ज्योति लाईफको बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि, नाफा ७ कराेड नजिक

  २०७६ माघ १२ गते १३:०५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को प्रथम ६ महिनामा खुद नाफा ७ प्रतिशतले सुधार गर्दै रु. ६ करोड ८९ लाख आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि भइ रु. ७५ करोड १४ लाख आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धि गरेको छ । कम्पनीको व्यवस्थापन खर्चमा ४७ प्रतिशतको वृद्धि भएको छ । आम्दानी वृद्धि दर उच्च भएपनि व्यवस्थापन खर्च बढी भएकोले खुद नाफा सिंगल डिजिटमा रोकिएको छ ।

व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रो त्रयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धि भइ रु.३३ करोड ४६ लाख कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धि भइ रु. १.२१ अर्ब भएको छ ।

जीवन बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै ज्योति लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा २०७४ सालमा बीमा समितिबाट इजाजत पाइ संचालनमा आएको हो । करिब ३ वर्ष पुरा नहुँदै यो कम्पनी जीवन बीमा क्षेत्रमा बलियो धरातल बनाउन सफल भएको छ ।

ज्योति लाईफले हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार सुविधा सहितका नयाँ नयाँ बीमा योजनाहरु जारी, ग्राहक सेवामा प्राथमिकता, अनलाइन तथा मोबाइलबाट नै बीमा नवीकरण शुल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.