मोदीलाई श्रेष्ठकाे आग्रह- पशुपतिनाथसँग आशीर्वाद लिएपछि मात्रै भूमि लिने नलिने निर्णय गर्नुस्(भिडियाे सहित)

  २०७७ जेठ २० गते १४:४७     विकासन्युज

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबारको विशेष समयमा उनले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गरे ।

‘भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वान्बाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ भन्ने कुरा आएको छ’, सांसद श्रेष्ठले भने, ‘नेपालको चाहना पनि तथ्यकै आधारमा वार्तामार्फत भूमिका विषयमा समाधान खोज्नुपर्छ भन्ने नै हो ।’

सांसद श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक एवं आध्यात्मिक व्यक्तित्व भएको उल्लेख गर्दै भने, ‘नेपाल तपोभूमि हो, यस बेलामा पशुपतिनाथ, मुक्तिनाथसँग आशीर्वाद लिनुस् र यस्तो तपोभूमि लिनुहुँदैन भनेर निर्णय गर्नुस् ।’

उनले इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । ‘नेपालको चीनसँग असल छिमेकीको सम्बन्ध छ, उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा असर पुर्याउने काम गरेको छैन तर नेपालको लिपुलेक भएर व्यापारिक र आध्यात्मिक मार्ग बनाउने सम्झौता चीन र भारतले नेपालको सहमतिविना गरे, चीनले त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ’, सांसद श्रेष्ठले भने, ‘हामी चीनसँगको उदाहरणीय सम्बन्धलाई कुनै पनि कोणबाट कमजोर नहोस् भन्ने चाहन्छाैं ।’

नेपाली जनताले नेपालको सम्पूर्ण भूमि समेटिएको नक्शा प्राप्त गरिसकेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा सरकारले गरेको र यस्तो ऐतिहासिक कदमलाई प्रतिपक्षले समर्थन गरेकामा धन्यवाद दिए ।

नेकपाकै भैरवसुन्दर श्रेष्ठलेले रुकुम (पश्चिम)मा अन्तरजातीय प्रेमका विषयलाई लिएर भएको भनिएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले ध्यानाकर्षण गराए । सोही दलकी डा विमला पौडेलले बन्दाबन्दी अवस्थामा सुत्केरी र गर्भवती ३० जनाको मृत्यु भएको जानकारी गराउँदै कोरोना भाइरस संक्रमणको आशंका देखिएर क्वारेन्टिनमा राखिएकाहरुको पनि तत्काल पिसिआर परीक्षण तत्काल गर्नुपर्ने सुझाव दिए ।

नेपाल काँग्रेसकी अनिता देवकोटाले नेपालको भूमिको संरक्षण गर्ने विषयमा सबै दल एकताबद्ध भएर आवाज उठाउनुपर्ने बताए । उनले रोल्पामा तत्कालीन नेकपा ९माओवादी०ले द्वन्द्वका अवस्थामा लुकाएर राखेको बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको स्मरण गर्दै त्यतिबेला लुकाइछिपाई राखिएका हातहतियार नपड्किने गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवकोटाले आगामी असार १ गतेदेखि पठनपाठन शुरु गर्ने भनी मन्त्रालयको निर्देशन आएको तर निजी विद्यालयले प्रविधियुक्त तरिकाले पढाए पनि सामुदायिक विद्यालयको अवस्था प्रविधिमैत्री नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘सामुदायिक विद्यालय रहेको गाउँगाउँमा कम्युटर भनेको थाहा छैन, इन्टरनेट नै छैन’, सांसद देवकोटाले भने, ‘प्रविधिमैत्री र दक्ष जनशक्ति बनाउनेतर्फ सरकारको ध्यान जान सकेको छैन ।’

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोना भाइरस सङ्क्रमण जोखिम र बन्दाबन्दीले तरकारी र दुग्धजन्य पदार्थ खेर गइरहेको जानकारी दिँदै उचित समयमा आँप र लिचीलाई बजार व्यवस्थापन नगरे करोडौँ क्षति हुनेतर्फ ध्यानाकर्षण गराए । रासस

भिडियाे हेर्न यसमा क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.