बौरिन थालेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य अब के होला ? (समग्र विश्लेषण)

  २०७६ चैत ४ गते १२:५३     विकासन्युज

काठमाडौं । सेयर बजार १६३२ मा पुगेर ओरालो लाग्दै गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यपनि ३ महिनाको अन्तरालमा ८७ प्रतिशतले बढ्यो । सो उच्च तहबाट हाल करीब २७ प्रतिशतले घटेको छ ।

गत मंगलवार कम्पनीको सेयर मूल्यले घट्ने क्रममा १० प्रतिशत गुमाएर सर्किट ब्रेक नै लाग्यो । कम्पनीमा पछिल्लो समय सुधार देखिन थालेपनि समग्र बजार नै उच्च दरमा घटिरहेकोले कम्पनीको मूल्यमा समेत उच्च कमी आइरहेको छ ।

निकै लामो समय दुई ठूला लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालाबीचको द्वन्द्वले समस्यामा पर्दै आएको कम्पनीमा हाल देखिने समस्या छैन । टिवडेवाला समूहले द्वन्द्व अन्त्यकै लागि कम्पनीबाट ठूलो परिणाममा सेयर बिक्री गरेको थियो । यही सेयर किनबेचको क्रममा मूल्य अस्वभाविक रुपमा बढेर २ हजार ५ सय हाराहारी समेत पुगेको थियो ।

अहिले बजार मूल्य ४ सयभन्दा तल छ । अधिकांश सूचकमा कम्पनी क्षेत्रगत औसतभन्दा तल नै रहेको कम्पनीमा अहिले लगानी गर्न कत्तिको उचित छ ? कम्पनीको समग्र अवस्था कस्तो छ ? यसैमा यो विश्लेषण आधारित हुनेछ ।

परिचय

करीब २६ वर्षअघि एभेरेष्ट इन्स्योरेन्स कम्पनी स्थापना भएको हो । विगतमा नेपालको एक मात्र संस्थापक सेयरधनीरहित कम्पनीको रुपमा रहेको यस कम्पनीले हाल भने हकप्रद जारीसँगै संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गरेको हो ।

कम्पनीमा कार्यरत कर्मचारी १ सय ७१ र १ सय ११ जना अभिकर्ता छन । लामो समय बीमा समितिले अग्नि बीमामा रोक लगाएको कारण व्यवसायमा खस्कदो अवस्थामा रहेको कम्पनीले हाल भने योसहित इलेक्ट्रोनिक सामग्री, दुर्घटना, स्वास्थ्य खर्च सम्बन्धि बीमालगायतका बिभिन्न योजना सञ्चालन गरिरहेको छ ।

उपाधी

कम्पनीले सन् २००९ मा चार्टर्ड एकाउन्टेन्ट् संघबाट सो वर्षको लागि नेशनल बेस्ट प्रिजेन्टेड अकाउन्ट अवार्ड प्राप्त गरेको छ ।

सेयर लगानीकर्ता

कम्पनीको २०७४/७५ को बार्षिक वित्तीय विवरणअनुसार खेतान, सिकरीया समूहको पकड छ । यी सूमहको कम्पनीमा ४४ प्रतिशत भन्दाबढी सेयर लगानी छ । समूह भित्रपनि खेतान र सिकरिया समूहको लगानी धेरै छ । कम्पनीको अध्यक्षमा लक्ष्मी क्यापिटलका प्रमूख कार्यकारी अधिकृत समेत रहेका राजिव सापकोटा छन् भने प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम छन् ।

अन्य लगानी

कम्पनीले ५८ करोड रुपैयाँ बराबर दीर्घकालिन र अल्पकालिन लगानी छ । कम्पनीले ११ कम्पनीको सेयर तथा इकाइमा लगानी गरेको छ । केहीमा भने बजार मूल्य अंकित मूल्यभन्दा कम आएकोले कम्पनीले प्रावधान समेत राख्नु परेको २०७४÷७५ को वित्तीय विवरणमा उल्लेख छ ।

लाभांश दर

कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । कम्पनीले सो वर्ष कुनै लाभांश घोषणा गरेको छैन । कम्पनीले ५ वर्षमा दुई वर्ष मात्र लाभांश दिएको छ र यो अवधिको औसत लाभांश १५ प्रतिशत छ ।

कानुनी तथा नीतिगत प्रक्रिया

कम्पनीले आयकरमा आयमा समावेश गरिएको भनिएको ३ करोड ९५ रुपैयाँ (कर्मचारी बोनस, अग्रिम आयकरको फरक, कर्मचारी व्याज आय) मा आन्तरिक राजस्व बिभागमा प्रशासकीय पुनरावलोकनको लागि पहल गरिरहेको छ ।

