रावा बैंक र नेपाल बैंकका सेयरधनीलाई सबैभन्दा बढी घाटा, चार्टर्डले बढायो वितरणयोग्य नाफा

  २०७७ जेठ २ गते १४:१४     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तार रोक्न जारी गरिएको लकडाउनको कारण सरकारले ऋणीलाई राहत र सहुलियत दिन गरेको नीतिगत निर्णयले प्रायः सबै बाणिज्य बैंकको नाफामा असर देखिएको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाहेक सबै बैंकको वितरणयोग्य नाफा घटेको छ । सरकारले चैत ११ गतेदेखि देशव्यापीमा रुपमा गरेका लकडाउनको कारण देखाउँदै ऋणको किस्ता तिर्ने समय असार मसान्तसम्म सार्ने नीतिगत निर्णय गरेको थियो ।

यस्तै, चैत मसान्तसम्ममा तिर्नुपर्ने किस्ता तिर्ने बुझाउने ऋणीलाई व्याज रकमको १० प्रतिशत छुट दिनुपर्ने (आधारदरभन्दा कम नहुने गरी) निर्देशन नेपाल राष्ट्र बैंकले गरेको थियो । राष्ट्र बैंकको सोही निर्देशनको कारण बैंकहरुको व्याज असुल नभएकोले वितरणयोग्य नाफा घटेको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकहरुको वितरणयोग्य नाफा घटेको तथ्यांकले देखाएको छ ।

वितरणयोग्य नाफा बढाउने स्ट्याण्डर्ड चार्टर्ड बैंक मात्रै

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको मात्रै वितरणयोग्य नाफा बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १० करोड ६६ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चाल आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३१ करोड ३५ लाख ३३ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चार्टर्डले २० करोड ६८ लाख ८६ हजार रुपैयाँ वितरणयोग्य नाफा बढाएको छ ।

७ बैंकले गुमाए अर्बभन्दा बढी

संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ७ वटा बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वितरणयोग्य नाफा १ अर्बभन्दा बढीले गुमाएका छन् । यसरी अर्बभन्दा बढी वितरणयोग्य नाफा गुमाउने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, नेपाल बैंक, सिद्धार्थ, सनराइज, राष्ट्रिय वाणिज्य (रावा) र लक्ष्मी बैंक छन् ।

अर्बभन्दा बढी वितरणयोग्य नाफा गुमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २५ करोड २७ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ ।

रावा बैंकले गत आवको चैत मसान्तमा ३ अर्ब ४१ करोड ९ लाख २ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा रावा बैंकको वितरणयोग्य नाफा १ अर्ब १५ करोड ८१ लाख ६ हजार रुपैयाँ मात्रै छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १९ करोड ४ लाख ९३ हजार रुपैयाँ विगतरणयोग्य नाफा गुमाएको छ । इन्भेष्टमेन्ट बैंकले गत आवको चैत मसान्तसम्मा १ अर्ब ४३ करोड ७६ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । तर, सो बैंकले चालु आवको चैत मसान्तसम्ममा २४ करोड ७१ लाख ५४ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा गरेको छ ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले १ अर्ब रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा गुमाउनेमा नेपाल एसबीआई बैंक पनि परेको छ । एसबीआईले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब ७ करोड ३९ लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । एसबीआईले गत आवसको चैत मसान्तसम्ममा १ अर्ब १७ करोड ८३ लाख ७६ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा चालु आवको सोही अवधिमा १० करोड ४३ लाख ९२ हजार रुपैयाँ मात्रै गरेको छ ।

नेपाल बैंकले १ अर्ब ६८ करोड ३६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । नेपाल बैंकले गत आवको चैत मसान्तसम्ममा १ अर्ब ६२ करोड १६ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ६ करोड १९ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा छ ।

 

सिद्धार्थ बैंकले पनि १ अर्ब ४ करोड ८६ लाख ८ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । सो बैंकले गत आवको चैत मसान्तसम्ममा ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा चालु आवको सोही अवधिमा १५ करोड ३२ लाख ११ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

सनराइज बैंकको वितरणयोग्य नाफा पनि गत आवको चैत मसान्तको तुलनामा १ अर्ब ८ करोड ८९ लाख ४६ हजार रुपैयाँ घटेको छ । गत आवको चैत मसान्तसम्ममा ९१ करोड ३४ लाख २५ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको सनराइजले चालु आवको सोही अवधिमा १७ करोड ५५ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।

यस्तै, अर्बभन्दा बढी वितरणयोग्य नाफा गुमाउनेमा लक्ष्मी बैंक पनि छ । लक्ष्यी बैंकले गत आवको सोही अवधिको तुलनामा चालु आवको चैत मसान्तसम्ममा १ अर्ब ११ करोड ५६ लाख ४२ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको हो । लक्ष्मीले गत आवको चैत मसान्तसम्ममा ७० करोड ५५ लाख ३५ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ४१ करोड १ लाख ७ हजार रुपैयाँ वितरणयोग्य नाफामा नोक्सानी व्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.