नेपालमा उत्पादन भएका सिमेन्टकाे ग्रेड ताेकिने, मूल्य भने बढ्ने

  २०७६ फागुन २३ गते ९:५६     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा उत्पादन भएका सिमेन्टले आफ्नो बोरामा नै ग्रेड उल्लेख गर्ने भएका छन् । यसअघि सिमेन्ट उद्योगले ५३ वा ४३ ग्रेडको सिमेन्ट भन्दै विज्ञापन मार्फत ब्राण्डिङग गर्ने गरेका भएपनि बोरामा भने लेखिने गरिएको थिएन ।

सिमेन्टको बोरामा ग्रेड उल्लेख नहुँदा नेपाली उत्पादनको गुणस्तरप्रति प्रश्न गर्दै ठूला परियोजना बनाउने ठेकेदार कम्पनीले विदेशी सिमेन्ट ल्याउने गरेका थिए । नेपाली उत्पादन गुणस्तरीय भएपनि ग्रेड उल्लेख गर्ने प्रचलन नभएकोले समस्या उत्पन्न भएपछि सरकारले बोरामा नै ग्रेड उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

सरकारले सिमेन्टको बोरामा नै ग्रेड उल्लेख्य गर्नुपर्ने नीतिगत व्यवस्था गरिसकेको छ । सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले सिमेन्टको बोरामा नै ग्रेड उल्लेख गर्नुपर्ने नीतिगत निर्णय भएको र सो विषय कार्यान्वयनमा ल्याउन राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए ।

नेपालमा उत्पादित सिमेन्टको बोरामा नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेड विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । नेपालमा २०३१ सालदेखि सिमेन्ट उत्पादन हुँदै आएको भएपछि अहिलेसम्म बोरामा ग्रेड उल्लेख गर्ने गरिएको छैन ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाले ग्रेड उल्लेख गर्ने व्यवस्था कार्यान्वयनपछि नेपाली उत्पादनको बजार बृद्धि हुने बताए । विदेशी परियोजनाले नेपाली सिमेन्ट गुणस्तरीय नभएको भन्दै सरकारबाटै स्वीकृति लिएर विदेशी सिमेन्ट आयात गर्ने गरेको उनको भनाइ छ । नेपाली सिमेन्ट पनि विदेशी उत्पादनभन्दा कम गुणस्तरीय नभएपनि बोरामा ग्रेड उल्लेख नगर्ने प्रचलनका कारण विदेशी ठेकेदारले विश्वास नगरेको उनले बताए ।

‘सिमेन्टमा गे्रड उल्लेख गर्न थालिएपछि नेपाली उत्पादनले ठूला र अन्तराष्ट्रिय विकास आयोजनामा प्रयोग बढ्नेछ, नेपालमा उत्पादित सिमेन्टले बजार नपाउने र सानो प्राविधिक कारणले विदेशी सिमेन्ट आयात भइरहने वाध्यात्मक परिस्थितिको अन्त्यका लागि ग्रेड उल्लेख गर्नु राम्रो कुरा हो,’ अध्यक्ष थापाले भने ।

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक संजिवकुमार ठाकुरले सिमेन्टमा ग्रेड प्रयोग प्रक्रिया अगाडी बढेको बताए । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् ।

सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेको हो । नेपालमा स्वदेशी र विदेशी गरी सिमेन्ट उद्योग क्षेत्रमा करिब ४ खर्ब रुपैयाँ लगानी छ । विदेशी ठेकेदारले बनाउने ठूला विकास आयोजनमा ग्रेडको प्राविधिक प्रश्न उठाएर सिमेन्ट आयात गर्ने गरेपनि अन्य क्षेत्रका लागि चाहिने सिमेन्ट नेपालमै उत्पादन हुने गरेको छ । केही वर्ष अगाडिसम्म वार्षिक अर्बाैं रुपैयाँ बराबरको सिमेन्ट आयात भएर नेपालको व्यापारघाटा बढाउने गरेको भएपनि पछिल्लो समय नगन्य मात्रामा मात्रै सिमेन्ट आयात हुने गरेको छ ।

मूल्य बढ्ने

सिमेन्टको ग्रेड निर्धारणपछि ५३ ग्रेड समेन्टको मूल्य भने बढ्नेछ । अहिलेसम्म ५३ र ४३ ग्रेड भनेर छुट्टयाउने गरिएको थिएन । ग्रेड छुट्टयाउन थालिएपछि ५३ ग्रेडको सिमेन्टको मूल्य प्रतिबोरा १० रुपैयाँसम्म बढ्न सक्ने उद्योगीको भनाइ छ । अहिले सिमेन्टको उत्पादन मूल्य प्रतिबोरा ७ सय रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.