१ खर्ब ८५ अर्ब बढीका सात परियाेजना स्वीकृत

  २०७७ असार ६ गते १२:२७     विकासन्युज

काठमाडाैं । लगानी बोर्डले १ खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँ बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औं बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो ।

बैठकले ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि ७८ अर्ब ६५ करोड रूपैयाँ, ४२.९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि ६ अर्ब ३० करोड रूपैयाँ, ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि १३ अर्ब ५७ करोड रूपैयाँ, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत्का लागि १० अर्ब ३१ करोड रूपैयाँ र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ अर्ब ६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड रूपैयाँ र सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १ सय २५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ ।

कोभिड–१९ का कारण नेपाल–चीन मैत्री औद्योगिक स्थल, दमक, मुक्तिनाथ केबलकार, मल्टिमोडल लजिस्टिक्स पार्क र प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज् परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि बैठकले थप गरेको छ ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.