मनसुन सक्रिय हुनेक्रम जारी

  २०७७ असार २८ गते १३:०६     विकासन्युज

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ” उनले भने ।

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए । यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १९.५, नेपालगञ्जमा ४.६, धनकुटामा ४४.२, विरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.