लकडाउन अझै लम्बिने !

  २०७६ चैत २९ गते १७:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन अझैं बढ्न सक्ने संकेत गरेका छन् । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै उनल लकडाउन तत्काल नखोलिने स्पष्ट पारेका हुन् ।

शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन् । बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्।

‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सरकारले सीमामा अझ कडाइ गर्छ, भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले भने । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनको भनाइ छ । ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन, यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्,’ उनले मुख्यमन्त्रीहरुलाई भनेका छन् ।

उनले यो भन्दा अगाडि पनि देशवासीको नाममा सम्बोधन गर्दै आगामी दुई साता हाम्रा लागि चुनौतीपूर्ण रहेको बताएका थिए । पटक पटकका प्रधानमन्त्रीका यी बोलीले पनि लकडाउन तत्काल नखोलिने बुझ्न सकिन्छ । उनले जनतालाई दु.ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे ।

नेपालमा तीन सातादेखि लकडाउन छ । सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । अझै एकहप्ता थप्ने मनसायमा सरकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.