लकडाउन: पूर्वाधारमा कार्यरत मजदुर प्रभावित, पसलमा खाद्यान्न समेत नपाएको दुःखेसो

  २०७६ चैत १३ गते ११:४८     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधारका विभिन्न आयोजनामा कार्यरत मजदुर ‘लकडाउन’बाट प्रभावित भएका छन् । सरकारले कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरण गर्न चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि विशेषगरी जिल्लाका विभिन्न आयोजनामा कार्यरत मजदुरलाई खाद्यान्न आपूर्तिमा कठिनाइ परेको बताइएको छ ।

अस्थायी रुपमा बसेका मजदुरसँग खाद्यान्न सकिएको र व्यवस्थापन गर्न मागभइ आएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । जिल्लामा अहिले सबै आयोजनाको काम रोकिएको बताइन्छ । सङ्खुवासभाबाट यहाँ आइ सेती नदी नियन्त्रण आयोजनामा कार्यरत मजदुर विक्रम राइले अहिले काम पनि बन्द भएको र पसलमा खाद्यान्न समेत नपाएको दुःखेसो व्यक्त गरे । अस्थायीवास बनाएर बसेका आफूहरुलाई काम पनि नभएको र कहिले खुल्छ भन्ने पनि एकिन नहुँदा घर फर्कन नपाएको उनले बताए ।

सङ्घले जिल्लाका विभिन्न आयोजनामा कार्यरत दश हजार हाराहारीको सङख्यामा मजदुर प्रभावित भएको जनाएको छ । उनीहरुलाई वैकल्पिक व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई माग गरेको सङ्घले जनाएको छ । दिनहुँ गुनासो आएकाले मजदूरलाई आ–आफ्नो स्थानमा पु¥याउने व्यवस्थाका लागि प्रशासनसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले बताए । “अहिले व्यवसायीको साइटमा खानेकुरा नहुँदा मजदुर भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । खाद्यान्न पु¥याउन सकिने अवस्था छैन । गुनासो फोनमा सुन्ने बाहेक अरु विकल्प छैन।”उनले भने,“जिल्लामा सबै योजनाको काम अहिले पूर्ण बन्द भएको अवस्थामा मजदुर आआफ्नो घर जान चाहेकाले उनीहरुलाई सम्वन्धित स्थानमा पु¥याउनका लागि प्रशासनसँग अनुरोध गरेका छौँ । ”

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मजदुलाई खाद्यान्न आपूर्तिका लागि प्रशासनले सहयोग गर्ने जानकारी दिए । निर्माण व्यवसायी सङ्घसँग कुन आयोजनामा कति मजदुर प्रभावित भएको बारेमा एकिन तथ्याङ्कको माग गरिएको उनले बताए । “निर्माण व्यवसायीबाट मजदुरको बारेमा दैनिक गुनासा आएका छन् । हामीले त्यसको अहिल्यै केही योजना बनाएका छौँ। उनीहरुलाई सम्वन्धित ठाउँमा लैजानका लागि कति जना अप्ठ्यारोमा परेका छन् भनेर पहिला लिष्ट मागेका छौँ।” प्रजिअ ढकालले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.