आज रातभर पशुपतिनाथको चारै ढोका खुला हुने

  २०७६ फागुन ९ गते १७:११     पूर्णप्रसाद मिश्र

काठमाडौं । आज रातभर दर्शनार्थीका लागि पशुपतिनाथको चारै ढोका खुला हुने भएकाे छ । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेकाेले उक्त व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए ।

साथै, पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।  उनका अनुसार शुक्रबार दिउँसो २ः३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरकाे दर्शन गरेका छन् ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको उनले बताइन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले थपिन् ।

कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिर्यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताए । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाइन् ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरेका छन् । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । बिहान आधा घण्टामै दर्शन गरेर फर्केका दर्शनार्थीले दिउँसो भने एक घण्टासम्म समय लागेको बताए ।

मन्दिर क्षेत्र प्रवेशका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरीरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड बढ्दै गएको छ ।

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।

दुई वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए । बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गर्नुहुने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ गई पूजा आराधना गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.