दमौलीमा रेडियोबाट एसइई तयारी कक्षा

  २०७७ वैशाख १९ गते १४:४८     विकासन्युज

दमौली। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तनहुँको एक रेडियोले तयारी कक्षा शुरु गरेको छ । एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित शुक्लागण्डकी एफएमले तयारी कक्षा शुरु गरेको हो ।

बन्दाबन्दीका क्रममा पनि पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए । जिल्लाका शहरी भेगमा इन्टरनेटको सहज पहुँच पुगेकाले अनलाइन प्रविधिबाट तयारी कक्षा शुरु गरिए पनि ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकाले रेडियोबाट तयारी कक्षा शुरु गरिएको उपाध्यायले बताए । “ग्रामीण भेगमा एफएम रेडियोको महत्व उत्तिकै छ, रेडियोबाट पनि तयारी कक्षा प्रभावकारी हुने अपेक्षा गरेका छौँ”, उपाध्यायले भने ।

उाका अनुसार विद्यालय बन्द भएपछि अनलाइन शिक्षणलाई मात्रै प्राथमिकता दिइए पनि गाउँ शहर जताततै सबैको पहुँचमा रेडियो रहेकाले तयारी कक्षाले एसइई दिने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । रेडियोबाट हाल पाँच वटा विषयको कक्षा सञ्चालन गरिएको छ । दिउँसो १ देखि २ बजेसम्म नेपाली र अङ्ग्रेजी, साँझ ४ देखि ५ बजेसम्म विज्ञान र साँझ ७ः३५ देखि ८ बजेसम्म सामाजिक अध्ययनको पढाइ सञ्चालन गरिएको छ ।

विज्ञान विषयमा खैरेनी माध्यमिक विद्यालयका केशवराज घिमिरे र दीपक भण्डारी, नेपाली विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका एकनारायण भण्डारी, अङ्ग्रेजी विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका शान्तकुमार श्रेष्ठ र सामाजिक अध्ययन विषयमा ज्ञान बगैँचा बोर्डिङ स्कूलका विनोद पौडेलले कक्षा लिएका छन् । रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षाले घरमा रहेका विद्यार्थीलाई अध्ययन गर्ने बानीमा थप प्रोत्साहन हुने खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका विज्ञान शिक्षक केशवराज घिमिरेले बताए ।

बन्दाबन्दी जारी रहेसम्म रेडियोबाट तयारी कक्षा सञ्चालन गरिने स्टेशन म्यानेजर उपाध्यायले जानकारी दिए । रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षा एफएमको फेसबुक पेजबाट पनि लाइभ गर्ने गरिएको छ । विसं २०७३ असोज १५ गतेदेखि प्रसारणमा आएको ५०० वाट क्षमताको रेडियोको पहुँच तनहुँसँगै स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत, पाल्पा, नवलपुर जिल्लामा रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.