९२ हजार मेटन चामल मौज्दात

  २०७७ जेठ ८ गते ९:१५     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५ सय ४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा २ हजार ८ सय ४३ मेट्रिक टन चामल, ६ सय ६४ क्विन्टल फापर, ५ सय २४ क्विन्टल सिमी, ५ सय ५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ८ सय २५ मेट्रिक टन नून गरी १ लाख ३७ हजार ९ सय ६६ मेट्रिक टन मौज्दात छ ।

मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग २ हजार २ सय ६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २ सय ७ गरी ६५ हजार ४ सय ७४ चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९ सय ६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।

मौज्दात पेट्रोलियम पदार्थ
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार ९ सय ३२ किलोलिटर डिजेल आयात भएकामा १ हजार ६ सय ५१ किलोलिटर बिक्री भएको र ३३ हजार १ सय ७४ किलोलिटर मौज्दात रहेको छ । बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ ।

बन्दाबन्दीअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ । यसैगरी निगमसँग ६ हजार ५ सय ५० किलोलिटर पेट्रोल, २ हजार १ सय ४२ किलोलिटर मट्टीतेल, सात हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार ९ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.