हुण्डाईले उड्ने ट्याक्सी ल्याउँदै, अमेरिकामा गरियो उडानसहितकाे प्रदर्शनी

  २०७६ पुष २४ गते २०:०९     विकासन्युज

काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन गरिएको थियो । हुण्डाईका प्रवक्ताले जनाए अनुसार यस पटक प्रदर्शन गरिएको वाहन एउटा कन्सेप्ट वाहन मात्र भएको र सन् २०२३ मा भने यसको पहिलो उत्पादनलाई सार्वजनिक गरिनेछ ।

एस-ए१ कन्सेप्ट फुल इलेक्ट्रिक वाहन हुनेछ जसले ४ जना प्यासेन्जर बोक्न सक्ने क्षमता राख्दछ । यस वाहनलाई शहरी क्षेत्रको बढ्दो ट्राफिकलाई लक्षित गर्दै निर्माण गरिएको हो । यसले ठाडो उडान र ठाडो अवतरण गर्नसक्छ । यो ट्याक्सी२९० केएमपीएचको स्पीडमा हावामा उड्न सक्छ । त्यसैगरी, जमीन भन्दा २००० फिट माथि सम्म उडान भर्न सक्छ । हुण्डाईका अनुसार यस ट्याक्सीले फुल चार्जमा १०० किलोमिटरको यात्रा तय गर्न सक्छ । तर खुशीको कुरा के हो भने यसलाई चार्ज गर्न केवल ५ देखि ७ मिनेटको समयनै पर्याप्त हुन्छ ।

यस वाहनमा साना साना प्रोपेलरहरु जडान गरिएका हुन्छन् जसले यसलाई उडान भर्न मद्दत पुर्याउँछन् । प्रोपेलर भन्नाले हेलिकप्टरमा प्रयोग भएजस्ता पंखा आकारका यन्त्र हुन् जसले तीव्र गतीमा घुमेर ट्याक्सीलाई उड्नमा मद्दत गर्दछ । यी प्रोपेलरका आकार सानो हुनाले यसले हेलिकप्टरले जस्तो ठुलो आवाज उत्पन्न गर्दैन जसका कारण ध्वनी प्रदुषणको समस्या पनि रहँदैन । यसका साथै धेरै प्रोपेलर जडान गरिएको कारणले नै यो हेलिकप्टर भन्दा सुरक्षित रहेको कम्पनीको दावी छ ।

सार्वजनिक भएको शुरुवाती अवस्थामा यस वाहनमा पाइलटको आवश्यकता परेपनि पछि भने प्रविधिको विकाससँगै पाइलटले गर्ने सम्पूर्ण काम वाहनले अटोमेटिकरुपमै गर्न सक्ने प्रविधी समावेश गरिनेछ भनी हुण्डाईले जनाएको छ ।यस वाहनलाई हुण्डाईले निर्माण गर्ने र उबरले चाहिँ एयरस्पेश सपोर्ट सर्भिस, ग्राउण्ड ट्रान्सपोर्टेशनमा कनेक्शन, कस्टमर इन्टरफेस लगायतमा एरियल राइड शेयर नेटवर्क मार्फत सहयोग गर्ने भएको छ । उबरको यो सहयोगले ट्याक्सीलाई गन्तव्यसम्म पुर्याउनमा मार्गदर्शन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.