उद्योगमन्त्री भट्टले भने: बजारमा कुनै वस्तुको अभाव छैन, भइहाले त्यसको जिम्मा म लिन्छु

  २०७६ चैत ५ गते १८:१८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा दैनिक उपभोग्य सामानको अभाव भए त्यसको जिम्मेवार आफु हुने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा औषधिलगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने बताएका छन् ।

उनले बजारमा कालोबजारी हुन नदिनका लागि सरकारले अनुगमनका तीव्रता दिएको बताउँदै उनले यदि वस्तुको अभाव भइहाले पनि त्यसको जिम्मेवारी आफु लिने बताएका छन् । ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन, राज्यले अभाव हुन दिन्न, विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ,’ उनले भने ।

मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको मन्त्री भट्टको भनाइ छ । उनले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

‘हामीले अनुगमनलाई तिब्रता दिएका छौं, बजारमा वस्तुमा कालोबजारी हुन दिन्नौं, त्यस्ता कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्छौ,’ उनले भने । कार्यक्रमममा मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरु मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए । बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उनले बताए ।

कोरोना भाइरस  विश्वव्यापी प्रभावको असर नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । यतिबेलै बजारमा दैनिक उपभोग्य सामानको कृतिम अभाव पनि मौलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.