डेपुटी गभर्नर श्रेष्ठले पाए सफाइ, सरकार भन्छः जबरजस्ती दोषी देखाउन मिलेन (भिडियाेसहित)

  २०७६ माघ २ गते १५:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाएका छन् । बिहीबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।

डेपुटी गभर्नरमाथिको उजुरी छानविन गर्दा दोषी नपाइएपछि सफाइ दिइएको मन्त्री बासकोटाले बताए ।  ‘उहाँमाथि उजुरी परेको थियो, उजरी परेपछि छानविन भएको हो, छानविनको रिपोर्ट पनि प्राप्त भएको थियो, तर उहाँमाथि आरोप लागे जस्तो प्रमाण भेटिएन, छानविनमा दोषी देखिएन, दोषी नदेखिएपछि, छानविन गरेपछि जसरी पनि दोषी देखाउनै पर्छ भन्ने भएन, जे खोजियो, त्यो पाइएन, अनि सफाइ दिइएको हो,’ पत्रकार सम्मेलनमा मन्त्री बासकोटाले भने ।

डेपुटी गभर्नर श्रेष्ठले पदीय जिम्मेवारी अनुसार काम नगरेको तथा वित्तीय स्थायित्वमा नै गम्भीर प्रकारको असर पुग्ने गतिविधि गरेको उजुरी परेको भन्दै सरकारले नेपाल राष्ट्र बैंक संचालक समितिलाई उनी विरुद्ध उजुरीको छानविन गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट यस्तो निर्देशन आएपछि राष्ट्र बैंकले बैंक संचालक समिति सदस्य डा. श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । समितिका सदस्यहरुमा राष्ट्र बैंककै संचालकहरु रामजी रेग्मी र सुवोधलाल कर्ण थिए ।

पौडेल संयोजकत्वको समितिले श्रेष्ठमाथिको उजुरी छानविन गरी सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिसमा श्रेष्ठमाथि लागेका आरोप सही भए नभएको वा उनी दोषी देखिए नदेखिएको खुलाइएको थिएन । समितिको छानविनले देखाएको तथ्यका आधारमा उनलाई सफाइ दिइएको मन्त्री बाँसकोटाले जानकारी दिए ।

श्रेष्ठमाथि छानविन प्रक्रिया अघि बढेसँगै उनी निलम्बनमा परेका थिए । निलम्बनमा परेका कारण श्रेष्ठ करिब २ महिनादेखि राष्ट्र बैंक गएका थिएनन् । सरकारले सफाइ दिएसँगै श्रेष्ठ आगामी आइतवारदेखि राष्ट्र बैंक जाने बताइएको छ ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा सकसः ६ माघसम्म डेपुटी गभर्नर नियुक्त नगरे श्रेष्ठलाई सफाइ दिने वा खाली राख्ने मात्रै विकल्प

राष्ट्र बैंकमा लोकसेवा हस्तक्षेपको दुष्परिणामः डेपुटी गभर्नर पाउनै मुस्किल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.