लकडाउन नभएको संसार

  २०७६ चैत २६ गते १९:१६     रामकृष्ण पाैडेल

काठमाडौं । ‘सबैतिर लकडाउन छ । बजार पुरै बन्द छ । घरमा बस्दा बस्दा वाक्कदिक्क भईयो । जीउ दुखेर हैरान भयो’ धेरै नेपालीहरुले सुनाउने गनगन हो यो ।

तर लकडाउन नभएको संसार धेरै ठूलो छ ।

मानिसलाई सबैभन्दा प्यारो आफू र आफ्नो परिवार हो । श्रीमान–श्रीमती, छोरा–छोरी, बुबाआमा र, अन्य सदस्यहरु । तपाई स्वस्थ्य रहनुहोस् । परिवारसँगै रमाउनुहोस् । एकले अर्कालाई माया गर्नुहोस् । प्रेममा लकडाउन छैन । मायामा लकडाउन छैन । फूर्सद छ । सक्दो प्रयास गर्नुहोस् । हिजो बुझाउन नसकेको कुरा आज बुझाउनुहोस् । विगतमा असफल भईरहेको प्रेम पनि यहि बेला सफल हुन सक्छ ।

संसारमा सबैभन्दा महँगो बन्दै गएको विषय ज्ञान हो । नयाँ सोच हो । तपाई अध्ययन गर्नुहोस् । लेखपढ गर्न लकडाउन भएको छैन । कल्पना गर्नुहोस् । अवचेतन मष्तिस्कलाई ब्यूँझाएर चेतनयुक्त बनाउनुहोस् । नयाँ सोचका साथ नयाँ योजना बनाउनुहोस् । नयाँ आइडिया अगाडि बढाउनुहोस् । आफ्नो क्षमताको विकास गर्नुहोस् ।

क्षमता विकासका कार्य गर्न लकडाउन गरिएको छैन ।


विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं


मानिसहरु विभिन्न विषयका प्यासी हुन्छन्, भोका हुन्छन् । साथी सर्कल बढाउने धेरै मान्छेकाे चाहाना हुन्छ । पुरानो सम्बन्ध नविकरण गर्ने समय यहि हाे । पुराना फोटो एल्वम खोल्नुहोस् । पारिवारिक सम्बन्धका सदस्यहरुलाई सम्झनुहोस् । तपाईका स्कूलका साथी कहाँ छन् ? कलेजका साथी कहाँ छन् ? पुराना प्रेमि/प्रेमिका कहाँ छन् ? के गर्दैछन् । खोजी गर्नुहोस् । फोन गर्नुहोस् । भिडियो कल गर्नुहोस् । च्याट गर्नुहोस् । इमेल गर्नुहोस् । टेलिफोन सेवा बन्द भएको छैन । इन्टरनेट सेवा बन्द भएको छैन । म्यासेन्जर, भाइवर, ह्वाट्स्एप, जुम लगायत सित्तैमा घण्टौं कुरा गर्न मिल्ने माध्यमहरु छन् । प्रयोग गर्नुहोस् । फाइदा लिनुहोस् । चिनजान, सम्बन्ध, सम्पर्कले धेरै काम गर्छ । अझ राम्रो जागिरको अवसर मिल्न सक्छ । विजनेश विस्तारको लागि नयाँ नेटवर्क बन्न सक्छ । अरुबाट नयाँ आइडिया लिएर तपाईं आफैंले नयाँ काम शुरु गर्न सक्नुहुन्छ ।

कुराकानी गर्न र सम्बन्ध विस्तार गर्न लकडाउन भएको छैन ।

तपाईले धेरै तिर सुन्नुभएको छ–योग, ध्यान, मेडिटेशन आदि इत्यादि । यी सबै कुरा सिक्ने समय अहिले नै हो । योग अभ्यास गर्नुहोस् । मेडिटेशन गर्नुहोस् । घर भित्र गर्न सकिन्छ । कोठाभित्र गर्न सकिन्छ । कौसीमा गर्न सकिन्छ । तपाईं स्वस्थ्य बन्नुहुन्छ । पहिलाभन्दा उर्जासिल बन्न सक्नुहुन्छ । नजाने यूट्युव हेर्नुहोस् । मम बनाउने  विधिदेखि बम बनाउने सुत्र समेत यूट्युव वा गुगल हेरेर सिक्न सक्नुहुनेछ ।

जहाँ लकडाउन भएको छैन ।

याद गर्नुहोस्, लकडाउन त घरबाहिर ननिस्कन मात्र हो । तर तपाईं घरभित्रै बसेर विश्व जान्न र बुझ्न सक्नु हुनेछ । नेपालभित्रै कुन जिल्ला कुन एरियामा पर्छ । विश्वमान चित्रमा कुन देश कहाँ पर्छ ? कसको छिमेकी को रहेछ ? कुन देशको भूगोल कति रहेछ ? गुगल म्याप हेर्नुहोस् । संसारका रमणिय क्षेत्रका डकुमेन्ट्रीहरु हेर्नुहोस् । तपाईंले कल्पना गरेको भन्दा नयाँ संसार देख्न सक्नुहुनेछ ।

