जीवन बीमा कम्पनीले साेचेकाे भन्दा राम्राे गर्न पनि सक्छन्

  २०७७ जेठ ३ गते १३:०४     विकासन्युज

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । पुँजी, बीमा कोष, आम्दानी, नाफा, वासलातको आकार, नेटवर्क, बीमितको संख्या लगायत धेरै परिसूचकमा यो कम्पनी अरु भन्दा अगाडि छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफले जे गर्छ, अरु सबै बीमा कम्पनीको लागि चासोको विषय बन्छ । कोरोना महामारीको बेलामा नेपाल लाइफ कसरी चलिरहेको छ ? सेवा, व्यापार कसरी गरिरहेको छ ? महामारीले बीमा बजारमा, कम्पनीहरुको लाभांशमा कस्तो असर गर्छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत रहि उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग गरेको कुराकानी ।


सामान्य अवस्थामा र महामारीको अवस्थामा बीमाको महत्व कति फरक हुँदो रहेछ ?

जीवन बीमा होस् वा निर्जीवन बीमा, संकटको बेलामा आर्थिक जोखिम व्यवस्थापन गर्ने महत्वपूर्ण माध्यम हो भनेर सबैले स्वीकार गरेका छन् । सामान्य अवस्थामा होस् वा महामारीको अवस्थामा बीमाको महत्व उत्तिकै हुन्छ । फरक केवल जनचेतनामा मात्र हो, सोच्ने तरिकामा मात्र हो । संसारका कुनै देशमा ९० प्रतिशत मानिसले जीवन बीमा गरेका हुन्छन् भने कुनै देशमा कुल जनसंख्याको ५ प्रतिशतको पनि बीमा भएको हुँदैन ।
कुनै विपद् वा महामारीले बीमाबारे जनचेतनामा प्रभाव पारेको हुन्छ । यतिबेला बीमाको बारेमा स्वभाविक रुपमा छलफल बढी हुन्छ । विज्ञापन गरेर, लेखहरु प्रकाशित गरेर, टक शोहरु गरेर, बीमितहरुले आफन्तमा यसको लाभबारे जानकारी गराएर बीमा जागरण बढाउन मद्दत गरेका हुन्छन। २०७२ सालको भूकम्पपछि होस् वा अहिलेको कोभिड–१९ आयपछि बीमाको महत्वबारे वहस बढेको छ । हामी सबैको जीवन अनिश्चित रहेछ, त्यसमा पनि आर्थिक जीवन व्यवस्थापन कार्य कठिन रहेछ भन्ने अनुभूति मान्छेले गरेका छन् । कोभिड–१९ विश्व महामारीसँगै विश्वका केही देशमा बीमा व्यवसाय नै विस्तार भएको पनि देखिएको छ । तर नेपालमा भने बीमा पोसिली बिक्री घटेको छ ।

विदेशमा बीमा बढ्ने तर नेपालमा घट्ने किन भयो ?

नेपालमा पनि कोभिड–१९ बीमा पोलिसी आएको छोटो समयमा ठूलो संख्यामा यो पोलिसी बिक्री भएको छ । यसले नेपालमा बीमाको चाहाना बढेको संकेत गर्छ। तरपनि नेपालमा यतिबेला जीवन बीमा घटेको छ । कारण के पनि हुनसक्छ भने हाम्रा बीमा लेखहरु परम्परागत भए । बीमा लेख बिक्री गर्ने विधि पनि पराम्परागत भए । नयाँ बीमा लेख जारी गर्दा अभिकर्ता र बीमित प्रत्यक्ष भेट्नु पर्ने बाध्यता छ । अभिकर्ताले नयाँ मान्छेलाई भेटेर, प्रत्यक्ष कुराकानी गरेर, फारम भराएर, हस्ताक्षर लिएर, ल्याप्चे गराए पछि मात्र बीमा पाेलिसी जारी हुन्छ ।  विदेशमा अभिकर्ताले पनि डिजिटल माध्ययबाट बीमा गर्न सक्छन् । भौतिक रुपमा अफिस जानु पनि पर्दैन, मान्छे–मान्छेबीच प्रत्यक्ष भेट पनि आवश्यक छैन । मलाई लाग्छ आगामी दिनमा विस्तारै डिजिटल माध्ययमबाट बीमा हुन्छ । अहिले पनि हामीले धेरै काम डिजिटली गर्न थालेका छौं । बीमा लेख परिपक्व भएपछिको भुक्तानी, बीमा नविकरण शुल्क भुक्तानी, अभिकर्ता कमिशन भुक्तानी लगायत धेरै कुरा डिजिटल माध्यमबाट हुन थालेका छन् । अब प्रडक्टको रेन्ज परिवर्तन हुनसक्छ ।

