पुनर्बीमा कम्पनीको पुँजी कम्तिमा २० अर्ब तोकिनुपर्छः महेश गुरागाईँ

  २०७७ असार ८ गते १५:४६     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईँ नयाँ खुल्ने पुनर्बीमा कम्पनीको लागि चुक्ता पुँजी कम्तिमा २० अर्ब रुपैयाँ ताेकिनु पर्ने बताएका छन् । १० अर्ब रुपैयाँ लगानी गरेर अन्नपूर्ण रि खुल्ने तयारी गरेको सन्दर्भमा विकासन्युजसँग कुरा गर्दै अध्यक्ष गुरागाईले पुनर्बीमा कम्पनी खोल्नको लागि सरकारले कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पुँजी तोक्नुपर्ने बताएका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीको पुँजी १५ अर्ब भईसकेकोले अब खुल्ने कम्पनीको पुँजी २० देखि २५ अर्ब रुपैयाँ हुनुपर्ने उनकाे तर्क छ । पुनर्बीमा कम्पनीको १० अर्ब चुक्ता पुँजी छ भने करिव ५ अर्ब संचित कोषहरुमा छ ।

‘पूर्वाधार राम्रो बनाउनु पर्यो । नयाँ प्रविधि ल्याउनु पर्यो । त्यही अनुसारको जनशक्ति चाहिन्छ’ उनले भने–‘पुनर्बीमा भनेको अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने व्यवसाय हो । प्रतिस्पर्धी बनाउन लगानी पनि ठूलै चाहिन्छ ।’

नेपाल पुनर्बीमा कम्पनीले गरेको नाफा देखेर नयाँ कम्पनी आउने लागेको आशंका उनको छ । ‘बैंकले धेरै व्याज दिएको समयमा नेपाल रिको नाफा बढी थियो । अब बैंकले व्याज घटाएका छन्, नाफा पनि कम हुन्छ’ उनले भने ।

विदेशबाट ल्याएको विजनेशमा नाफा भन्दा जोखिम धेरै भएको उनले बताए ।

नयाँ पुनर्बीमा कम्पनी आउने भयो भनेर नेपाल रि आत्तिनु नपर्ने पनि उनले बताए । ‘बैंकहरु पनि धेरै छन्, बीमा कम्पनीहरु पनि धेरै छन्, पुनर्बीमा व्यवसाय गर्ने कम्पनी एउटा मात्र हुनुपर्छ पनि नभनौं’ उनले भने ।

स्थानीय बजारको लागि एउटा मात्र पुनर्बीमा भए पुग्ने उनले बताए । तर विदेशकाे बजारलाई लक्ष्यित गरेर नयाँ कम्पनी खुल्छ भने त्यसलाई सकारात्मक रूपमा लिनु पर्ने उनले बताए । ‘३०/३५ प्रतिशत भन्दा बढी पुनर्बीमा नेपालभित्र राख्न सकिदैन । विदेशी बजारलाई लक्षित गरेर नयाँ कम्पनी आयो भने त्यसले रोजगारी सिर्जना गर्छ । सरकारलाई कर तिर्छ, विदेशी मुद्रा आर्जन गर्छ’ उनले भने ।


सम्बन्धित समाचार

१० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.