गाउँ फर्किएका युवा विकास निर्माणमा

  २०७७ वैशाख २९ गते ८:२३     विकासन्युज

काठमाडौं । कोभिड –१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा विकासनिर्माणका काममा जुटेका छन् । गाउँमा आएर बेरोजगार जस्तै बनेका युवालाई परिचालन गरी स्थानीयस्तरको विकास निर्माणमा सहभागी बनाइएको छ ।

प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाँढा ढुंगेठाटीका युवा लकडाउनको सदुपयोग गर्दै सवारीसाधन नचलेका समयमा सडक स्तरोन्नतिका काममा लागेका छन् । जुम्रीकांँढा ठूलो गाउँका ४० युवाले नमूना बस्ती विकासको काम गरिरहेका छन् भने ढुंगेठाँटी क्षेत्रका १८ युवाले अर्थोपार्जनसँंगै सडक स्तरोन्नतिको काम थालेका छन् । प्रदेश नं ५ सरकारको करीब १ करोड बजेटमा नमूना बस्ती विकाससंँगै सडक स्तरोन्नतिको कार्य भइरहेको वडाध्यक्ष लछुमन भण्डारीले बताए ।

युवाले काम गर्दा आफूलाई सुरक्षित राख्दै सामाजिक दूरी कायम गरेको उनको भनाइ छ । दैनिक ज्यालादारीमा एक युवकले ६ सयदेखि ८ सय रुपैयाँसम्म कमाउने गरेका छन् । प्युठान ८ का युवाको सक्रियतामा सडक स्तरोन्नतिको काम थालिएको छ । दुई वर्षअघि सडक खनिए पनि बीचबीचमा खाल्डा र नाली व्यवस्थित नभएपछि यस क्षेत्रका युवा मिलेर स्तरोन्नतिको गरेको स्थानीयवासी युवा दिलबहादुर दसौँदीले बताए ।

स्थानीय सात युवाले आफूहरुले साधन र स्रोत जुटाई सडक स्तरोन्नति गरेका हुन् । स्थानीय राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा, अनेरास्ववियु पूर्व कोषाध्यक्ष दिलबहादुर दसौंदी, व्यवसायी महेश पाण्डे, शिक्षक शेरबहादुर पाण्डे, माधव केसीलगायतको सक्रियतामा सडक स्तरोन्नतिको काम भएको हो । “पटक–पटक सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाइ नभएपछि हामी युवाहरु मिलेर सडक सुधार्नेतर्फ अग्रसर भएका हौं”, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य थापाले बताए ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.