नेपाली ‘यात्री’ भर्सेज भारतीय ‘रिभोल्ट’, दुई इलेक्ट्रिक बाइकमध्ये कसको पल्ला भारी ?

  २०७६ पुष २९ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’लाई एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो मोटरसाइकलले धेरैलाई प्रभावित बनाउन सफल भएको थियो ।

नेपालमा यो बाइक सार्वजनिक हुनुभन्दा लगभग ५ महिनाअघि मात्र भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल ‘रिभोल्ट आरभी ४००’ सार्वजनिक गरिएको थियो । यो बाइकले पनि बाक्लो संख्यामा प्रसंशक कमाउन सफल भएको थियो । भारतमा सार्वजनिक भएको सो बाइकलाई चाँडै नै नेपाल भित्र्याउने तयारी पनि चलिरहेको छ ।

यी दुवै मोटरसाइकल इलेक्ट्रिक भए तापनि यिनमा धेरै भिन्नता पाउन सकिन्छ । केही पक्षमा रिभोल्टले बाजी मारेको देखिन्छ भने केहीमा यात्रीले रिभोल्टलाई धेरै पछाडि पारिदिएको छ ।

लुक्स

यात्री क्याफे रेसरको डिजाइनमा आधारित छ भने रिभोल्टमा हामी साधारण नेकेड बाइककै लुक्स पाउन सक्छौं । फ्युचरिस्टिक डिजाइन पाएको यात्रीको लुक्स अरु मोटरसाइकलभन्दा पृथक रहेको छ भने रिभोल्टलाई हेर्दा लाइट वेट मोटरसाइकलको झल्को आउँछ ।

ब्याट्री र मोटर

यात्रीमा ६ किलोवाटआवरको लिथियम आयनको ब्याट्री समावेश छ भने रिभोल्टमा ३.२४ किलोवाटआवरको लिथियम आयनको ब्याट्री समावेश छ । मोटरतर्फ भने यात्रीमा ३० किलोवाटको मोटर जडान गरिएको छ भने रिभोल्टमा ३ किलोवाटको मोटर जडान गरिएको छ ।

पावर र टर्क

यात्रीले ४० एचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ भनी कम्पनीले दावी गरेको छ भने रिभोल्ट आरभि ४०० ले ६.७१ एचपीको पावर र १७० एनएमको टर्क उत्पादन गर्दछ भनेर रिभोल्ट मोटर्सले दावी गरेको छ ।

चार्जिङ्ग टाइम

यात्रीमा समावेश ब्याट्रीलाई चार्ज गर्न केवल २ घण्टाको समय लाग्दछ भनेर कम्पनीले जनाएको छ । तर यो २ घण्टामा ब्याट्री १०० प्रतिशत नै चार्ज हुन्छ या सोभन्दा थोरै हुन्छ भन्ने वारे कम्पनीले प्रष्ट्याएको भने छैन । रिभोल्ट्स मोटर्सका अनुसार रिभोल्ट आरभि ४०० लाई ७५ प्रतिशत चार्ज गर्न ३ घण्टाको समय लाग्दछ र १०० प्रतिशत नै चार्ज गरिसक्न ४.५ घण्टा समय लाग्दछ ।

माइलेज र टपस्पिड

यात्रीमा ‘सुस्ते’, ‘ठिक्क’ र ‘बबाल’ गरी ३ ओटा राइडिङ्ग मोडहरु रहेका छन् । सुस्ते मोडमा बाइक थोरै पावरमा विस्तारै चल्दछ र बढी माइलेज प्रदान गर्दछ । कम्पनीका अनुसार यो मोडमा चलाउँदा यात्रीले २ सय ३० किलोमिटरको रेञ्ज दिन्छ । रिभोल्ट आरभि ४०० मा चाहिँ ‘इको’, ‘नर्मल’ र ‘स्पोर्ट्स’ गरी ३ अलग राइडिङ्ग मोड दिइएका छन् । कम्पनीका अनुसार यो मोटरसाइकलले इको मोडमा १ सय ५० किलोमिटरको उच्चतम रेञ्ज प्रदान गर्दछ ।

यात्री मोटरसाइकल्सको दावीअनुसार यात्रीले बबाल मोडमा १ सय २० किलोमिटर प्रतिघण्टाको उच्चतम टपस्पिड हासिल गर्न सक्दछ । तर, रिभोल्ट आरभि ४०० ले भने स्पोर्ट्स मोडमा ८० किलोमिटर प्रतिघण्टाको उच्चतम टपस्पिड हासिल गर्न सक्दछ ।

अन्य

यात्रीमा ७–इञ्च फुल एचडी टचस्क्रीन ड्यासबोर्ड दिइएको छ भने रिभोल्टमा चाहिँ नर्मल डिजिटल ड्यासबोर्ड दिइएको छ । त्यसैगरी यात्रीको बडी कार्बन फाइबरको पार्ट्सहरुले बनाएको छ भने रिभोल्टमा धेरै ठाउँमा प्लाष्टिक जडित छ । यात्रीमा एबीएस समावेश छ भने रिभोल्टमा एबीएस समावेश गरिएको छैन । यात्रीले कुनैपनि प्रकारको साउण्ड उत्पन्न गर्दैन तर रिभोल्टमा भने स्पिकर मार्फत् पेट्रोल मोटरसाइकलले उत्पन्न गर्ने कृतिम साउण्ड समावेश गरिएको छ ।

मूल्य

यात्री मोटरसाइकल्सले मूल्यको वारेमा हाल केही नखुलाए तापनि सो मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । रिभोल्ट ४०० आरभि भारतीय बजारमा १ लाख ३८ हजार रुपैयाँमा बिक्री वितरण भइरहेको छ भने नेपाली बजारमा आइसक्दा सो बाइकको मूल्य ३ लाख ५ हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.