सरोकारवाला सबैले प्रश्न उठाउँदा पनि सरकारको ध्यान किन आरडीटीमै ?

  २०७७ जेठ १५ गते १४:४०     डाेमी शेर्पा

काठमाडौं । आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट हाल कोरोना परीक्षणमा नेपालमा प्रयोग भइरहेको किट हो । शरीरमा भाईरसको एन्टिबडी छ कि छैन भनेर करिब २५ मिनेटको वरिपरीमा यस किटले नतिजा दिने गरेको छ ।

हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्छ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि र्यापिड डायग्जनोस्टिक किट विधि ल्याएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशका डा. रुणा झा बताउँछिन् ।

‘एन्टिबडी पत्ता लगाएर रोग पत्ता लगाउने विधि भने नयाँ होईन । डेंगु, हेपाटाईटिस, ऐड्सहरुको पनि हामीले यही एन्टिबडीको मार्फत रोग पत्ता लगाउने गरेका छौं,’ डा. झाले भनिन् ।

जब कोरोना भाईरस (कोभिड–१९) हाम्रो शरीरमा प्रवेश गर्दछ, तब हाम्रो शरीरले त्यससँग लड्नको लागि प्रकारका एन्टिबडी उत्पादन गर्दछ ।

कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई प्रकारकै एन्टिबडि उत्पादन गर्दछ ।

आईजीएम

यो एन्टिबडी रोग लागेको सामान्यत एक हप्तापछि शरीरले उत्पादन गर्दछ । तर व्यक्ति पिच्छे आईजीएम फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहने विज्ञले बताएका छन् ।

आईजीजी

यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ ।

सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ ।

यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर आईजीजीएम महिनौसम्म रहने गर्दछ ।

यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ ।

त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र, तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ ।

किन विवादमा आयो आरडिटी ?

आरडिटी विवादमा आउनुको मुख्य कारण यो जुन देशमा उत्पादन भएको छ, त्यस देशमा नै यसले मान्यता पाएको छैन । यसमा आउने नतिजा पनि भरपर्दो नरहेको र करिब ३० देखि ५० प्रतिशत नतिजामा त्रुटी आउने गरेकोले झनै तनाव पैदा गरोउने विज्ञहरु बताउँछन् ।

यद्यपि, विवादमा आए तापनि सरकारले यो किट किन्ने काम भने रोकेको छैन ।

सरकारले करिब ३ लाखको हारहारीमा आरडिटी किनिसकेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।

राष्ट्रिय अनुसन्धान परिषद्ले उठायो प्रश्न

आरडिटीको गुणस्तरमाथि चौतर्फि ओलोचना सुरु भएपछि स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले किटको अध्ययन गरेर त्यसको सिफारिसको आधारमा प्रयोग गरिने बताएका थिए ।

तर, सरकारले किटको गुणस्तरबारे स्वास्थ्य अनुसन्धान परिषद्को रिपोर्ट समेत नपर्खी त्यसलाई मन्त्रिपरिषद मार्फत पास गराई प्रयोगमा ल्यायो ।

भर्खरै मात्र स्वास्थ्य अनुसन्धान परिषद्ले आरडीटी किट अध्ययन, अनुसन्धान गर्न मिल्ने तर कोभिड–१९ को निदान प्रक्रियामा प्रयोग गर्न नमिल्ने प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । परिषदले दिएको सुझावमा समुदायमा एकै पटक ठूलो संख्यामा केस आए संक्रमित पत्ता लगाउन आरडीटी विधिमार्फत परीक्षण गर्न सकिने उल्लेख गरिएको छ ।

क्लिनिकल माईक्रोबायोलोजिस्ट संघ पनि विपक्षमा

नेपाल क्लिनिकल माईक्रोबायोलोजिस्ट संघले पनि आरडिटीको गुणस्तरमा प्रश्न उठाएको छ । आरडिटी परीक्षण विधि भरपर्दो नभएको र कोरोना संक्रमितको पहिचानको लागि पर्याप्त नभएको भन्दै संघले मन्त्रालयलाई सुझाव दिएको छ ।

के भन्छन् विज्ञहरु ?

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे आरडिटी किट अनुसन्धान, अध्ययनको लागि प्रयोग गर्ने किट रहेको बताउँछन् । यसलाई संक्रमण फैलिएको क्रममा प्रयोग गर्नु बेकार भएको उनको भनाइ छ ।

आरडिटी परीक्षणमा करिब ३० देखि ५० प्रतिशत नतिजामा त्रुटी हुने उनी बताउँछन् ।

‘आरडिटी पोजेटिभ आएपनि पिसिआर नै गर्नुपर्छ र नेगेटिभ आएको अवस्थामा पनि पिसिआर नै प्रयोग गर्नुपरेको छ, त्यसैले किन हामी पिसिआर नै प्रयोग गर्न सक्दैनौं ?’ डा. पाण्डेले प्रश्न गरे ।

पिसिआरले भाईरस शरीरमा प्रवेश गरेको दोस्रो दिनमा नै नतिजा देखाउने तर आरडिटीमा भाईरस प्रवेश गरेर एक हप्तापछि मात्र नतिजा आउने हुनाले यसलाई पहिलो चरणमा प्रयोग गर्न बेकार रहेको पाण्डेले बताए ।

कस्तो अवस्थामा आरडिटी प्रयोग गर्न सकिन्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कस्तो अवस्थामा आरडिटी किटको प्रयोग गर्ने भनेर अहिलेसम्म प्रोटोकल जारी गरेको छैन ।

विज्ञहरुको अनुसार आरडीटी परीक्षण विशेषत समुदायमा संक्रमण कुन चरणमा छ भनेर पत्ता लगाउन, क्वारेन्टिनमा १४ दिन बिताएका व्यक्तिहरुमा र महामारी अन्त्य भएपछि कति संक्रमित भएका थिए भन्ने जाँच गर्न प्रयोग गर्न सकिन्छ ।

के भन्छ स्वास्थ्य मन्त्रालय ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सहप्रवक्ता डा. समिरकुमार अधिकारी सरकारले पिसिआरको वैकल्पिक रुपमा आरडिटीलाई नहेरेको बताउँछन् ।

‘हामीले आरडिटीलाई पिसिआरको सट्टा प्रयोग गर्ने भनेर भनेका नै छैनौं, आरडिटीलाई कुनै पनि समुदायमा कोरोनाको त्रास छ कि छैन भनेर मात्र जाँच गर्न प्रयोग गरिरहेको छौं, समुदायमा आरडिटी प्रयोग गर्नुको कारण त्यस समुदायका मानिसहरुको शरीरमा कोरोना भईसकेर पनि एन्टिबडी उत्पादन भईसकेका छ कि छैन भनेर जाँच्छौं, यसरी जाँच्दा उनीहरु कति जोखिमा छन् भन्ने मापन हुन्छ,’ सहप्रवक्ता अधिकारीले भने ।

क्वारेन्टिनमा बसेकाहरुलाई पनि त्यहाँ अवस्था कस्तो छ भनेर हामी आरडिटी प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.