंकमा रकम जम्मा गरिदिनुपर्याे भने १ लाख रुपैयाँभन्दा बढीमा तिनपुस्ते र प्रयोजन खुलाउनु पर्छ । यस्तो अवस्थामा क्रिप्टो करेन्सी किन्नको लागि अर्काे व्यक्तिको खातामा पैसा जम्मा गरिदिन नेपालका बैंक वित्तीय संस्थाले मान्दैनन् ।

अर्काे समस्या भनेको रकम निकाल्न पनि हो । आफ्नै खाताको १ लाख रुपैयाँभन्दा बढी रकम झिक्नु पर्याे भने पनि (ग्राहक परिचय अध्यावधिक (केवाईसी अपडेट) भएको हुनुपर्छ । र, १० लाख रुपैयाँभन्दा बढी रकम नगद झिक्न पाइदैन । चेक काटेर अर्काे व्यक्तिलाई भुक्तानी दिनुपर्छ ।

हङकङमा भर्चुअल मनीको एटिएम

हङकङमा भुर्चअल मनीको कारोबारलाई कानुनी मानिएको छ । त्यहाँ भर्चुअल मनीको कारोबार हुने एटिएम मेसिन राखिएको छ । यस्तै, विश्वका विभिन्न देशहरुमा भर्चुअल मनीसँग सम्बन्धित काम गर्नु त्यति नराम्रो मानिदैन । तर नेपालको हकमा भने कसले कहाँबाट कारोबार गरिरहेको छ, कतिको कारोबार गरेको भन्ने थाहा पाउने कुनै संयन्त्र छैन ।

अहिले भर्चुअल मनीमा संलग्न भएकाहरु कुनैपनि बेला ठगिन सक्छन् । कसैले कसलाई ठग्न वा ठगिन नहुने भन्दै साईबर व्यूरोले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

साईबर व्यूरोले कसैले पीआई नेटवर्कको कारोबार गरेर कसैलाई ठगेको वा ठग्न खोजेको दुबै अवस्थामा कारबाही हुने बताएको छ ।

पीआईको नेटवर्क नै फरक

जानकारहरुका अनुसार पीआईको नेटवर्क नै भिन्न किसिमको रहेकाले यसले चर्चा पाएको छ । तर पनि यो नेटवर्क कतिको सफल हुने हो भन्ने हेर्न भने केही समय कुर्नु पर्ने जानकारहरु बताउछन् ।

के भन्छ साइबर ब्यूरो ?

नेपाल प्रहरीको साइबर ब्यूरोले पीआई नेटर्वक चलाउनु गैरकानुनी रहेको जनाएको छ । र, कसैले पनि गैरकानुनी रुपमा रहेको नेटर्वकहरु चलाउन जोड बल गर्न नहुने तथा गरे गराए कानुनी कारबाहीको भागिदार हुनुपर्ने ब्यूरो बताउँछ ।

करको दायरामा नभएका कारण नेपालमा भर्चुअल मनीलाई अवैध मानिएको हो । कसैले भर्चुअल मनीमा ठगेको हकमा नेपालमा त्यस्ता ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्ने संयन्त्र छैन ।

अनुसन्धान गर्दै व्यूरो

साईबर व्यूरोले भर्चुअल मनीबाट कोही पनि नठगिउन भन्दै अनुसन्धान थालेको छ । उक्त अनुसन्धानको क्रममा पिरामिड शैलीका नेटवर्किङमा कसैले गरेको भेटिएमा कानुनी दायरामा ल्याइने साइबर व्यूरो बताउँछ ।

‘पहिले हामीले भर्चुअल मनीको कारोबार नगर्नुस् भनेर सजग गराउँछौं, त्यसपछि पनि नमान्नेलाई कारबाही गर्छौं, साइबर व्यूरोका सहनिर्देशक नबिन्द्र अर्यालले भने ।

पहिलो चरणमा कसैले भर्चुअल मनीको कारोबार गरेमा, दोस्रो चरणमा अरुलाई कारोबार गर्न लगाएमा त्यस्तै तेस्रो चरणमा कसैलाई भर्चुअल मनिको विषयमा ठग्ने प्रयासमा गरेमा कारबाही हुनेछ ।

यस्तो भन्छ राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार भर्चुअल मनीलाई नेपालमा कुनै कोणबाट मान्यता छैन ।

‘नेपालमा भर्चुअल मनीको कारोबारलाई मान्यता छैन, सोही कारण यस्ता गतिविधिमा संलग्न रहेकाहरुलाई रोक्न हाम्रो अध्ययन भइरहेको छ, त्यस्ता गतिविधि गर्नेहरु मुद्रा अपचलनको कसुर अन्तर्गत कारवाहीमा पर्नेछन्’, नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्टले विकासन्यूजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.