स्वास्थ्य जोखिम बढेकोले पहिला भन्दा बढी बीमाङ्कको बीमा पोलिसी माग भएको छ कि ?

पहिला मानिसहरु बचत प्रकृतिको बीमा लेख रुचाउथे भने अहिले जोखिम धारण गर्ने खालका बीमा लेखप्रति उपभोक्ताको चासो बढेको छ । अहिले बचत पछि गयो, जोखिम अगाडि आयो ।

पहिला मानिसहरु बचत प्रकृतिको बीमा लेख रुचाउथे भने अहिले जोखिम धारण गर्ने खालका बीमा लेखप्रति उपभोक्ताको चासो बढेको छ । अहिले बचत पछि गयो, जोखिम अगाडि आयो । हामी प्रडक्ट सिफ्ट गर्दैछौं । अहिले स्वास्थ्य बीमा सम्बन्धि बीमा लेखहरु पर्याप्त छैनन् । मानिसले कस्तो खालको पोलिसी खोजेका छन्, त्यसतफ हामीले ध्यान दिनुपर्छ ।

परम्परागत बीमा लेख लिएका वा जीवन बीमा गरेको मान्छेहरुको कोरोना भाइरसको कारण मृत्यु भयो भने उनीहरुले बीमाङ्क बराबर रकम पाउँछन् कि पाउँदैनन् ?

पाउँछन् । धेरैको मनमा यस्तो जिज्ञासा रहेको छ । कोरोना महामारी आउँछ भनेर पहिला कसैले पनि कल्पना गरेका थिएनन् । तर जीवन बीमा पोलिसी लिँदा जुन जुन अवस्थामा बीमा दावी लाग्दैन भनिएको छ, त्यो बाहेक सबै अवस्थामा बीमितको मृत्यु भएको पैसा पाउँछन् । त्यसैले, म्यादी बीमा होस् वा आवाधिक बीमा, सर्तभित्र रहेर सबैले बीमा दावी पाउँछन् । मलाई लाग्छ, भाइरस संक्रमणका कारण हुने मृत्युलाई धेरै बीमा पोलिसीले कभर गरेको छ ।

महामारीको कारण बीमा शुल्क महँगो बन्ने जोखिम कति छ ?

संक्रमण धेरै भएको छ तर मृत्यु दर विगतमा महामारीको तुलनामा कम देखिएको छ । विश्व बजारमा हेर्दा जीवन बीमामा भन्दा निर्जीवन बीमामा बीमा दावी बढी पर्ने देखिन्छ । ठूला खेलकुदका कार्यक्रम स्थगित भएका छन्, ठूला व्यापार मेलाहरु स्थगित भएका छन्, अन्तराष्ट्रिय सम्मेलनहरु स्थगित भएका छन् । यस्ता सबै इमेन्टको बीमा गरिएको हुन्छ । यस्ता इभेन्टहरु स्थगित हुँदा वा रद्द हुँदा बीमा दावी धेरै पर्न सक्छ । धेरै ठाउँमा विवादहरु आएका छन् । ओलम्पिक गेम स्थगित हुँदा ठूलो बीमा दावी परेको छ । यसले आगामी दिनमा बीमा शुल्क वृद्धि हुने सम्भावना रहन्छ । बीमा इतिहासमा पनि के देखिन्छ भने जब ठूलो असर पर्ने घट्नाहरु हुन्छन तब मूल्यमा असर पर्ने गरेको छ ।

जीवन बीमामा मृत्युदरले पनि बीमा शुल्कमा ठूलो असर गरेको हुन्छ । महामारीले मृत्युदरमा कस्तो परिवर्तन ल्याएको छ ?