एयरपोर्ट बन्द भएकोमा के चिन्ता ? तपाईंलाई संसार देख्नुछ, जान्नु छ र बुझ्नु छ भने लकडाउन भएकाे छैन ।

तपाईंले नजानेको कुरा धेरै हुन सक्छ । आर्ट बनाउने रहर छ, प्रयास गर्नुहोस् । बोल्ने, लेख्ने भाषा सुधार गर्नु पर्नेछ, मौका यहि हो । टाइप गर्न आउँदैन, अभ्यास गर्नुहोस् । डिजिटल पेमेन्ट गर्न आउँदैन, मोवाइल बैकिङ चलाउन आउँदैन, सिक्नुहोस् ।

नयाँ सिकाइकाे लकडाउन भएकाे छैन ।

अँ । इन्टरनेट नभएको ठाउँमा नि ? पढ्न, लेख्न रुची नभएको मान्छेले के गर्ने नि ? तपाईंकाे मनमा लाग्न सक्छ ।

बाँसुरी बजाउन सिक्ने चाहना छ, उत्तम सयम हो । गाउन, नाच्न सिक्ने रहर छ, सहि समय यहि हो । घरभित्र खेलिने खेलहरु सिक्न मन छ, मज्जाले सकिन्छ ।

तपाईं  किसान ? मकै छोडाउनुहोस् । बारीको नियालो काट्न लकडाउन भएको छैन । डोको डालो बनाउनुहोस् । गोठमा पराल छ, गुन्द्री बनाउनुहोस् । ऊल हुनेले गलबन्दी बनाउनुहोस्, ढुंगा हुनेले मूर्ति बनाउनुहोस् ।

बालमत्लव, इन्टरनेट किन चाहियो ?

चैत ११ गते मेरो घर अगाडिको रुखमा भर्खरै पालुवा पलाउँदै थिए । रुख नाङ्गो थियो । अहिले पातले ढकमक्क भएको छ ।

लकडाउन हुनुपूर्व मेरी छोरीलाई उमेर सोध्दा १५ वर्षको भएँ भन्थिन । अहिले १६ वर्षकी भएँ भन्छिन् । हामी सबैको उमेरमा लकडाउन भएको छैन । हरेक दिन विहान घाम उदाएकै छ । राती तारा झकमक्क चम्किएकै छन् । यहि बीचमा अलिअलि पानी पनि परेकै छ । चैते हुरी चलेकै छ । मलाई लाग्छ संसारमा धेरै कुरा खुला छ ।

लकडाउन हुनुपूर्व तरकारी, दाल चामल किन्न बजार जानु पर्थ्याे, अहिले अनलाईनबाट अडर गर्दा घर मै आईपुग्छ । बैंक, बीमा कम्पनीहरु ग्राहकलाई अनलाईन कारोबार सिकाईरहेका छन् । हिजो फरक बैंकको एटिएमबाट पैसा निकाल्दा पैसा काट्थ्यो । लकडाउनसँगै निःशुल्क भएको छ ।

लकडाउनलाई छिचोल्दै डाक्टर, वकिल, पत्रकार लगायतका पेशाकर्मी अनलाईनबाट सेवा दिन शुरु गर्दैछन् । मनोरञ्जनकर्मी त लकडाउन हुनुपूर्व नै यूट्युवमा हावी भईसकेका छन् ।

पानी, विजुली, फोन, इन्टरनेट, स्कूल फी सबै अनलाईनबाट तिर्न प्रणालीको विकास भएको धेरै भयो । धुलो खान र लाइन बस्न बानी परेकाहरु मात्र हो, भौंतारिँदै हिँड्ने ।

स्कूल कलेजहरुले पनि अनलाईनबाट पढाउने अभ्यास हुँदैछ । सिटिङ मिटिङ डिजिटल मिटिङमा रुपान्तरण भईसक्यो ।  यस्ता अनेकाै परिवर्तन हाम्रा अगाडि छन्, मात्र हामीले अनुसरण गर्न बाँकी छ ।

हो, केही अप्ठ्याराहरु पक्कै छन् । अप्ठ्यारालाई सप्ठ्यारो बनाउने प्रयास गर्नुहोस् । सोच्नुहोस्, तपाईले आफ्नो इलमशैलीमा पनि परिवर्तन गर्न सकिन्छ कि ?

भुल्नै नहुने सत्य के हो भने, हामीले चाहे जस्तो संसार हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेवाला छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.