हनुमन्ते करिडोर जग्गा विवाद: ५४ रोपनी सार्वजनिक जग्गा कसरी पुग्यो पूर्वमन्त्रीको नाममा ?

  २०७६ फागुन १२ गते १५:३६     सन्ताेष राेकाया

काठमाडौं । निर्माणाधीन हनुमन्ते करिडोरमा जग्गाको विवाद जटिल समस्याको रुपमा देखा परेको छ । काठमाडौं उपत्यकालाई सुन्दर, यातायात आगवमन सहज, करिडोरको विकास र उपत्यकाको प्रकोपलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण भइरहेको हनुमन्ते करिडोरको निर्माणमा जग्गा विवाद जटिल समस्याका रुपमा देखा परेको हो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिले निर्माण गरिरहेको हनुमन्ते करिडोरको निर्माण कार्यमा जग्गा विवाद ठूलो समस्याका रुपमा उब्जिएको बताइएको छ । आयोजना प्रमुख लिला प्रसाद ढकालले निर्माणाधीन कार्यमा जग्गा विवाद जटिल समस्याको रुपमा देखा परेका बताए ।

‘तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन गर्ने योजना थियो, त्यही अनुरुप काम पनि अगाडि बढाइरहेका थियौं, तर अहिले जग्गा विवाद जटिल समस्याको रुपमा देखा परेको छ, निर्माण कार्य समयमै सम्पन्न गर्नेमा चुनौती छ’, उनले भने ।

वि.स २०७५ असारदेखि निर्माण कार्य कार्य प्रारम्भ भएको करिडोरको भौतिक प्रगति हाल सम्म सन्तोषजनक भएपनि अहिले जग्गा विवादले अब समयमै निर्माण सम्पन्न हुनेमा प्रश्न उब्जिएको छ । हनुमन्ते करिडोरको तीन प्याकेज बनाएर निर्माण कार्य भइरहेको छ ।

पहिलो प्याकेज अन्तर्गत पनि जग्गाको विवाद देखा परेको छ । करिडोरको सुन्दरवस्ती र बालकुमारीको कोलोनीमा जग्ग विवाद देखिएको हो । यस्तै, दोस्रो प्याकेज अन्तर्गत सागबारी क्षेत्रमा नदिको सिमा विवाद रहेको छ भने स्थानिय निकायद्वारा निर्माणको काम स्थगन गर्न पत्राचार समेत गरिसकेको छ ।

यस्तै, करिडोरको तेस्रो प्याकेजमा पनि जग्गाको समस्या जटिल बनेको छ । मध्यपुरको कौशलटार पुलमुनी रामजानकी मन्दिरसम्म र सुर्यविनाक नगरपालिका २ को कौशलटार पुलमुनी गोदावरखोलासम्म जग्गाको विवाद भएको समितिले जनाएको छ ।

यी जग्गा विवादको समस्याले निर्माण कार्य अगाडि बढाउन चुनौती भएको ढकालले बताए ।

५४ रोपनी खाेलाकाे जग्गा नै पूर्वमन्त्रीको नाममा !

पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको ५४ रोपनी जग्गा आफ्नो नाममा गरेको खुलेको छ । वि.स २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री आचार्यले ५४ रोपनी जग्गा आफ्नो नामा गरेको खुलेको हो ।

उनले खोलाको ५४ रोपनी जग्गा आफ्नो नाम गरेको स्रोतले बताएको छ । त्यसमा खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा गरी बेचेको खुलेको हो । उनले भक्तपुरको हनुमन्ते खोलाको जग्गा २०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।

जिल्ला मालपोेत कार्यालय भक्तपुरको जग्गाधनीको पूर्जा स्रेस्ता अनुसार खोलाको कित्ता १०१२लाई ११२० र ११२१ मा ट्क्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए ।

उनले खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख २०३१ मा खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनीको पूर्जा स्रेस्ता अनुसार खोलाको कित्ता १०१२लाई ११२० र ११२१ मा ट्क्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए ।

भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख गरिएको छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ ।

त्यो जग्गा पटक पटक कित्ताबाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरै पटक धेरै व्यक्तिका नामा किनबेच भइसकेको जनाइएको छ । हहिले हनुमन्ते नदि निजी जग्गा भएरै बग्ने गरेको छ ।

सिमांकनमा पनि समस्या

हनुमन्ते करिडोरको अर्को समस्या सिमांकन देखिएको छ । हाल सुर्यविनायक नगरपालिका वडा नम्बर २ र मध्यपुर नगरपालिका वडा नम्बर ३बीच सिमांनको विषयलाई विवाद उत्पन्न भएको छ ।

हाल आएर सुर्यविनायक नगरपालिका वडा नम्बर २ ले हनुमन्ते करिडोरको निर्माण कार्य रोक्न पत्राचार गरेको छ । दुवै स्थानिय तहले सो जग्गा आफ्नै भन्दै दाबी गरिरहेका छन् । प्रतिनिधिसभा सांसद बिना श्रेष्ठले कोटेश्वरको जामका लागि हनुमन्ते करिडोर विकल्प भएकोले यथाशीघ्र रुपमा निर्माण कार्य सम्पन्न हुनु पर्ने बताइन् ।