हो, मृत्यु दर ह्वात्तै बढ्यो भने बीमा शुल्क वृद्धि हुने सम्भावना हुन्छ । अमेरिका, इटाली, स्पेन, बेलायत जस्ता देशमा मृत्युदर उच्च छ । अहिलेको अवस्था के छ भने एकातिर विश्वमा कोरोनाका कारण हुने मृत्यु बढी देखिएको छ भने अर्कोतिर दुर्घट्नाका कारण हुने मृत्यु घटेको छ, लगभग निलमा नै झरेको छ । किनभने हवाई, रेल, बस, पानी जहाज सबै प्रकारका यातायात सेवा ठप्प छ । नेपालमा नर्मल डेथको रेट पनि घटेको भन्ने कुरा आएको छ । अहिले अस्पतालमा आउने नर्मल विरामीको संख्या नै कम भएको देखिन्छ । त्यसैले अहिले नै मृत्युदरमा कस्तो परिवर्तन आउँछ भन्न गाह्रो छ ।

यतिबेला बीमा कम्पनीहरुले बीमितलाई कसरी सेवा दिईरहेका छन् ?

अहिले नयाँ ग्राहक बनाउने र सेवा दिने भन्ने कुरा प्राथमिकतामा रहेन । भएका बीमितलाई सकेसम्म राम्रो सेवा दिनु नै ठूलो कुरा भयो । बीमा लेख परिपक्व भएको बीमितलाई बीमा रकम भुक्तानी दिएका छौं । बीमा नविकरणका शुल्क पनि अनलाईनबाट भुक्तानी दिन सकिन्छ । यदि अहिले सकिएन भने पनि लकडाउन अवधिको व्याज लाग्दैन भनेर बीमा समितिले भनेको छ । कति बीमितले बीमा लेख धितो राखेर कर्जा लिएका छन् । उनीहरुले अहिले नै कर्जा तिर्छु भनेको अवस्थामा कम्पनीले उनीहरुलाई आवश्यक सेवा दिईरहेको छ । डेथ क्लेमको विषयमा हामीले सूचना लिने लिने, डिजिटल पेस डकुमेन्ट लिएर डिजिटल बेस पेमेन्ट गरिरहेका छौं । हामी विगतमा सबै काम कागजी प्रक्रिया पुरा गरेर हुन्थ्यो । दावी फच्र्यौट पूर्जामा सहि गराएर भुक्तानी दिने गरेका थियाै भने अहिले अनलाईन डकुमेन्ट र सूचनाको आधारमा खाताबाट खातामा भुक्तानी दिने काम गरिरहेका छौं । नयाँ बीमा पोलिसी जारी गर्नको लागि एप बनाउने, वेवसाइटलाई अझ प्रभावकारी बनाउने तर्फ हामीले काम गरिरहेको छौं ।

नयाँ व्यवसाय कस्तो छ ?

लकडाउनले सबै गतिविधि ठप्प नै छ । अभिकर्ताले नयाँ मान्छेलाई भेटेर बीमा गराउने अवस्था छैन । हामीकहाँ स्वतस्फूर्त बीमा गर्ने अभ्यास कम छ । जो भनेपनि बीमाको लागि फोर्स लगाउनै पर्छ ।

महामारीको बेलामा निर्जीवन बीमा कम्पनीहरु सक्रिय भएको तर जीवन बीमा कम्पनीहरु प्यासिप भएको देखिन्छ नि ?

