ब्रेन हेमोरेजको नयाँ उपचार विधिः भारतमाभन्दा नेपालमा आधा सस्तो, यी अस्पतालले दिन्छन् सेवा

  २०७६ माघ १ गते १७:२०     डोमी शेर्पा

काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् ।

डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार पाइने विश्वास पनि उनको परिवारको छ ।

ब्रेन हेमोरेज मष्तिष्कको वरिपरि हुने रक्तस्राव हो । यो एक निकै नै जटिल स्वास्थ्य अवस्था भएको कारण नेपालमा राम्रो उपचार हुँदैन होला भन्ने अनुमान धेरै नेपालीकाे छ ।

तर, अहिले नेपालमा न्युरो सम्बन्धी अन्तराष्ट्रियस्तरका सबै उपचार हुने ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्यूरो इन्टरभेन्सनिष्ट डा. सुवास फुयाँल बताउँछन् ।

के हो ब्रेन हेमोरेज ?

ब्रेन हेमोरेज मष्तिष्कमा वा मस्तिष्क वरिपरि हुने रक्तस्राव हो । यो दुई प्रकारको हुन्छ ।

बाहिरी चोटपटक लागेर हुने हेमोरेजलाई ट्रमाटिक हेमोरेज भनिन्छ । यो एक प्रकारको हेमोरेज हो । दिमागभित्र रक्तस्राव हुने अर्काे प्रकारको हेमोरेज हो । यसलाई ननट्रमाटिक हेमोरेज भनिन्छ ।

ननट्रमाटिम ब्रेन हेमोरेज बसिरहेको समयमा अचानक रक्तचाप उच्च भएर हुने गर्दछ । यो अवस्थामा बिरामीमा दिमागमा रगत निर्यात गर्न नशाको भित्ता बेलुन जस्तो फुल्छ । यसरी फुलेको नसा फुटेपछि बिरामीलाई हेमोरेज हुने गर्दछ ।

यसरी नशा फुल्नुलाई ब्रेनयेन्युरिजम भनिन्छ भने फुटेपछि हुने अवस्थालाइ ब्रेन हेमोरेज भनिन्छ ।

स्पोनटेनियस ब्रेन हेमोरेज

विभिन्न प्रकारका चोटपटक लागेर हुने बे्रन हेमोरेजभन्दा पनि आफै हुने ब्रेन हेमोरेजको बारेमा कम जानकारी प्राप्त हुन्छ ।

उच्च रक्तस्रावको कारण उमेर बढ्दै गएको मानिसमा मस्तिष्कका नशाको भित्ता पातलो भएर जान्छ । यसरी पातलो भएको नसा फुलेर फुट्छ र ब्रेन हेमोरेज हुने गर्दछ ।

यस्तो बिरामीलाई तत्काल उपचारको आवश्यक हुन्छ । किनभने एक पटक मस्तिसकको नशाको भित्ता फुटिसकेपछि दोस्रो पटक पनि फुट्ने सम्भावना बढी हुने डा. फुयाँल बताउँछन् ।

एक पटक फुटेपछि उक्त भित्ता आफैं केही समय वा दिनको लागि बन्द भईदिन्छ । यसरी बन्द भएको नसाको भित्ता खुलेको अवस्थामा मान्छेको ज्यानै पनि जान सक्छ ।

स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार पद्धति

स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार दुई तरिकाले हुन्छ । यसको पहिलो र सबैभन्दा पुरानो उपचार भनेको टाउको खोलेर गरिने उपचार हो । यस्तो उपचार सेवा नेपालका क्रिटिकल केयरको उपचार सेवा दिने धेरै अस्पतालमा धेरै वर्ष पहिलादेखि नै हुँदै आएको छ ।

यसको दोस्रो र सबैभन्दा नयाँ उपचार विधि भनेको टाउको नखोली गरिने उपचार हो । यो उपचार पद्धतिबाट हाल नेपालका दुई अस्पतालमा मात्र उपचार गरिन्छ । हालसम्म १ सय ३० वटा केसहरु हेरिसकेका डा. फुयाल धापासीमा रहेको ग्राण्डी ईन्टरनेसनल अस्पतालमा कार्यरत रहेका छन् ।

कसरी हुन्छ टाउको नखोली उपचार ?

यो उपचार पद्धतिमा खुट्टा वा हातको नशाबाट तार लिएर त्यसलाई एक्स–रेको माध्यमबाट हेरेर दिमागमा फुटेको भागमा लगेर जोडिन्छ । संसारभर अहिले यो सबैभन्दा चलेको बे्रन हेमोरेजको उपचार पद्धति रहेको हो ।

डाक्टरहरुका अनुसार यो पद्धतिमा जोखिम पनि कम हुन्छ र बिरामी पनि ६/७ दिनमै घर जान सक्छन् । टाउको खोलेर गरिने उपचार पद्धतिमा बिरामीको अस्पताल बसाई पनि लामो हुने डा. फुयालले बताए ।

कति लाग्छ खर्च ?

