नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

  २०७७ जेठ २४ गते ७:३१     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भन्नुभयो, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।” उहाँले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताए ।

उनका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताए ।

नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उनले जानकारी दिए । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ ।

१४ करोड ९ लाख रूपैयाँ लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.