एक करोड लागतमा सुनवोरा नदीकाे तटबन्ध निर्माण

  २०७७ जेठ ३२ गते ९:२३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो ।

तटबन्ध निर्माण समितिका अध्यक्ष जीवन धामीले वडा नं २ मा १५० मिटर, वडा नं ३ मा ५० मिटर र वडा नं ४ मा २ सय १० मिटर तटबन्ध निर्माण भइरहेको बताए । निर्माण भइरहेका तटबन्धमा लन्चिङ र स्परसमेत निर्माण हुनेछ ।

तीनवटै वडाका तटबन्धमा २ हजार ९ सय घनमिटर ढुङ्गा र १ सय ६७ टन तारजालीको प्रयोग गरिनेछ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन लागेको तटबन्ध असार मसान्तभित्रै निमार्ण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । तटबन्ध निर्माणपछि तीनवटै वडाका झण्डै २सय घरघुरी लाभान्वित हुने बताइएको छ ।

कृषियन्त्र र उपकरण हस्तान्तण

शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिबार पावरट्रिलरलगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ । कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्कालगायतले नौवटा पावरट्रिलर, प्लाष्टिक घर २६, पाँच पम्पसेट, इलेक्ट्रिक स्प्रे ट्याङ्कीलगायतका कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । किसानलाई बीउ, विषादी र सूक्ष्मतत्वसमेत आवश्यकतानुसार उपलब्ध गराइएको छ ।

मुख्यमन्त्री कृषि नमूना गाउँ समन्वय समितिका अध्यक्ष टीकुराम चौधरीले कार्यक्रम सञ्चालनका लागि रु ५० लाख बजेट परिचालन गरी कृषि औजार र उपकरण खरिद गरिएको बताए । सोमध्ये किसानलाई ८० प्रतिशत अनुदानमा पम्पसेट र ५० प्रतिशत अनुदानमा पावरटिलरलगायतका सामग्री उपलब्ध गराइएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.