उपचार खर्चको मात्रै कुरा गर्ने हो टाउको नखोली गर्ने उपचार विधि टाउको खोलेर गरिने उपचारको दाँजोमा धेरै नै महँगो हुन्छ । तर, टाउको खोलेर उपचार गर्दा अस्पताल बसाई, अस्पतालमा लामो बसाईबाट पाइने तनाव जस्ता विषयको तुलना गर्दा भने टाउको नखोली गरिने उपचार विधि नै सस्तो भएको महसुस हुने गर्छ ।

टाउको नखोली गरिने उपचारमा प्रयोग हुने मेसिन पनि विदेशबाट आयात हुन्छ । यस्तो उपचारका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्म लाग्न सक्ने डा. फुयाल बताउँछन् ।

डा. फुयाँलले ६ वर्ष लामो अध्ययनपछि नेपालमा पहिलोपल्ट गत बैशाखमा ग्राण्डी ईन्टरनेसनलबाट यो उपचार पद्धतिबाट सेवा सुरु गरेका हुन् ।

यस्तै, टाउको खोलेर गरिने उपचारमा बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने हुनाले यसको उपचार खर्च पनि धेरै लाग्ने टिचिङ अस्पतालका न्युरो सर्जन डा.गोपाल सेडाई बताउँछन् ।

कहाँ हुन्छ ब्रेन हेमोरेजको उपचार ?

ब्रेन हेमोरेजको उपचार सरकारी अस्पतालहरु काठमाडौंको टिचिङ, वीर र चितवनको भरतपुर अस्पतालमा हुने गरेको छ । यस्तै, बानेश्वरको सिभिल अस्पतालमा यसको सर्जरी नभए पनि चिकित्सकको प्रबन्ध भने हुने टिचिङ अस्पतालका न्युरो सर्जन डा. सेडाईले जानकारी दिए ।

निजी लगानीद्धारा संचालित काठमाडौंको ग्राण्डी इन्टरनेसनल, मेडिसिटी, न्युरो, नर्भिक र ह्याम्स अस्पतालमा पनि यसको उपचार हुन्छ । उपत्यका बाहिरमा चितवनको चितवन मेडिकल कलेज, पोखराको मणिपाल, बिराटनगरको नोबल मेडिकल अस्पताल, बिराट मेडिकल कलेज तथा अन्य धेरै प्राईभेट अस्पतालहरुमा यसको उपचार हुने डा. फुयाँलले जानकारी दिए ।

ब्रेन हेमोरेजको लक्षण

सामान्य पेनकिलरले ठीक नहुने गरी अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु ब्रेन हेमोरेजको लक्षण हो । रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी महसुस हुन बे्रन हेमोरेजका लक्षण हुन् ।

भारतभन्दा ५० प्रतिशत सस्तो

टाउको नखोली गरिने उपचार पद्धतिमा प्रयोग हुने मेसिनको भारत र नेपालमा करिब उस्तै शुल्क लाग्ने डा. फुयाँल बताउँछन् । नेपालमा एउटा डाक्टरले यस्ता केस गरेको २० हजारदेखि ६० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने भारतीय डाक्टरले १ लाख रुपैंयाभन्दा बढी लिने फुयाँल बताउँछन् ।

भारतमा उपचार गर्दा बसाई खर्च, हवाई भाँडा र नयाँ सहरले दिने तनाव जस्ता विषयले नेपालको दाँजोमा भारतमा हुने सबै उपचार खर्च धेरै हुने गरेको छ ।

किन जान्छन् नेपाली भारतमा ?

नेपालका अस्पताल उद्योगले गर्न नसकेको काम नै ब्रान्डिङको हो । नेपालमा ब्रेन हेमोरेजको सफल उपचार हुन्छ भन्ने पर्याप्त जानकारी नपाएका कारण पनि धेरै नेपाली भारत धाउने गरेको ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्युरो सर्जन डा. फुयाल बताउँछन् ।

अहिलेको अवस्थामा अन्तराष्ट्रिय जगतमा हुने प्रायः सबै उपचार पद्धती नेपालमा प्राप्त हुने उनको भनाइ छ ।

उपचारको लागि भारत धाउने नेपालीमा भट्ट त एक उदाहरण पात्र मात्र हुन् । उनी जस्ता सयौं नेपालीहरु उपचारको लागि दिनहूँ भारत जाने गरेका छन् ।

नेपाली उपचार पद्धतिप्रतिको अविश्वास र विशेषज्ञता सेवाको लागि काठमाडौं नै धाउनुपर्न हुनाले भारतसँग नजिकका सिमानामा रहेका धेरै मानिस उपचार गन्तव्य भारत नै रोज्ने बनाउने गरेका छन् । नेपालमा कुन कुन अस्पतालमा कस्तो उपचार हुन्छ भन्ने जानकारी नभएको कारण पनि धेरैले भारतका अस्पताललाई रोज्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.