निष्कृय कर्जा असुल गर्न कृषि विकास बैंकले ८० प्रतिशतसम्मको छुट दिने, ५ हजार ऋणी लाभान्वित हुने

  २०७७ असार ३ गते १७:३३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले बैंकका ऋणीहरुका लागि व्याजमा ८० प्रतिशतसम्म छुट याेजना ल्याएको छ । लामो सयमदेखि विभिन्न कारणले बैंकको सावाँ व्याज तिर्न नसकेका आफ्ना ग्राहकहरुका लागि बैंकले ‘समस्या ग्रस्त कर्जा असुली तथा गैर बैकिङ सम्पत्ति राफसाफ गर्ने निर्देशिका २०७७’ जारी गरेर आकर्षकको स्कीम ल्याएको हो । बैंकबाट कर्जा लिएको लामो समय भएर पनि व्यवसाय असफल भई सावाँ व्याज तिर्न नसकेका ग्राहकहरुका लागि एक महिनाका लागि छुटको व्यवस्था गरेको बैंकले जनाएकाे छ ।

कृषि विकास बैंकका डेपुटी जर्नल म्यानेजर ध्रुवचन्द्र गौतमले लामो समयदेखि साँवा व्याज तिर्न नसकेका र अहिले कोरोना भाइरसको कारणले व्यवसाय तथा ग्राहकलाई परेको असरलाई न्युनिकरण गर्ने उद्देश्यले छुट तथा सहुलियतको व्यवस्था गरेको बताएका छन् ।

‘कर्जाको सम्पत्तिको गुणस्तर कायम गर्न र संस्थाको वित्तीय क्षमतालाई पनि सुदृढ बनाउन, विभिन्न कारणले खराव कर्जामा परेका  लामो समयदेखि सावाँ व्याज तिर्न नसकेका, कारबाहीबाट पनि अुसल हुन नसकेका, लिलामी प्रक्रियामा पनि गइसकेको कालोसूचीमा परेका ग्राहकको लागि यो व्यवस्था गरेको हौं, यसले बैंक र ग्राहकलाई राहत हुनेछ,’ उनले भने ।

बैंकले विपन्न, युवा स्वरोजगार, वैदेशिक रोजगारमा गएर कर्जा लिएर तिर्न नसकेका र विशेष गरेर साना ऋणीहरुर्लाइ फोकस गरेर यो व्यवस्था गरेको हो । धितो नभएका, विभिन्न कारणले व्यवसाय सफल नभएका, कृषिका लागि कर्जा लिएका तर पनि तिर्न नसकेका ऋणीहरुका लागि छुटको व्यवस्था गरेको उनको भनाई छ ।

यसबाट न्युनतम ५ हजार ऋणी लाभान्वित हुने बैंकको विश्वास छ । साना तथा लघु वित्तअन्तर्गत कर्जा नै २४ करोड ७३ लाख रुपैयाँ असुल गर्न बाँकी छ भने १२ सयभन्दा बढी युवा स्वरोजगार कार्यक्रम मार्फत गएको साढे ९ करोड रुपैयाँको सावाँ व्याज पनि असुल गर्न नै बाँकी नै रहेको उनले बताए । बैंक मार्फत युवा स्वरोजगार कर्जा १९ जिल्लामा प्रदान भएको उनले बताए ।

‘धितो राम्रो भएकालाई कम छुट दिन्छौं, जसको धितो मध्यम खालको छ, परियोजना छैन, जसलाई विपत्तिकाे कारणले असर भएको छ, उनीहरुको राफसाफ गर्ने उद्देश्यले बढी छुट दिन्छौं,’ उनले भने ।

उनले न्यनतम १० प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म छुट दिन सकिने बताए । ‘४० लाखसम्मकाे कर्जाको हकमा प्रदेश कार्यालयले छुट मिनाहा दिन सक्नेछ, त्योभन्दा माथिको रकमका लागि केन्द्रिय बैंकले नै दिन सक्नेछ,’ उनले भने । अहिले कृषि बैंकमा साढे २ प्रतिशत निष्कृय कर्जा रहेको उनले बताए ।

बैंकको आधारदर नघट्ने तथा बैंकको लागत कम नहुने गरी छुट प्रदान हुने उनको भनाई छ । ‘अगाडि नै कानुनी कारबाहीमा र लिलामी परिसकेका ऋणीहरुका लागि यो छुटको व्यवस्था गरेका हौं, बैंकलाई आर्थिक व्ययभार परेपनि आधार दर नघट्ने गरी छुट दिन्छौं, त्यति हुँदा पनि कुल व्याजको ५ देखि १० प्रतिशतसम्म असर पर्छ,’ उनले भने ।

यो छुट असार मसान्तसम्म रहनेछ तर, ग्राहकले फेरि समय माग गरेमा यसलाई लम्ब्याउन सक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.