महासंघका अध्यक्ष र उपाध्यक्षसहित २५ उद्योगीले पाउने भए सिआईपी सम्मान

  २०७६ माघ २३ गते १३:०५     विकासन्युज

काठमाडौं । सरकारले अर्थतन्त्रमा योगदान पुर्याउने २५ जना उद्योगी, व्यवसायी तथा संघ संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) उपाधीबाट सम्मान गर्ने भएको छ । सरकारले मुलुकको वाणिज्य क्षेत्रमा योगदान पुर्याउने उक्त उद्योगी तथा व्यवसायिक व्यक्तिहरुलाई विभिन्न १३ विधामा सम्मान गर्न लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार अन्तिम नामावली सार्वजनिक गर्दै विशिष्ट व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघकाे उपाध्यक्ष तथा आईएमईका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर लगायतका विशिष्ट व्यवसायीहरु छनोट भएका छन् ।

उक्त व्यक्तिहरुलाई आगामी माघ २८ गते मंगलबार राष्ट्रिय सभामा एक कार्यक्रम मार्फत सम्मान गर्ने व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले जनाएको छ ।

सिआइपी सम्मान पाउने उद्योगी र व्यवसायीले विमानस्थलमा छुट्टै सिआइपी लाउन्ज, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको भेटघाटमा अग्रता, सिंहदरबार प्रवेश, व्यापार र निकासीमा राय सुझाव दिने र सार्क स्टिकर लोगोको व्यवस्था गरेर सार्क मुलुकमा भिसा आवश्यक नपर्ने लगायतको सुविधा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.