बैंकका ३०% कर्मचारीको रोजगारी धरापमा, के भन्छन् जिम्मेवार निकाय ?

  २०७७ जेठ ८ गते ११:३४     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रहरु प्रभावित भएका छन् । यो समस्या अहिले बैंक तथा वित्तीय संस्थामा पनि देखिएको छ । अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी कतौटी गर्ने, कर्मचारीहरुलाई बेतलबी घर बसाल्ने र तलब काट्नेलगायतका समस्याहरु देखा परेका छन् ।

कोरोना भाइरसको कारण उत्पन्न भएको लकडाउनकै समयमा बैंकका धेरै कर्मचारीहरुले रोजगारी गुमाइसकेका छन् भने अझै धेरैले राेजगारी गुमाउन सक्ने सम्भावना पनि छ । लकडाउनको कारण आर्थिक गतिविधि सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि खर्च कमको एउटा विकल्प कर्मचारी कतौतीका रुपमा लिइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरु यो अवस्थामा बैंक नोक्सानमा जाने निश्चित भएपछि कर्मचारी कटाैतीमा लागिरहेका छन् । अहिले बैंकिङ क्षेत्रमा सबैभन्दा बढी असर करारका कर्मचारीहरुलाई परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले करार अर्थात अस्थायी र आउट सोर्सिङमा काम गर्ने कर्मचारीलाई कटौती गरिरहेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा काम गर्ने करिब १ लाख कर्मचारीहरुमा ३० प्रतिशत कर्मचारी करार अर्थात अस्थायी र आउट सोर्सिङमा छन् । त्यो ३० प्रतिशत भनेको ३० हजार हो । अहिले ती ३० हजार करार र आउट सोर्सिङ कर्मचारीको रोजगारी धरापमा छ ।

बैंक तथा वित्तीय संस्थामा काम गर्ने करिब १ लाख कर्मचारीहरुमा ३० प्रतिशत कर्मचारी करार अर्थात अस्थायी र आउट सोर्सिङमा छन् । त्यो ३० प्रतिशत भनेको ३० हजार हो । अहिले ती ३० हजार करार र आउट सोर्सिङ कर्मचारीको रोजगारी धरापमा छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा रहेका १ सय ६२ बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७० हजार कर्मचारी छन् । ती विभिन्न शाखाहरुमा बैंक करारका कर्मचारी पनि राखेको हुन्छ । त्यसको संख्या साढे ३ हजार छ । त्यससँगै अन्य आउट सोर्सिङका कर्मचारी पनि राखेको हुन्छ । एक बैंकले न्युनतम ३/४ जना जति आउट सोर्सिङका कामदार पनि राखेको हुन्छ ।

आर्थिक वर्ष २०७७/७८ सुरु हुन पनि दुई महिना मात्र बाँकी छ । कोरोना भाइरसकै कारण समस्यामा परेका बैंक तथा वित्तीय संस्थाहरुले अब करारमा रहेका ती ३० हजार कर्मचारीहरुको नयाँ सम्झौता नविकरण गर्न सक्ने सम्भावना न्युन छ ।

किनकि बैंक तथा वित्रीय संस्थाहरुको अहिलेको ध्यान कसरी खर्च कटौती गर्ने भन्ने तर्फ छ । त्यसले पनि अझ धेरैको रोजगारी गुम्ने सम्भावना धेरै छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले करारका कर्मचारीहरुलाई करिब १ वर्षसम्मको सम्झौता गरेर काम लगाउने गरेका छन् । अब आर्थिक वर्ष २०७७/७८ सुरू हुने लगत्तै तिनीहरूकाे राेजगारी गुम्ने निश्चित छ ।

सहकार्य गरेर बढ्ने समयमा कसैले जागिरबाट निकाल्नु हुन्नः प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यो संकटको समयमा सबैले एक आपसमा सहकार्य गरेर जानु पर्ने समयमा कसैले पनि जागिरबाट निकाल्नु उचित नभएको बताए ।

‘हिजो बैंकिङ क्षेत्रमा करिअर बनाउँछौ, बैकिङ क्षेत्रलाई भविश्यका रुपमा हेरेकाहरूकाे समस्या बुझिदिनु पर्छ, समस्या परेकाे समयमा जागिरबाट निकाल्नु हुँदैन, भट्टले भने ।

बैंक तथा वित्तीय संस्थाहरु समाजको जिम्मेवार अंग भएकोले कर्मचारी कटौतीको समस्या यो क्षेत्रमा उचित नभएको उनको भनाइ छ ।

‘सरकारले अरु क्षेत्रलाई पनि कसरी राहत दिने भन्ने कुरा सोचिरहेको छ, जागिर खाइरहेका मान्छेहरुलाई अहिले घर जाउ भन्ने कुरा राम्रो होइन, कुनै पनि संस्थाले त्यस्तो गरिहाल्यो भने राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै कदम पनि चाल्छ,’ उनले विकास न्युजसँग भने ।

कर्मचारीलाई जागिरबाट निकाल्ने बित्तिकै अब के गर्ने भन्ने समस्या उब्जिने हुनाले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बेरोजगार बनाउने तर्फ सोच्न नहुने उनकाे धारणा छ ।

