टोखालाई चिनाउन स्थानीय पाठ्यक्रम निर्माण

  २०७७ असार ९ गते २१:००     विकासन्युज

काठमाडौं ।  टोखा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले नगरपालिकाभित्रका बालबालिकालाई टोखाबारे चिनाउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समिति स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाका बालबालिकालाई टोखाबारे चिनाउन ५० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको जानकारी दिए ।

स्थानीय पाठ्यक्रमभित्र टोखाको चिनारी, यहाँको जीवनशैली र संस्कार, परम्परागत ज्ञान, सीप र प्रविधि समेटिने छ । समितिले किताब लेखनको कार्यसमेत अगाडि बढाएको शिक्षा शाखा प्रमुख गौतमले बताए । पाठ्यक्रम निर्माणका लागि टोखाले आर्थिक वर्ष २०७६/७७ मा रु दुई लाख रकम विनियोजन गरेको थियो ।

यस्तै टोखाले बन्दाबन्दीको समयमा टोखाका बालबालिकालाई शिक्षा प्रदान गर्न ‘रेडियो पाठशाला’ सञ्चालन गरेको छ । रेडियोमार्फत टोखाका बालबालिकालाई शिक्षा प्रदान गर्न यही असार १ गतेदेखि टोखा–१ फूलबारीमा रहेको हरपल एफएमबाट रेडियो पाठशाला सञ्चालन गरेको हो ।

टोखाले कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म रेडियोमार्फत कक्षा सञ्चालन गर्दै आएको छ । टोखामा आठ सामुदायिक, ८४ संस्थागत र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.