अभिकर्तालाई दक्ष र सीपयुक्त नबनाई कसरी विस्तार हुन्छ बीमा बजार ?

  २०७६ पुष १४ गते १२:२७     नन्दप्रसाद तिवारी

बीमा क्षेत्रको विकास र विस्तार तीब्र गतिमा भइरहेको छ । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि बीमाको दायरा र गतिविधि अझै बढेको आभास हुन्छ ।

बीमा व्यवसायको मेरुदण्ड भनेकै अभिकर्ता हुन् । अभिकर्ताले नै आम सर्वसाधारणसँग भेटेर बीमाको बारेमा जानकारी गराउने, बीमा गराउने, दाबी भुक्तानीका लागि भूमिका निर्वाह गर्ने जस्ता जिम्मेवारी बहन गर्ने भएकोले पनि अभिकर्ताको महत्व धेरै छ ।

अभिकर्ता पेशामा आवद्ध हुनेहरुको संख्या बढिरहेको छ । लाइसेन्स लिने अभिकर्ताहरु ५ लाखको हाराहारीमा छन् । यसमध्ये ५–७ हजारले पूर्णरुपमा काम गरिरहेका छन् । करिब १ लाख अभिकर्ता पार्टटाइमरको रुपमा कार्यरत छन् । लाइसेन्स लिएका केही अभिकर्ताको बारेमा खासै जानकारी नभएको अवस्था पनि छ ।

अभिकर्ताको लागि तालिमको राम्रो अवसर नै छैन । अझ भनौं, तालिम लिएर आफ्नो ज्ञान, सीप र क्षमता बढाउने अवस्था छैन । आफैलाई धेरै जानकारी नभएको अभिकर्ताले सर्वसाधारणलाई बीमाको बारेमा बुझाउन सक्दैन । यस्तो कारणले समग्र बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बन्ने जोखिम रहन्छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा केही पहल गर्न आवश्यक छ । जस्तो कि लाइसेन्स लिएका अभिकर्तासँग पनि समितिले सीप परीक्षा लिनुपर्यो । यस्तो परीक्षामा उतिर्ण भएका अभिकर्तालाई लाइसेन्स दिने विधि अपनाउन सकियो भने दक्ष अभिकर्ता निर्माण हुन्छ । दक्ष अभिकर्ताले बीमाको राम्रोसँग प्रचार प्रसार र व्यवहारिक पक्षका बारेमा सर्वसाधारणलाई बुझाउन सक्छ ।

अन्तराष्ट्रिय बजारमा बीमाका विभिन्न योजना र कार्यक्रमहरु आएका हुन्छन् । विभिन्न प्रकारका जोखिम वहनमा बीमाले कसरी कभरेज गर्ने भन्ने अध्ययन, खोज र अनुसन्धानहरु भइरहेका हुन्छन् । यसको लागि नेपाली अभिकर्ताले अन्तराष्ट्रियस्तरको ज्ञान र सीप हासिल गर्नु आवश्यक हुन्छ ।

तर, नेपाली अभिकर्ताले अन्र्तराष्ट्रियस्तरको तालिम लिने अवसर खासै पाउँदैन् । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । समस्या जे जस्ता भएपनि बीमा सम्बन्धि पर्याप्त ज्ञान भएको सीपयुक्त अभिकर्ता निर्माण गर्ने हो भने अन्तराष्ट्रिय ‘एक्सपोज’को लागि नियामक, कम्पनी वा सरकार कसले लगानी गर्ने हो त्यो गर्नुपर्यो । अभिकर्तालाई दक्ष बनाउनु पर्यो ।

२०६० साल अगाडिसम्म बीमा समितिले नै अभिकर्तालाई तालिम दिने गरेको थियो । समितिबाट तालिम प्राप्त अभिकर्ताले अहिले पनि राम्रोसँग काम गरिरहेका छन् । तर, त्यसपछि कम्पनीहरुले नै अभिकर्ता तालिम दिने व्यवस्था भयो । यस्तो व्यवस्थाले जस्ता पनि अभिकर्ता उत्पादन हुन थाले । कम्पनीहरुले घरघरमा गएर अभिकर्ता लाइसेन्स बाढ्न थाले । यसरी लाइसेन्स बाढ्न थालेपछि समस्या आएको हो ।

कुनै लहड वा भावनामा बगेर अभिकर्ता बन्न सकिँदैन । पूर्णकालिन अभिकर्ता बन्न दक्षता हाँसिल गरेको हुनुपर्यो । बीमाको ज्ञान हुनुपर्यो । यस्तै, सम्बन्धित नियम, कानुन र व्यवस्थाको बारेमा पनि जानकार हुनुपर्यो ।

अभिकर्ताको लाइसेन्स बोक्नेहरुसँग पनि आधारभूत तथा सैद्धान्तिक ज्ञानको कमि रहेको पाइन्छ । कुनै कम्पनीको कुनै पोलिसीको बारेमा जानकारी पाएकै भरमा अभिकर्ताको लाइसेन्स बोक्नेहरु पनि छन् । यस्ता अभिकर्ताले बीमा क्षेत्रको विकास र विश्वास बढाउन सक्दैनन् । यस्तै अभिकर्ताको कारण हामीहरुले पनि अभिकर्ता भनेको दलाल हो भन्ने आरोप खेप्न वाध्य हुनुपरेको छ ।

अभिकर्ता भनेको बीमा दुत हुन् । त्यसैले प्रचार गर्दा अभिकर्ताले करकाप नभइ राम्रोसँग बुझाएर गर्न आवश्यक छ । अभिकर्ताले अनावश्यक तनाव दिने भन्दै सर्वसाधारणले बीमाको बारेमा कुरै सुन्न नचाहेको भन्ने आरोप पनि लाग्छ । यो भने व्यवसायिक अभिकर्ता तयार पार्न गरिएको कन्जुस्याईको परिणति हो ।

व्यवसायिक र दक्ष अभिकर्ताको कमी भएको अवस्थामा ठगी वा बद्मासी बृद्धि हुन सक्छ । यस्तो बद्मासीले बिमित, विमक, नियामक वा समग्रतामा राज्यलाई नै नकारात्मक परिणाम दिन्छ । त्यसैले अभिकर्ताको क्षमताबृद्धिमा सबैको पहलकदमी आवश्यक छ ।

बीमा समितिले इन्ष्टिच्युट स्थापना गरेको छ । त्यो इन्ष्टिच्युटले अभिकर्तालाई पनि तामिल दिने व्यवस्था मिलाउनु पर्यो । ३ करोड नेपालीलाई बीमा गराउँन ५ लाख अभिकर्ता आवश्यक पर्दैन । १ लाख अभिकर्तालाई बीमाको राम्रो तालिम दिलाउँन सके मात्रै पनि पर्याप्त हुन्छ । तर, दुःखको कुरा, १ लाख दक्ष अभिकर्ता पनि उत्पादन गर्न सकिएको छैन ।

(पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष तिवारीसँग विकासन्यूजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.