अहिले सम्म कर्मचारी कटौतीको तयारी छैनः भुवन दाहाल

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी कतौती सम्बन्धि कुनै निर्णय तथा तयारी नगरेको बताएका छन् । अन्य बैंकमा पनि यस्तो समस्या भएको आफुले नसुनेको उनको धारणा छ ।

बैंकहरुलाई करार तथा आउट सोर्सिङ कर्मचारी नहटाउन बैंकर्स संघले एड्भाइजरी जारी गरेको उनले बताए । त्यस्तो भएपनि कर्मचारी कटौती नगर्न संघले सबै बैंकहरुलाई भनिसकेको उनले बताए ।

वित्तीय संस्थामा कर्मचारी कटौतीको समस्या आउन दिन्नौंः सरोजकाजी तुलाधार

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि वित्तीय संस्थाहरुमा कर्मचारी कटौतीको समस्या आउन नदिने बताएका छन् । आफुहरुले कर्मचारी कटौती नगर्ने भन्ने निर्णय अगाडि नै गरिसकेको उनले बताए ।

‘राष्ट्र बैंक पनि यो विषयमा गम्भीर छ, यो समयमा कसैले पनि कर्मचारी कटौती गर्ने, कामबाट निकाल्ने काम गर्नु हुन्न, उनले भने ।

कर्मचारी कटौती गर्ने समस्या फाइनान्स कम्पनीमा नभएको उनको भनाइ छ । ‘म विश्वस्त छु, वित्तीय कम्पनीमा यो कसैले गर्दा पनि गर्दैनन्,’ उनले भने ।

तर, पछिल्लो समय ठूला बैंकहरुको सिको गर्दै केही लघु वित्त संस्थाहरुले पनि करारका कर्मचारी कटौती गरेको कुरा पनि बाहिरिरहेको छ ।

अध्यक्ष रेग्मी भन्छन्ः कर्मचारी कटौती गर्नेविरुद्द अगाडि बढ्छौं

नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले कर्मचारी कटौती गर्ने बैंक तथा वित्तीय संस्थाविरुद्द आफुहरु अगाडि बढ्ने बताए । धेरै बैंक तथा वित्तीय संस्थामा कर्मचारी हटाएको आफुले पनि सुनेको बताउँदै उनले त्यस्तो नगर्न समेत आग्रह गरे ।

‘बाहिर हटाएको भन्ने कुरा सुनिएको छ, तर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले नहटाएको भनिरहेका छन, नाफा हुँदा राख्ने नोक्सान हुँदा हटाउँनु उचित हुँदैन,’ उनले भने ।

अहिलेसम्म ठूला एक दुई बैंकले गरेको आफुले सुनेका उनले बताए। युनियन भएको बैंकमा त्यस्तो समस्या नभई युनियन नभएको बैंकमा यस्तो समस्या भएको उनको भनाइ छ ।

‘बैंक वित्तीय संस्था अहिले नै धरासायी हुने अवस्था छैन, उनीहरुले कमाएको नाफाको जगेडा कोष छ, एक दुई महिनाको बन्दले त्यस्तो असर पर्दैन, त्यसैले आत्तिनु पर्ने अवस्था अहिल्यै आइरहेको छैन,’ उनले भने ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले हटाएका कर्मचारीहरु दैनिक ज्याला गरेर कमाउनेहरु भएको उनको भनाइ छ । उनीहरुको बारेमा बोलिदिने कोही नभएको कारणले पनि बैंकले आफुले चाहेको गरिरहेको उनले बताए ।

‘महामारीको नाउँमा वित्तीय विवरणमा संस्थालाई परेको असर पुष्टि नभइकन हामी कर्मचारी हटाउने कुरामा सहमत हुँदैनौं, माथिल्लो तहमा बस्नेहरुको सुविधा नघट्यो भने राम्रो हुन्न, यसका विररुद्दमा हामी अगाडि बढ्छौं,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारी निकाल्न थालेपछि वित्तीय संस्था कर्मचारी युनियनले राष्ट्र बैंक र बैंकर्स संघमा त्यसो नगर्न सुझवपत्र पठाइसकेको उनले बताए ।

समस्यामा परेका कर्मचारीले यस्तो गर्न सक्छन्

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कुनै समस्या अर्थात मर्कामा पर्यो भने राष्ट्र बैंकमा आफ्नो गुनासो राख्न पाउने सुविधा छ ।

राष्ट्र बैंकको गुनासो शाखामा कर्मचारीले लिखित रुपमा पत्र दिएर आफ्नो समस्याको बारेमा भन्न सक्नेछन् । त्यसको बारेमा विस्तृत बुझ्नको लागि सम्बन्धित बैंकसँग स्पष्टिकरण माग्न सक्ने अधिकार राष्ट्र बैंकसँग छ । यो प्रक्रियाले पनि कर्मचारीको समस्या समाधान हुन सक्छ ।

धेरैले अहिले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीको रोजगारी धरापमा भनिरहे पनि बैंक तथा वित्तीय संस्थाहरुले भने सम्बन्धित बैंकलाई कर्मचारी कटौती नगर्न आग्रह गरिसकेको बताउँछन् । तर, करारमा रहेको कर्मचारीहरुको रोजगारी भने अझै धरापमा नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.