वित्तीय अवस्था

चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा एभरेष्ट इन्स्योरेन्स ११ औं स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी १४ औं स्थानमा छ ।

कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा १ सय २६ प्रतिशतले वृद्धि भएर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको एकिकृत आय व्ययबाट ४ करोड २६ लाख रुपैयाँ नाफा नोक्सान हिसाबामा सारिएको छ । यो सँगै बीमा कोष २२ प्रतिशतले वृद्धि भएर २५ करोड रुपैयाँ पुगेको छ र जगेडा कोषमा १६ करोड रुपैयाँ छ ।

कम्पनीको महाविपत्ती कोषमा रकम छुट्याइएको छैन । नाफाको १० प्रतिशत रका महाविपत्ती कोषमा राख्नु पर्ने व्यवस्था छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ ।

वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अझै ७ कम्पनीले बीमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधारमा कम्पनी दास्रो स्थानमा छ । जारी भएका बीमा लेखहरुबाट कम्पनीले ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले २ हजार ३ सय १४ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ९ करोड २५ लाख रुपैयाँ ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबी मध्ये भुक्तानी हुन बाँकी १ अर्ब १४ करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकन पछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ ।

कम्पनीले ५१ हजार ५ सय ५८ बीमा लेख कायम छ । बीमा लेख संख्यामा करीब २५ प्रतिशतले वृद्धि भएको हो । बीमा लेख आधारमा कम्पनी ११ औं स्थानमा छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०.३९ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ३० गुणासम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ३० रुपैयाँ सम्म तिरेको देखाउँछ । यो जोखिम भने हो ।

दायित्व हस्तान्तरण

कम्पनीले बीमांक रकममध्ये ९२ प्रतिशतको दायित्व पुनरबीमा कम्पनीमा सार्ने गरेको र बाँकी मात्र आफूले लिने गरेको देखिएको छ । २०७४/७५ को वित्तीय विवरण अनुसार कम्पनीले ६ खर्ब ५५ अर्ब बीमांक रकममा ६ खर्ब ५ अर्ब पुनरबीमा कम्पनीमा सारेको हो ।

कम्पनीको योजनाहरुमा अग्नि बीमाको हिस्सा ६.२५ प्रतिशत, इन्जिनियरिङको ७ प्रतिशत, विविध शीर्षकमा ८० प्रतिशत छ । मोटर बीमा २.४४ प्रतिशत, हवाई र लघुविमाको १ प्रतिशतभन्दा कम दरमा छ ।

उच्च उतारचढाव

कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा कम उतार चढाव रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २२ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी २८.९५ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी १२.३४ छ ।

यही समूहको सूचकको परिवर्तित अंकको आधारमा समेत कम्पनीको मूल्यमा निकै कम उतार चढाव रहेको देखिन्छ । निर्जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ४९ दशमलव ८३ छ ।

वियरिश प्रवृत्ति शुरु

कम्पनीको सेयर मूल्य एक वर्षयताकै न्युन मूल्य (२०७ रुपैयाँ) नजिक छ । यद्यपि मूल्य वियरिश प्रवृत्तिमा आइसकेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ ।

कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा नै छ । हाल यो स्केलको ३० मा आएको छ । कम्पनीमा बिक्री चाप बढ्दै छ । यो ३० भन्दा मुनिगए बिक्री चाप उच्च रहेको र ७० माथि लागे खरिद चाप उच्च भएको संकेत गर्छ ।

७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा तल आएको छ । यसले मूल्य वियशि प्रवृत्तिमा रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ ।

मूल्य अन्तिम दिन घटेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य ३ सय १८ मा पहिलो टेवा पाउने र बढ्न थालेमा ४ सय ५० मा लक्ष्य परिक्षण गर्नेछ ।

कम्पनीको सेयर मूल्यले अन्तिम दिन कालो मैनवत्ति आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्य थप घट्न सक्ने संकेत गर्छ । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास र यसले अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भएकोले लगानीकर्ताहरु पनि डराएका छन् । अन्य कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमले तत्काललाई ती मुलुकका लगानीकर्ताहरुलाई त्यहाको बजारको विषयमा नसोच्न नै लगानीकर्ताहरुलाई आग्रह गरिरहेका छन् । नेपालमा यसले विकराल समस्या पारिसकेको अवस्था नभएपनि केही समयलाई बजारको चिन्ता लिनुभन्दा अहिलेको ह्रासलाई बिर्सनु नै सही हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.