सुदूरपश्चिममा कोभिड-१९ का कारण ६ जनाको मृत्यु

  २०७७ असार १४ गते १०:०८     विकासन्युज

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ सय १६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २ सय १४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या २ हजार ७६ पुगेको छ । जसमा ४ सय २४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो ।

जिल्लागत रुपमा हालसम्म कैलालीमा ५ सय ७७ जना, अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, दार्चुलामा १६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा १ लाख २५ हजार २ सय ९३ को नमूना जाँच गरिसकिएको छ ।

आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९ सय ३५ जनामा गरिएकोमा २ हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १ सय ७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट १ लाख ८ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ । प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् ।

सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १ सय ३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५ सय ९४ सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ ।

स्वाब नमूना जाँचको दायरा बढाउन प्रदेशको डोटी र बैतडीमा एकरएक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम पीसीआर मेसिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको जनाइएको छ । स्वाथ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो पटक क्वारेन्टिनमा बसेकाको आरडीटी किटमार्फत मेलेरिया रोगको जाँच गर्ने काम पनि भइरहेको छ । पछिल्ला महिनामा प्रदेशमा मलेरिया, कालाजार र डेंगू जस्ता सङ्क्रमक रोग देखिन थालेको जनाइएको छ ।  रासस

One comment on "सुदूरपश्चिममा कोभिड-१९ का कारण ६ जनाको मृत्यु"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.