कोरोना सन्त्रासको कारण जागिर जानेलाई सामाजिक सुरक्षा कोषले के सहयोग गर्छ ? यसो भन्छन् कोषका कार्यकारी निर्देशक ज्ञवाली

  २०७६ चैत २० गते १२:०२     सुनिता पुडासैनी

काठमाडौं । संगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारको सामाजिक सुरक्षाको लागि भनेर सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताले अप्ठेरो परेका बेला कोषलाई सम्झिने हो । किनभने सहज अवस्थामा आफूले कमाएको मासिक रकमको ३१ प्रतिशत कोषमा जम्मा गर्नुभनेको नै अप्ठेरो समयमा आफूलाई र सेखापछि आश्रित परिवारलाई आर्थिक समस्या नआओस् भनेर नै हो ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व आर्थिक मन्दीमा जाने संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्राकोष लगायतका संस्थाले बताइरहेका छन् । मन्दीकै कारण विश्वभर लाखौं मानिसले रोजगारी गुमाउने तथ्य पनि सार्वजनिक भइरहेका छन् ।

नेपालमा पनि कोभिड १९ संक्रमण विस्तार रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । सरकारको सो घोषणाको कारण उद्योग प्रतिष्ठान बन्द छन् । व्यापार व्यवसाय ठप्प छ । सेवा क्षेत्र बन्द भएको छ । अत्यावश्यक बाहेकका बस्नु तथा सेवा प्रवाहमा संलग्नहरु अहिले घरमै बसेका छन् ।

सरकारले लकडाउन घोषणा गरेका कारण आर्थिक क्षेत्र ठूलो समस्यामा परेको छ । यही समस्याको कारण नेपालमा पनि धेरैले रोजगारी गुमाउने अवस्था देखिएको छ । असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको अवस्था अझ दयनीय भएपनि संगठित क्षेत्रमा काम गर्नेहरुलाई पनि समस्या पर्ने करिब पक्का जस्तै भएको हो ।

यो मन्दीकै कारण नेपालका उद्योग, व्यवसाय तथा प्रतिष्ठानहरु बन्द भएर सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताको नै जागिर गयो भने कोषले केही सहयोग गर्न सक्छ ? सरकारले कोषमा आवद्ध हुनेहरुको लागि चैत महिनाको योगदान रकम दिने भनेकोमा सो रकम कोषको रकमबाट दिइने हो कि सरकारले नै दिने हो भन्ने जस्ता विषयमा विकासन्युजकर्मी सुनिता पुडासैनीले कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीसँग संक्षिप्त कुराकानी गरेकी छन्ः

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकलाई कोरोनाको संक्रमण देखिएको छ कि छैन ?

हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध भएका एक जनालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

कोषमा आवद्ध भएका श्रमिकलाई कोरोना भाइरसको संक्रमण देखियो भने कोषले के कस्तो सहयोग गर्छ ?

कोरोना संक्रमित व्यक्तिले अन्य बेलामा पाइने भनिएको औषधी उपचार खर्च पाउने व्यवस्था छ । महामारीको बेला भनेर कोषले दिने भनेको रकम नदिने भन्ने हुँदैन । कोषले तय गरेको सुरक्षा योजनाहरु सबै लागू हुन्छन् ।

कोरोना भाइरसकै कारणले कोषमा आवद्ध योगदानकर्ताको मृत्यु भएमा उसको परिवारले पाउने सुविधा पाउँछन् कि पाउँदैनन् ?

आश्रित परिवारले पाउने सुविधाहरु रोकिन्न । सबै पाउँछन् ।

कोरोना संक्रमण त्रासको कारण उत्पन्न भएको असहज परिस्थितिको कारण कम्पनी बन्द भएको खण्डमा कोषले के गर्छ ?

कम्पनी बन्द भएको खण्डमा कोषले केही गर्न सक्दैन । यस्तो अवस्था सिर्जना भए पुन अर्काे कम्पनी काम गरेपछि कोषमा आवद्ध भएर रकम जम्मा हुने व्यवस्था छ ।

चैत महिनामा कोषमा आवद्ध योगदानकर्ताले जम्मा गर्ने रकम सरकारले दिने हो कि कोषले ?

सामाजिक सुरक्षा कोषमा के गर्ने भन्ने कुरा सरकारकै हो । योगदानकर्ताले जम्मा गर्ने रकम यो विपद्को घडीमा सरकारले नै दिने निर्णय गरेको छ । त्यो कोषले जम्मा गर्ने होइन्, सरकारले नै दिने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.