त्रासभित्रको बाध्यता !

  २०७६ चैत ७ गते १५:३४     सन्ताेष राेकाया

काठमाडौं । मानिसहरुको कोचाकोच भिड । कसैका मुहार पछ्यौरीले छोपिएका्, कसैका माक्सले त कसैका खाली । सबैका मलिन मुहार । एकले अर्कालाई अटेर गरेको भान हुने ती दृश्य साँच्चीकै कहाली लाग्दा थिए । ती दृश्यहरुमा न मित्रताको भाव भल्किन्थ्यो नत कुनै आफन्त र साथीसँगीको । ती दृश्यहरुमा देखिन्थ्यो त केबल अटेर निर्दयीपना । कोही मोबाइलमा व्यस्त, कोही एकोहोरो टोलाइरहेका थिए । प्रष्ट भनौं त्यहाँ एकले अर्कासँग कूरा गरेको दृश्य देखिदैनथ्यो ।

यो दृश्य हो बिहिबार मैतिदेवीदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको एक बसभित्रको । ती मान्छेहरु त्रसित देखिन्थे । तर, त्यो त्रासभित्र भने उनीहरुको आफ्नै बाध्यता थियो । एउटा भनाइ छ नी–‘आफु भलो त जगत भलो ।’ हो यही भनाइको सुत्रमा बाँधिएका थिए उनीहरु ।
विश्वभरी कोरोना भाइरस ( कोभिड १९) को त्रास छ । स्वास-प्रस्वासबाट सर्छ भनिएको यही भाइरसको कारण कयौंले ज्यान गुमाइसकेका छन् ।

त्यही भाइरसबाट बँच्न, आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न मान्छेहरु अहिले अटेर बनेका छन् । एकले अर्कासँग कूरा गर्न मान्दैनन् । भिडभाड गर्न मन पराउँदैनन् । साथीसँगी र आफन्तहरुसँगै बस्न, खेल्न र बोल्न चाँहदैनन् । यो सब कोरोना भाइरसले सिर्जना गरेको परिस्थिती हो । तर, यति हुँदाहुँदै पनि मान्छे कहाँ भोकै मर्न चाहन्छन् र ? जबसम्म शरिर स्वस्थ छ, हिडडुल गर्न सक्ने अवस्था छ भने उसले आफ्नाे दैनिकी बिगार्न चाहन्न।

हुनत नेपाल सरकारले अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न, २५ जनाभन्दा बढीको भिडभाड नगर्न र सभासम्मेलन नगर्न निर्देशन दिइसकेको छ । तर, बाध्यताको अगाडि कसले पो रोक्न सक्छ र ? ३०/४० जना मानिस अटाउने गाडीमा ५०/६० जना मानिसहरु बसेर यात्रा गर्नु पर्ने बाध्यता कायमै छ । अहिले सबैभन्दा बढी त्रास काठमाडौंमा छ । मानिसहरुको बसोबास बढी र मानिसको आवतजावत बढी हुने ठाउँ काठमाडौं नै  भएकोले पनि मानिसहरु अहिले काठमाडौंबाट बाहीरने क्रम बढ्दो छ ।

अहिले काठमाडौं छोडेर आ-आफ्नै जिल्ला जाने मान्छेहरु दिनानुदिन बढ्दै गएका छन् । बिहिबार मात्र  एक लाखभन्दा बढी मानिस उपत्यका छोडेर गए । अहिले यही बाध्यतामा छन् धेरै मानिसहरु । आफ्नो गुजारा चलाउनका लागि भए पनि बाध्यताका लागि घर बाहिर निस्कने गरेका छन् उनीहरू। त्यो भिडमध्येकी मैतिदेवी बस्ने गरेकाे बताउने कमला रेग्मी मनमा कोरोनाको त्रास भएपनि बाध्यताका कारण बसमा यात्रा गर्नु परेको बताउँछिन् ।

‘सरकारले बाहिर ननिस्कनु भनेर के गर्नु, बाहिर ननिस्किए खानलाई पाइँदैन, साँझको छाक टार्न पनि बाहिर काम गर्न जानै पर्यो’, उनले भनिन् । कोरोना त अहिले आएको छैन, कोरोनाकै कारण भित्र बस्यो भने भोकैले मर्ने डर हुने उनको भनाइ छ । अहिले सम्भव भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्न छाडेका छन् तर यो भन्दा अन्य विकल्प नभएकाहरु बाध्यताका कारण पनि भिडभाड भएको बसमा यात्रा गर्न विवश छन् ।

