२०७६ माघ २१ गते १०:२३ विकासन्युज
अछाम । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ ।
गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेकाे जानकारी दिए ।
प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेकाे थियाे ।
अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुर सहितको टोली आइरहेको उनले जानकारी दिए । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.