महामारीको जोखिम न्यूनीकरणका लागि एफएनसीएसआईले सघाउने 

  २०७६ चैत १७ गते १६:२२     विकासन्युज

काठमाडौं । मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरुलाई सक्रिय बनाएको छ ।

नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएका छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नेपालमा देखिन थालेको हुँदा भाइरस संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य भएको महासंघले स्पष्ट पारेको छ ।

यसका लागि चाहिने स्थानीयस्तरबाट उत्पादित आधारभूत सामग्रीहरु जुटाउन पहल गरी प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा सम्बन्धित निकायलाई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन महासंघले सबै स्थानीय, जिल्ला तथा प्रदेश समितिहरुलाई अनुरोध पनि गरेको छ ।

साथै दैनिक कामकाज गरी जीवन गुजारा गर्ने मजदुर वर्गलाई नेपाल सरकारले लागु गरेको देशव्यापी लकडाउनबाट जीवन निर्वाह गर्न मुश्किल भएको वर्तमान अवस्थामा त्यस वर्गलाई लक्षित गरी राहतको प्याकेज घोषणा गर्न समेत नेपाल सरकार समक्ष महासंघले अनुरोध गरेको छ ।

यसैबीच पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ ।

अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे यस महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ । महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.