महासंघमा विज्ञप्ति विवादः यसरी आएछ ‘साधारणसभा अब रोकिदैन’ भन्ने विज्ञप्ति

  २०७७ साउन ८ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साउन ७ गते जारी गरेको एउटा प्रेस विज्ञप्तिले अहिले बजारमा चर्चा पाएको छ । संचारमाध्यममा खासै चर्चा नपाएको एउटा विज्ञप्तिलाई ‘कोट’ गर्दै खण्डन गरिएको महासंघको विज्ञप्तिले चुनावी राजनीतिक सरगर्मी बढेको संकेत गरेको छ ।

साउन ६ गते बेलुका ९ बजेर ४३ मिनेटमा इमेल गरिएको ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ लेखिएको एउटा विज्ञप्ति महासंघसँग सरोकार राख्ने धेरैबीच अहिले ‘भाइरल’ भएको छ । र, विज्ञप्ति जारी गर्नेको नाम, लोगो वा संस्था केही पनि प्रयोग गरिएको छैन । समाचार जस्तो देखिने सामग्रीलाई ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ लेखिएको कारण बढी चर्चा भएको छ ।

‘प्रेस रिलिज अफ एफएनसीसीआई’मा महासंघको साधारणसभा नसर्ने जानकारी गराएको छ । कसले र किन साधारणसभा नगर्ने जानकारी गरायो भन्ने केही उल्लेख छैन । र, इमेल गर्ने व्यक्तिको नाम मोनिका अधिकारी लेखिएको छ ।

के छ ‘प्रेस रिलिज अफ एफएनसीसीआई’मा ?

लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने

काठमाडौं । नेपाल सरकारले आज मध्यरातिदेखि लकडाउन हटाएको छ । मन्त्रिपरिषदको बैठकको जानकारी दिँदै सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन आजै मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिए ।

सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि अब भोलिदेखि हटाइएको छ । जसअनुसार भोलिदेखि सबै सवारी साधन चल्नेछन् ।

यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुल्ला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तराष्ट्रिय उडानहरु पनि सोही दिनदेखि गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

यसरी अव सबैतिर खुल्ला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा पनि सुचारु हुने भएको बताइएको छ । यही साउन २६ र २७ गते सो साधारण सभा काठमाडौंमा हुने तयारी भइरहेको छ । लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि आज ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए ।

तर आज साँझ सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा संचालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् ।

साधारणसभाको तायर िअन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी हप्ता उम्मेदवारीदर्ताको कार्यतालिका छ ।

आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले आआफ्नो प्यान पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् ।

देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन् ।

अनि यस्तो विज्ञप्ति जारी गर्यो महासंघले

‘प्रेस रिलिज अफ एफएनसीसीआई’ सार्वजनिक भएपछि नेपाल उद्योग वाणिज्य महासंघले आधिकारिक रुपमा आपत्ति जनाउँदै अर्काे विज्ञप्ति जारी गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा ‘प्रेस रिलिज अफ एफएनसीसीआई’प्रति आपत्ति जनाइएको छ ।

यस्तो छ महासंघले जारी गरेको आधिकारिक विज्ञप्ति

नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति (Press Realese of FNCCI) भनी मोनीका अधिकारीले २१ जुन २०२० तदनुरुप २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्षले गर्नु भएको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्ष्ँ क्रमशः किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयबस्तु एवं ५४औं वार्षिक साधारण सभाको तयारीको बिषयमा उल्लेखित प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको पाईएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई सर्वस्विकृत आचार संहिताको गम्भीर उल्लंघन समेत हो । महासंघ यस्ता सबै प्रकारका आधारहीन प्रेस विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको निन्दा एवं भत्सर्ना गर्दछ ।

महासंघले सम्पन्न गर्ने ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको वारेमा दिईने सूचना तथा जानकारीका अधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्ने/गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पु¥याउनुका साथै सम्बन्धित सबै सदस्यहरू बीच भ्रम पैदा गर्दछ । महासंघले वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पार्दछ ।

अतः यस्ता अनधिकृत एवं भ्रमपूर्ण कपोलकल्पित विज्ञप्तिको उल्लेखित बिषयमा कुनै सत्यता नरहेको सो भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा महासंघ हार्दिक अपिल गर्दछ । यसरी भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्ति मोनीका अधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायलाई महासंघ हार्दिक अनुरोध गर्दछ ।

साइबर ब्युरोसम्म पुग्यो विवाद

‘प्रेस रिलिज अफ एफएनसीसीआई’लाई उघृत गर्दै केही संचारमाध्यमले समाचार पनि बनाएका थिए । यसरी समाचार आएपछि महासंघको अर्काे विज्ञप्ति आएको थियो ।

महासंघले विज्ञप्ति जारी गर्नुका साथै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी नै गरेको छ । सो विज्ञप्ति प्रकरणमा विद्युतीय कारोबार ऐनले बर्जित गरेका गतिविधि गरिएको महासंघको भनाइ छ ।

महासंघबाट उजुरी प्राप्त भएपछि साइबर ब्युरोले ‘आवश्यक छानविन गरिरहेको’ छ ।

भएको के थियो ?

यो विज्ञप्ति प्रकरणको उठान भने रमाइलो प्रकारले भएको तथ्य खुलेको छ । विकासन्युजलाई प्राप्त जानकारी अनुसार ‘प्रेस रिलिज अफ एफएनसीसीआई’मा इमेल गर्ने व्यक्ति भनेर देखिएको नाम एक चर्चित एड एजेन्सीमा काम गर्ने कर्मचारीको हो ।

सो एड एजेन्सीका संचालकले पनि आफ्ना कर्मचारीले ‘प्रेस रिलिज अफ एफएनसीसीआई’ एक पत्रकारलाई फरवार्ड गरेको जानकारी दिए । सो एड एजेन्सीले एउटा पत्रिका र एउटा अनलाइन पनि संचालन गर्ने गरेको छ ।

‘हामीलाई कसैले इमेल गरेर सो सामग्री समाचारको रुपमा पठाएको थियो, हामीले हाल्यौं पनि, त्यही सामग्री एक आर्थिक पत्रकारले मागे, हाम्रा कर्मचारीले फरवार्ड गर्नुभयो, पछि त त्यही सामग्री प्रेस विज्ञप्ति जस्तो भएछ, कहाँ कहाँ पुगेछ र कत्रो ठूलो विषय बनेछ, हामीले समाचारको रुपमा आफ्नो अनलाइनमा हालेको सो सामग्री त्यति भरपर्दाे नदेखिएपछि आफैले पनि हटाएका छौं,’ सो एड एजेन्सीका संचालकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.