कम्पनी रजिष्ट्रार कार्यालयले २ महिनापछि पायो नेतृत्व

  २०७६ फागुन ३० गते १९:४०     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयले करिब २ महिपछि प्रमुख पाएको छ । १५ दिन अघिदेखि निमित्त रजिष्ट्रार पनि थिएनन् ।

आइतबारदेखि कम्पनी रजिष्ट्रारको प्रमुखको कार्यभार समालने गरी प्रदिपराज अधिकारी आउने भएका छन् । उनले शुक्रबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र बुझिसकेका छन् ।

निमित्त रजिष्टार अजुनप्रसाद खनाल पनि विद्युत नियमन आयोगमा सरुवा भएर गएका थिए । उनी सरुवा भए पछि १५ दिन कम्पनी रजिष्ट्रार कार्यालय प्रमुखबिना नै सञ्चालन भयो ।

देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब २ महिनादेखि प्रमुख विहीन थियो ।

पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा सरुवा भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रारको काम गरिरहेका थिए ।

नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए ।

कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् ।

‘५ जना सहायक रजिष्ट्रारको सरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन’, दाहालले भने ।

किन आउन मान्दैनन् कर्मचारी ?

भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्ने गरेका छन ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिने भन्दै ५ हजार रुपैयाँ घूस लिने क्रममा लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद पन्थीलाई पक्राउ गर्यो ।

अख्तियारले सहायक रजिष्ट्रार सीताराम खड्का र अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई पनि आर्थिक चलखेल गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् ।

सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए ।

यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.