२०७६ फागुन १९ गते ११:१९ विकासन्युज
सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिए ।
“साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्”, राससँगको कुराकानीमा उनले भने, “ग्रेड वृद्धि साधरणधारतर्फ दुई हजार ८१३ र प्राविधिक धारतर्फ २२ ले परीक्षा सम्मिलत हुँदैछन् ।” उनले कर्णालीभरिमा १७६ परीक्षा केन्द्र रहेकाे बताएका छन् ।
त्यसमा १७६ केन्द्राध्यक्ष, २४२ सहायक केन्द्राध्यक्ष, एक हजार ८११ निरीक्षक, ३६२ परीक्षा सहायक, ७२३ कार्यालय सहयोगी र दुई हजार ६५५ सुरक्षाकर्मीगरी जम्मा पाँच हजार ९६९ जनशक्ति प्रत्यक्षरुपमा परिचालन गरिने छन् ।
यो परीक्षामा पाँच लाख ६५ हजार १३६ मूलसहित तीन लाख ९५ हजार ५९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पुर्याइसकेको उनले बताए । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखा प्रमुख शर्माले जनाउनुभयो । उनका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ ।
स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानूनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.