बैंक विलयसँगै अध्यक्ष पद गुमाएका बैंकर्स गोरु जोत्दै

  २०७६ चैत २७ गते १७:४३     विकासन्युज

काठमाडौं । जीवन यात्रा लामो छ । लामो यात्रा कठिन हुन्छ । उकाली, ओराली, घुम्ती, सप्ठ्यारा, अप्ठ्यारा, अनेक–अनेक ।

विष्णु प्रसाद धितालको केशमा यस्तै छ ।

उनी तीन वर्षअघि एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । एनसीसीमा मर्ज भएपछि उनी सोही बैंकको सञ्चालक थिए ।

बैंक सञ्चालक समितिमा हुनुको मजा नै फरक छ । अर्बौ पुँजीको मालिक । सर्वसाधारणले कमाएको पैसा राख्ने थलो पनि बैंक ।

टाईसुट लगाएका सयौ कर्मचारी मातहतमा । सुविधा सम्पन्न अफिस । बैठक भत्ता नै दिनमा ८/१० हजार । खाजा/नास्ता स्वाद फेरी–फेरी ।

कर्जा माग गर्ने व्यवसायीहरु बैंकका अध्यक्ष र सञ्चालकहरुलाई फकाउन आउने । राजनीतिक नेताहरु आफ्ना कार्यकर्तालाई कर्जा दिन फोन गर्ने । पत्रकारहरु अन्तरवार्ता लिन आउने ।

गाडी अफिसको । ड्राइभर अफिसको । फोन, पत्रपत्रिका खर्च अफिसको । होटलमा खानपीन गर्यो, विल अफिसको नाममा ।

बैंकका अध्यक्ष र सञ्चालकले पाउने नियमित सुविधा नै हुन् यी । उनीहरुले गर्ने राम्रा, नराम्रा कामको चर्चा यहाँ नगरौं ।

कसलाई लोभ लाग्दैन यस्तो जिन्दगीमा । त्यसैले बैंकहरु मर्ज गर्नु पूर्व ठूलो वहस हुन्छ । को अध्यक्ष बन्ने, को सञ्चालक बन्ने भन्ने विषयमा ।

कहिलेकही नसोचेका घट्नाहरु हुन्छन् । एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धिताललाई यस्तै भएको छ ।

मर्जपछि उनी ठूलो विवादमा परे । कर्जा अपचलनको आरोप लाग्यो । प्रहरीले पक्राउ पनि गर्यो । पछि धरौटीमा छुटे । एनसीसी बैंकको सञ्चालक पद गुम्यो । उनी दोषी छन् वा निर्दोष, अहिले अदालतमा बहस जारी छ । फैसला आउन बाँकी छ ।

अहिले उनी के गर्दै होलान् ? लाग्ला उनी अरु ठूलै व्यापारमा छन् ।

होइन । उनी अचेल गृह जिल्ला लम्जुङमा पुगेका छन् । दुधपोखरी उनको स्थायी घर हो । हाल खेती किसानीमा लागेका छन् ।

उनी गत सोमबार खेत जोत्दै थिए । हल गोरुको मुखमा मोला छ । हातमा अनो र लौरो । पछि–पछि उनका सहयोगिले मकै रोप्दै छन् ।

३६ वर्षपछि मकै रोप्न लागेको उनले बताएका छन् । ‘आफू त कोरोनाको कहरमा गोरु जोतेर मैकै रोप्दै ३६ वर्षपछि’ उनले फेसबुकमा लेखेका छन् ।
उनले आफूले गोरु जोत्दै गरेको भिडियो पनि पोष्ट गरेका छन् ।

उनी नेपाली काँग्रेसको केन्द्रीय महासमिति सदस्य पनि हुन् । धेरै वर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय धिताल सामाजिक गतिविधिमा पनि सक्रिय बन्दै आएका छन् ।

उनको व्यक्तित्व पुरै गाउँले बनेको छ । साधारण सर्ट, भित्र गञ्जी, पाइट र चप्पल लगाएर लमजुम्ङको दुधपोखरी पुलमा खिचेको फोटोमा ४७५ जनाले लाईक गरेका छन् र ५४ वटा कमेन्ट गरिएको छ । ती सबै कमेन्टमा उनको प्रशंशा नै छ, बैंक ठगेको, बदमासी गरेको कसैले पनि भनेका छैनन् ।

‘म गाउँमा छु । खेतीपातीको काम गर्दैछु’ आफ्नो दैनिकीबारे उनले भने–‘सामाजिक काम गर्यो, राजनीतिक कृयाकलापमा सक्रिय भयो ।’

‘भाषण गरेर मात्र हुन्न । अब कृषिमा क्रान्ति गर्नुपर्छ’ उनले विकासन्युजसँग भने ।

जग्गा जमिन थुप्रै होला नि ?

उनले भने ‘२५/३० रोपनी छ । हामी ५ भाई छौं । ५/७ रोपनी भागमा आउँछ । काम गरेर खान पुगिहाल्छ नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.