सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक सेयर मूल्यमा भने किन १४ बैंकपछि ? (समग्र विश्लेषण)

  २०७६ फागुन २२ गते १३:४८     विकासन्युज

काठमाडौं । १२ बर्षअघि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंक सरकारको बिग मर्जरको नीतिलाई पुरा गर्ने पहिलो बैंक हो । हालै जनता बैंकलाई मर्ज गरेको ग्लोबल बैंकले ५ वटा संस्था (कमर्ज एण्ड ट्रस्ट बैंकसहित २ वाणिज्य बैंक) मर्जर र ३ वटा संस्था एक्वायर गरिसकेको छ ।

मर्जर र एक्विजिशन भएका संस्थाहरुमा पहिले पनि अन्य संस्थाको मर्जर र एक्विजिशन भएकोले करीब १८ संस्थाको संयोजन हो, ग्लोबल आइएमइ बैंक ।

पूँजी आधारमा देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमइ बैंक सन्तुलित वृद्धिसहित अगाडी बढेको छ । ‘सबैको लागि बैंक’को नारासहित सञ्चालनमा आएको बैंकको २ सय ९५ शाखा र २ सय ५७ वटा एटिएमबाट ग्राहकले सेवा पाइरहेका छन् । २ सय ४९ शाखारहित सेवा समेत सञ्चालन गरिरहेको छ ।

९.६४ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ४ देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ ।

उपाधी

बैंकले सन् २०१४ मा लण्डनको फाइनान्सियल टाइम्सबाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । बैंकले लण्डनको इन्टरनेशनल फाइनान्स म्यागेजिनबाट २०१६ मा बेस्ट इन्टरनेट बैंकको उपाधी पाएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस भारतबाट सन् २०१८ मा बेस्ट इम्पोयर अवार्ड समेत पाएको छ ।

सेयर लगानीकर्ता

४८.८० प्रतिशत सर्वसाधारणमा सेयर रहेको बैंकमा जनता मर्ज गनुअघिसम्म वल्र्डवाइड इन्भेष्टमेन्ट प्रालिको सबैभन्दा धेरै (६.६२) सेयर रहेको थियो । जनता बैंकको सेयर पूँजी ८५ प्रतिशत (७ अर्ब २० करोड रुपैयाँ) हुने गरी मर्ज भएको बैंकमा सो बैंकका केशवबहादुर रायमाझी र विनित कुमार अग्रवालले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् । व्यवसायी चन्द्र ढकालको लगानी रहेको ग्लोबल आईएमई बैंकमा उनी आफै अध्यक्ष रहदै आएका छन् ।

लगानी

बैंकको ४२ करोड ७१ लाख रुपैयाँ बराबरका सूचीकृत र सूचीकृत हुन बाँकी सेयर/इकाइमा लगानी गरेको छ । १ अर्ब ५३ करोड अन्य सेयरमा लगानी रहेको छ । बैंकले सरकारी ऋणपत्र लगायतमा भने ११ अर्ब लगानी गरेको छ ।

ग्लोबल आईएमई क्यापिटलमा बैंकको ७५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तमा बैंकमा ७० प्रतिशत सेयर स्वामित्व छ ।

लाभांश

बैंक विगत ५ वर्षमा बार्षिक औषत २०.१ प्रतिशतको दरले लाभांश दिन सफल हुँदै आएको छ । बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५.५ प्रतिशत दिएको छ ।

हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब २० करोड रुपैयाँ वितरण गर्न सक्ने अबस्थामा बैंक छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा ६ प्रतिशत हो । जनतासँग मर्जरपछि बैंकको सेयर प्रिमियममा ५ अर्ब ३९ करोड रुपैयाँ छ । सेयर प्रिमियम रकम समेत जोड्दा लाभांश दर ३४.७९ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ ।

वित्तीय अवस्था

बैंकले चालु आवको दोस्रो त्रैमाशमा मात्रै ३२ प्रतिशतले नाफा बढाएर १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । जनता बैंकको मर्जरअघिको नाफासमेत जोड्दा नाफा रकम २ अर्ब १३ करोड पुगेको छ । नाफा रकम आधारमा भने बैंक तेस्रो स्थानमा छ ।

बैंकको व्याज आम्दानी ३४ प्रतिशत र खुद व्याज आम्दानी ४९ प्रतिशतले बढेको छ । ८ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा ३ अर्ब ५४ करोड पुगेको छ । खुद व्याज आम्दानीको आधारमा बैंक तेस्रो स्थानमा छ ।

बैंकको जगेडा तथा सञ्चित कोषमा ८ अर्ब ५७ करोड रुपैयाँ छ । कोष लागत ७.५७ प्रतिशतबाट घटेर ६.७९ मा सिमित भएको छ । समग्र बैंकिङ क्षेत्रमा यो बैंक निक्षेप र कर्जा लगानीको आधारमा पहिलो स्थानमा छ ।

