काठमाडौंमा थारुको माघीः यूट्यूब हेरेर घुँगी बनाउदै तामाङ महिला

  २०७६ माघ १ गते १९:३५     सुनिता पुडासैनी, डोमी शेर्पा

काठमाडौं । माघी पर्व विशेष गरी तराई-मधेशका आदिवासी थारुहरुको पर्व हो । पर्व मात्रै होइन, नयाँ वर्ष सुरु हुने दिन पनि हो । माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो ।

तर, माघी र घुँगी दुबैको पहिचान बदलियको छ । तराई-मधेशको माघी पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइन थालेको छ भने परम्परागत थारु परिकार घुँगी अन्य जातिले पनि बनाउन थालेका छन् ।

काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउ छिन् । यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् ।

‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् ।

माघी पर्वको लागि काठमाडौं आउनेको संख्या बढ्दैछ । परापूर्वकालदेखि नै थारु समुदायले प्रमुख पर्वको रुपमा माघीलाई मनाउँदै आएका छन् । यसवर्ष थारु सम्वत २६४० सकिएर २६४१ सुरु भएको छ ।

२०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णयसँगै काठमाडौंमा माघी महोत्सव मनाउन थालियो । बहुजाति, बहुधर्म, बहुसंस्कृति, परम्परा तथा रहनसहन रहेको नेपालमा माघी पर्वको तयारी १ महिनादेखि हुने गर्छ । विशेषगरी दाङ, धनगढी, सप्तरी, नवलपरासी, रौतहट तथा तराईका अधिकांश जिल्लाबाट माघीकै लागि काठमाडौं आउनेको संख्या बढ्न लागेको छ । थारु समुदायका मानिसहरु एकै स्थानमा भेला भएर माघी मनाउने परम्परा छ ।

आफ्नो दिदी बहिनीसहित सुशिला चौधरी माघी महोत्सवका लागि यसपाली पनि काठमाडौं आइन् । योसहित माघीमा उनी काठमाडौं आएको ५ वर्ष भयो । गत सोमबार विहान काठमाडौं आइपुगेकी सुशिलाले मंगलबार अपरान्ह ४ वजे टुडिखेलमा स्टल राखेकी थिइन् ।

आफ्नो परम्परा र संस्कृतिलाई ध्यानमा राख्दै माघीकै लागि काठमाडौं आउने उनले थारु समुदायको परिकार घरबाटै तयार पारेर ल्याउने गरेको उनले बताइन् ।

उदयपुर घर भएकी सुमित्रा चौधरी भने पहिलो पटक काठमाडौंको माघी महोत्सवमा आइपुगेकी हुन् । उनले यस वर्ष पहिलो पटक माघी मेलामा स्टल राखेकी छन् ।

तर, टुडिखेलामा स्टल राख्न सजिलो छैन । एकदिने मेलाको लागि प्रतिस्टल ७ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सुशिलाले वताइन् । भाडा महंगो भएपनि कमाइ पनि हुन्छ । गत वर्ष सुशिलाले ३५ हजार रुपैयाँ कमाएको सुनाइन् ।

माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ ।

धनगढीबाट माघी मेलाकै लागि भनेर काठमाडौं आएकी २७ वर्षीय दिपा चौधरीले विगत ४ वर्षदेखि यस मेलामा व्यापार गर्दै आएको छिन् । एक महिनासम्म तयारी गरी माघी मेला कै लागि काठमाडौं आउने गरेको उनले बताईन् ।

माघी पर्वमा विशेषता

माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुना/टपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् ।


माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् ।

नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.