कमला मात्र होइनन् उनी जस्तै धेरै मानिसहरु दिनभर पैसाकाे जाेहाे गरेर त्यही पैसाले साँझ  खाना खाने पनि छन् । उनीहरुलाई कोरोनाको कारण मर्नु भन्दा पनि साँझ खाना के खाने भन्ने पीरले पिरोल्छ । रत्नपार्क सडक पेटीमा हातमा सामान लिएर बेच्ने धादिङका यादव कार्कीको पनि समस्या  उस्तै छ । उनले बसमा यात्रा नगरी उनी आफु र आफ्ना परिवारलाई साँझ खाना दिन सक्दैनन् , दिनभरीको कमाइले उनी रातिको छाक टार्छन् ।

उनलाई पनि कोरोनाको भन्दा बढी चिन्ता साँझको छाकको हुन्छ । उनले बिहान सामान बेच्न जाँदा र साँझ घर फर्किदा बसको नै यात्रा गर्नु पर्छ । बुधबार सरकारले सार्वजनिक सवारीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको थियो । र यातायात व्यवस्था विभागले बिहिबार एक सूचना पनि जारी गर्दै यातायात कम्पनीलाई सिटक्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशन दियो । तर त्यसको कार्यान्वयन भने देखिँदैन । सवारी चालकहरु कोरोनाको त्रासभन्दा पनि व्यापार घट्ने चिन्तामा छन् ।

संक्रमण फैलाउने हिसावले सार्वजनिक यातायात सबभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । फेरि सार्वजनिक सवारी प्रयोग गर्ने अधिकांश यात्रुलाई कसरी सतर्कता अपनाउने भन्ने जानकारी पनि छैन । स्वास र नाकमुखबाट निस्कने छिटाका कारण स्वास्थ सुरक्षाको हिसाबले सार्वजनिक सवारी त्यसैपनि उच्च जोखिममा छ तर, सवारी साधनमा यतिसम्मको हेल्चक्याईँ उचित होइन ।

यातायात व्यवस्था विभभागका महानिर्देशक गोगन बहादुर हमालले सार्वजनिक यातायात सार्वजनिक यातायातमा भिडभाड नहुनका लागि सिटभन्दा बढी यात्रु नचढाउ निर्देशन दिइसकेको बताए । उनले सबै गाडिमा स्यानिटाइजरको प्रयोग भइरहेको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सरकारी निर्देशन पालना भए नभएको अनुमगमन सुरु भइसकेको बताएको छ । महाशाखाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले अनुगमन सुरु गरिसकेको बताए । उनले यसरी भिडभाड गरे यात्रु बोक्ने गाडीलाई कारबाही पनि भइरहेको बताए । अहिले आफै सचेत हुने समय भएकोले आफै सचेत नहुनेलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

यस्तै, नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवस्थित र सुरक्षित तरिकाले यात्रा गराउनका लागि बस व्यवसायी लागि परेको बताए । उनले कतिपय बसहरुमा स्यानिटाइजरको प्रयोग गरी यात्रुलाई सहज बनाएको बताए । सार्वजनिक सवारीमा यात्रु–यात्रुबीचको दूरी निकै कम हुने हुँदा एक जना बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा धेरैजना प्रत्यक्ष प्रभावित हुन्छन् ।

एउटा यात्रु उठेको सिटमा तुरुन्तै अर्को बस्छ । सबै यात्रुले समाउने डण्डी, ढोकाको ह्यान्डल, रेलिङ, सिट बार उही हुन्छ । यो अवस्थामा कुनै एक संक्रमित यात्रुले समातेको डण्डी नै सहरभरि संक्रमण पुर्या उन काफी हुन्छ । यसले भोली नेपालमा ठूलो महामारीको रुप लिन सक्छ ।
त्यसैले सरकारले गरेको निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्दै सवारीभित्र सतर्कता बढाउनुपर्ने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.