तपाईले कोभिड–१९ बीमाको बारे जोड्न खोज्नु भयो । यसमा बीमा समितिको पनि ठूलो भूमिका छ । अहिलेको आवश्यकता पनि हो । यसको रेस्पोन्स पनि राम्रो आयो । तर तपाईहरुले ध्यान दिनुपर्ने कुरा के छ भने जीवन बीमा कम्पनीको हरेक बीमा पोलिसीले कोभिड–१९ बाट हुने डेथको कभर गर्छ । निर्जीवनमा त्यस्तो प्रडक्ट केही पनि थिएन । कोभिड–१९ लागेको विरामीको उपचार खर्च सरकारले बेहोर्ने भनेको छ । उनी बीमित हो र मृत्यु भयो भने जीवन बीमाले कभर गरेको हुन्छ । १० लाखको बीमा पोलिसि लिनेले १० लाखको र २० लाखको बीमा पोलिसी लिएको छ भने २० लाख क्षतिपूर्ति पाइहाल्छ । अहिलेको अवस्थामा जीवन बीमा कम्पनीहरु पनि सक्रिय छन्, नयाँ प्रडक्ट बन्दैछन् । यसको प्रक्रिया लामो छ ।

बीमा कम्पनीहरुको आम्दानीमा कस्तो असर पर्ला ?

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीकै कुरा गर्ने हो भने चैत र बैशाखमा सवा १ अर्बको विजनेश हुनुपर्ने हो । तर यस अवधिमा साढे दुई करोडको व्यवसाय भयो । अब व्यवसायको स्वरुप परिवर्तन गरेर नयाँ ढंगले जानुको विकल्प नै छैन ।

हामीले ध्यान दिनुपर्ने कुरा के हो भने अर्थतन्त्र संकटमा पर्दा बीमा कम्पनीहरुलाई त्यसको ठूलै असर पर्छ । व्याजदर घट्यो भने बीमा कम्पनीहरुको आम्दानी घट्छ । बीमा कम्पनीहरुले निश्चित दरको बोनस ग्यारेन्ट गरेका बीमा पोलिसी पनि छन् । त्यसमा कम्पनीहरुले मार खानेछन् । नेपाली बीमा कम्पनीहरुको अर्को समस्या के हो भने बीमा कम्पनीहरुको ठूलो हिस्सा बैंकको मुद्दतिमा लगानी छ । अहिले आएर संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने नीति बैकिङ क्षेत्रले लिएको देखिन्छ । नीति निर्माताले यसमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाल टेलिकम जस्तो संस्थागत निक्षेपकर्ता पनि छन् जसको मुल व्यवसाय अर्कौ हो, कमाएको नाफा बैंकमा निक्षेप राख्ने हो । तर जीवन बीमा कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी संचय कोषको अवस्था फरक छ । बीमा कम्पनीले बीमा शुल्कको पैसा बैंकमा निक्षेप राखेको हुन्छ । त्यसैबाट आउने आम्दानीले बीमितलाई बोनस दिने हो । हामीले सरकारका दीर्घकालिन ऋणपत्रका लगानी गर्ने मौका पनि पाएनौ । बैंकको व्याज कहिले १२ प्रतिशत, कहिले ५ प्रतिशत, कहिले ३ प्रतिशत हुँदा बीमा कम्पनीहरु जोखिममा परेका छन् । कुल बैंकको निक्षेपमा जीवन बीमा कम्पनीको हिस्सा नै करिव १० प्रतिशत छ । तर यो पैसा अल्टिमेट्ली बीमितको पैसा हो ।

नाफामा कस्तो असर पर्छ ?

नयाँ बीमा भएकाे छैन । पुराना नविकरण पनि डाउन छ । बीमा कम्पनीहरुले गरेको लगानीको प्रतिफल पनि कम हुनेवाला छ । विगतमा बीमा कम्पनीहरुले व्यापक रुपमा सेवा विस्तार गरे । त्यसले खर्च बढायो । अब त्यसले नाफामा असर गर्छ । बैंकको व्याजदर घट्दा नाफा घट्छ । सेयरमा गरिएको लगानीको प्रतिफल घटेको अवस्थामा कम्पनीको नाफा घट्न सक्छ । अहिले हामीले सोचेको भन्दा खराब अवस्था पनि आउन सक्छ । यो संकटको अवधि छोटो भएर हामीले सोचे भन्दा राम्रो अवस्था आउन पनि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.