घातक रोग लागेमा कसरी उपचार गर्ने भन्ने चिन्ता छ ? यस्ता छन् विकल्प

  २०७६ फागुन १८ गते १०:३१     नबिन पाेखरेल

काठमाडौं । बीमा कम्पनीहरुले बिमितको स्वास्थलाई लक्षित गरेर विभिन्न किसिमका बीमा योजनाहरु संचालन गरिरहेका छन् । यसमध्ये केही योजनाहरुबाट बिमितले अस्वस्थ भएको बेलामा उपचार खर्च पाउँन सक्छन् ।

जति ठूलो रोग लाग्यो, खर्च पनि उतिनै धेरै हुने गर्छ । रोग लाग्नुपूर्व बीमा गराएमा रोग लागेको अवस्थामा बिमितको आर्थिक तनाव कम गर्न बीमाले मद्दत गर्छ ।

हाल जीवन बीमा कम्पनीहरुले घातक रोग (क्रिटीकल इलनेस पोलिसी) शीर्षकमा बीमा पोलिसी बिक्री गर्दै आएका छन् । घातक रोग बीमा पोलिसीलाई राइडर अन्तरगतको बीमा पनि भनिन्छ ।

‘राइडर भन्नाले जीवन बीमा गर्दा अन्य सेवा सुविधाहरु समेत थपिनु भन्ने बुझिन्छ, पछिल्लो समय बिमितहरु माझ बीमाको आवश्यकता थपिदै गएकाले यस्ता योजना बढ्दै गएको हो,’ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर शिवराम तिमल्सिनाले बिकास न्युजसँग भने ।

यी हुन् घातक रोग

क्यान्सर, किड्नी फेलर, बोन म्यारो ट्रान्सप्लान्ट, हर्ट अट्याक, कोरोनरी आर्टरी बाइपास ग्राफ्ट, पर्मानेन्ट प्यारालाईसीस अफ लिम्ब्स, ब्रेन ट्युमर, पर्मानेन्ट न्यूरोलोजिकल स्ट्रोक, हाइपर टेन्सन, ग्राफ्ट सर्जरी, कोमा, मल्टीपल स्लेरोसीस, सिक्कल सेल एनिमीया ।

सिटीजन लाइफ

सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस राइडर’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । समयको परिवर्तसँगै मानिसको जीवनशैली समेत परिवर्तन हँुदै जान्छ । सोही परिवर्तनको क्रममा मानिसले नसोचेका रोगहरु लाग्ने गर्छ । त्यस्ता रोगहरु लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिनु कम्पनीको मुख्य उद्देश्य हो ।

कम्पनीमा घातक रोगको बीमांक रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न सक्छन् । घातक रोगको बीमा गर्दा सिटिजन लाइफमा ५ वर्षदेखि २५ वर्षको अवधि तोकिएको छ ।

आईएमई लाइफ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २१ घातक रोगको बीमा योजना संचालन गर्दैआएको छ । कम्पनीमा बिमांक रकम ५० लाख रुपैयाँसम्म छ ।

ज्योति लाईफ

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस’ शीर्षकको बीमा पोलिसी संचालन गर्दैआएको छ । कम्पनीले एउटा प्याकेजमा ३५ वटा तथा अर्को प्याकेजमा १८ वटा घातक रोगको बीमा योजना संचालन गरिरहेको छ ।

ज्योति लाइफमा घातक रोग बीमा योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्मको छ । बीमा अवधि ५ वर्षदेखि २० बर्षसम्मको छ । १८ वर्षदेखि ५५ वर्ष उमेर समूहले यो बीमा योजनामा सहभागी हुन् सक्छन् ।

प्रभु लाईफ

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुका लागि घातक रोगको बीमा योजना संचालन गरिहेको छ । कम्पनीमा बीमा गर्ने बिमितले तोकिएका ११ किसिमका रोग लागेमा आर्थिक सुरक्षा प्राप्त गर्न सक्छन् ।

प्राइम लाईफ

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ‘सप्लीमेन्ट्री राइडर’ शीर्षकको बीमा योजना संचालनमा छ । उक्त बीमा योजनाको बिमांक रकम २५ लाख रुपैयाँसम्म छ ।

रिलायवल लाईफ

रिलायवल लाइफले ‘क्रिटीकल इलनेस बेनिफीट’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ । उक्त योजनामा १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न पाउँछन् । सो बीमा योजना भने ५ देखि २० वर्षसम्मलाई तोकिएको छ । कम्पनीले तोकिएका १५ किसिमका घातक रोगको बीमा गर्छ ।

रिलायन्स लाईफ

रिलायन्स लाईफ इन्स्योरेन्सले ‘रिलायन्स टर्म प्लान’ शीर्षकको बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले सो योजना अनुसार १८ घातक रोगको बीमा गराउँदै आएको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ ।

सानिमा लाईफ

सानिमा लाईफले ‘सानिमा क्रिटीकल इलनेस’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा कम्पनीले तोकिएका ११ घातक रोगको बीमा गर्ने जनाएको छ ।

सन नेपाल लाईफ

सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक ५ रुपैयाँभन्दा कममा घातक रोगको बीमा गर्न सकिने योजना संचालन गरिरहेको छ । उक्त बीमाको अवधि ५ वर्ष छ । कम्पनीले तोकिएका १८ रोगमा बीमा गराउँछ भने यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँसम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.