खराब कर्जा अनुपात १ प्रतिशत मुनि पुगेको छ । कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ४१ करोड ३९ लाख रुपैयाँ प्रावधान राखेको छ ।

निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७८.९८ प्रतिशत छ । बैंकले कर्जा लगानीको लागि आवश्यक स्पेस बनाउन केही समय अघि मात्रै ऋणपत्र जारी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २२.५३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४५ प्रतिशत छ । प्रतिसेयर आम्दानीको आधारमा बैंक १४ औं स्थानमा छ ।

कम्पनीको सेयर मूल्य पछिल्लो समय घट्ने क्रममा ३ सय रुपैयाँभन्दा मुनिसम्म आएको थियो ।

रेटिङ

बैंकलाई इक्रा नेपालले माइनस ए रेटिङ दिएको छ । रेटिङले उल्लेख गरेका महत्वपूर्ण विशेषताहरु निम्न अनुसार छन् ।

–बजारको ठूलो खेलाडी, बजार हिस्सा ७ प्रतिशत

–मर्जपछि पूँजी पर्याप्तता आधारमा सुधार (१२.२८ प्रतिशत)

–भाका नाघेको कर्जा १० प्रतिशत र खराब कर्जा १.०२ (मर्जरको कारण वृद्धि तर स्वस्थ सम्पत्ती गुणस्तर)

–भाका नाघेको कर्जामा ८० प्रतिशत एक महिना भित्रमा भएकोले अवस्था सहज

–बजारको भन्दा उच्च कोष लागत (समग्र बजारको ६.६३ रहेकोमा बैंकको ७.०९ प्रतिशत)

–कम लागतको निक्षेप घट्दो

–कर्जामा ३३ प्रतिशतको वृद्धि (समग्र क्षेत्रको वृद्धिदर २२ प्रतिशत)

–प्रमुख २० ऋणीको हिस्सा कम (१३ प्रतिशत, यो राम्रो सूचक हो ।)

–खुद व्याज मार्जिन ४ प्रतिशत

प्रवृत्ति बुलिश

बैंकप्रति दोस्रो बजारका सेयर लगानीकर्ताको विश्वास खासै बढ्न सकेको देखिदैन । बैंकको मूल्य आम्दानी अनुपात १३.१० प्रतिशत हुनुले यस्तो देखाउँछ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । यसको अर्थ बैंकले कमाएको १ रुपैयाँको लागि लगानीकर्ताहरुले १३.१० तिरिरहेका छन् भन्ने हो । बजारमा रहेका समकालिन अन्य बाणिज्य बैंकहरुमा यो दर कम नै हो ।

बैंकको सेयर मूल्य केही समयदेखि नै बुलिश प्रवृत्तिमा छ । १४ दिने आरएसआई सुचक केही समयदेखि नै सन्तुलित क्षेत्रमा छ । आरएसआई हाल ५७.८९ मा छ ।

२१ दिने र ७ दिने सिम्पल मुभिङ एभरेज केही समयअघि मात्रै क्रस ओभर भएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी दुईबीच अझै दुरी कायमै छ ।

एक महिना अवधिको पीभट विश्लेषणले भने अब बजार घट्ने क्रममा रहेकोले आगामी एक महिनामा २ सय ७२ मा पहिलो टेवा र ३ सय ८ मा पहिलो प्रतिरोध पाउने देखाउँछ । एक महिनामा बैंकको मूल्य ३६ रुपैयाँको फरकमा तल माथि गरिरहेकोले रेन्ज नै कम छ ।

बैंकको मूल्यमा निकै कम उतारचढाव छ । ३० कारोबार दिनको आधारमा हेरिएको स्ट्याण्डर्ड डेभिएसन अनुसार बैंकको यो सूचक ५.६३, समग्र बैंकिङ समूहको २७.५४ र नेप्से परिसूचकको २३.५८ छ । नेप्सेमाभन्दा पनि बैंकिङ समूहमा बढि उतार चढाव छ भने यस बैंकको सेयरमा खासै उतार चढाव छैन । छोटो छोटो अवधिमा कमाउन चहानेलाई हालसम्म बैंकको मूल्यबाट खासै फाइदा देखिदैन ।

बैंकको सेयर मूल्यले अन्तिम दुवैतर्फ धागो भएको कालो मैनवत्ति आकृति बनाएको छ । यसले लगानीकर्ताहरुमा तीव्र मोलमोलाई भइरहेको संकेत गर्छ । बैंकको सेयर मूल्यको लागि ३ सयको विन्दु मनोवैज्ञानिक विन्दुको रुपमा रहदै आएको छ । मूल्यले २ सय ७६ मा टेवा परीक्षण गर्ने बलियो समभावना छ । बैंकको सेयर मूल्यमा सुधार हुने संकेत देखिए पनि ठूलो उछालको सम्भावना कम देखिएको छ । तर, पनि बैंकले ब्रेक प्वाइन्ट भने खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.