उनले दुई नगरपालिकाबीच जग्गा विवाद देखा परेकोले सबै स्थानिय जनप्रतिनिधीहरुको समन्वयमा उक्त समस्या समाधान गरी निर्माण कार्य अगाडि बढाउन आग्रह गरिन् ।
करिडोर निर्माणका लागि सुरुमा समन्वय हिसावले सीमांकन गरी करिडोरको निर्माण कार्यमा सबैले साथ दिनु पर्ने सांसद लिला श्रेष्ठको भनाइ छ।

उनले सुर्यविनायक र मध्यपुर थिमीका नगरप्रमुखको समन्वयमा यो समस्या समाधान गरेर निर्माण कार्यमा सहयोग गर्नु पर्ने धारणा राखे ।

सभापति खड्का भन्छिनः यो समस्या अदालत नजाओस्

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको अदालतमा नलिन सुझाव दिएकी छन् । साेमबार विकास तथा प्रविधि समितिको बैठकका सभापति खड्काले जग्गा विवादमा मुछिएका सबैलाई जग्गाको विवादलाई लिएर अदालतमा नजान सुझाव दिएकी हुन् ।

‘यो समस्या अदालतमा गएपछि निर्माण कार्यमा ढिलाई हुन्छ, हामी एक आपसमा समन्वय गरेर समस्याको समाधान खोजौं’, उनले भनिन् ।

५४ रोपनी जग्गा हावाको भरमा व्यक्तिको नाममा भन्दा पनि त्यो कसरी गयो किन गयो भन्ने कुरामा छानविन हुनु पर्ने उनको धारणा छ । यसको बारेमा मन्त्रीहरुबीचमा पनि समन्वय नभएको बताउँदै उनले सबैको समन्वयमा यो समस्या समाधान गर्नु पर्ने उनको भनाइ छ ।

यो निर्माण कार्यसँग सम्बन्धि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयसँग सँग यो विषयमा छलफल गरी समस्याको समाधा खोज्ने उनको भनाइ छ । मन्त्रालयको समन्वय र सहकार्यमा यो समस्या समाधान हुने उनले बताइन् ।

यस्तै, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हनुमन्ते करिडोरको निर्माण कार्यमा धेरै समस्या देखा परेकोले यसप्रति मन्त्रालयको चासो बढेको बताए ।

उनले करिडोरको जग्गा विवाद मुआब्जा वितरण गर्न असम्भव भएकोले ल्याण्ड मेभलपमेण्ट मोडलमा गएर समस्या समाधान गर्ने बताए । यसप्रति त्यहाँका जनप्रतिनिधिहरु गृहकार्य गरिरहेका उनको भनाइ छ ।

हनुमन्ते करिडोरको प्रगति कति ?

हाल हनुमन्ते करिडोर तीन प्याकेजमा निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि राधेराधे पुुलदेखि सुरु भइ आर्थिक वर्ष २०७६/०७७ मा सल्लाघारी पुलदेखि बालकुमारी पुलसम्को करिब ९ किलोमिटर हनुमन्ते नदिलाई व्यवस्थापन गरी नदिको दुवै किनारामा ८ मिटर चौडा कालोपत्रे सडक, १ देखि २ मिटर फुटपाथ र १० मिटर चौडाई हरियाली क्षेत्र कायम गर्ने लक्ष्यसहित निर्माण कार्यान्वयनमा आएका छन् ।

पहिलो चरण अन्तर्गतको ६९ करोड ७० लाख रकमसहित पीएस गोल्डेन गुड समानान्तर जेभीले निर्माण कार्यले ठेक्का पाएको थियो । त्यसको हालसम्म ६८.६७ प्रतिशत भौतिक र ६०. ६९ प्रतिशत वित्तीय प्रगति भएको आयोजना प्रमुख ढकालको भनाइ छ ।

उक्त ठेक्काका लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा १४ करोड रुपैयाँ बजेट विनियोेजन भएको छ । यस्तै, दोस्रो चरणको ठेक्का लामा समानान्तर जेभीले पाएको छ । यसको पनि हालसम्म भौतिक प्रगति सन्तोषजनक नै छ ।

५६ करोड ६० लाख ठक्कासहित ०७५ असोजदेखि सुरु गरेको कामको हालसम्मको भौतिक प्रगति २९.६८ र वित्तीय प्रगति २४.२ प्रतिशत रहेको छ । यसको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा २० करोड रुपैयाँ विनियोेजन भएको थियो ।

तेस्रो चरणमा रहेको ठेक्काको निर्माण कार्य सन्तोषजनक नै देखिन्छ । हालसम्म यसको भौतिक प्रगति २५.९१ र वित्तीय प्रगति २०.१२ प्रतिशत रहेको छ । यसको ठेक्कोको जिम्मा भने कालेका कन्ट्रक्सनले पाएको छ ।

गत भदौमा सुरु गरेको निर्माण कार्यका लागि ५५ करोड ८९ लाख रुपैयाँ आवश्यक छ । चालु आर्थिक वर्ष २०७६/०७७ मा उक्त निर्माण कार्यका लागि १७ करोड २४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

हाल निर्माणाधीन हनुमन्ते करिडोर समयमै सम्पन्न भए कोटेश्वरको ट्राफिक जामको समस्या केही हदमा भएपनि समाधान हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.