फौजी किरा नियन्त्रण गर्दै दुल्लु नगरपालिका

  २०७७ जेठ २० गते ७:४५     विकासन्युज

दुल्लु । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो ।

आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक ६ सय पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिए ।

‘किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर र न्यापस्याक टर्की लगायतका विषादी प्रयोग गरेका छौं’, उनले भने । नगरपालिकाले सबै वडामा रोगसँग भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ । यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ । सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले गत वर्षदेखि ८० प्रतिशत जति क्षति पुर्याउँदै आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

विगत दुई–तीन वर्षदेखि यो किराको आक्रमणले उत्पादनमा ह्रास आइरहेको उनले बताए । ‘यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौं’, उनले भने । यस्तो अभियान स्थानीय तहका रूपमा नगरपालिकाले प्रदेशमै पहिलोपटक थालेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.