हेटौँडा नै हुने भयो प्रदेश ३ को राजधानी, नेकपा सचिवालयले गर्यो निर्णय

  २०७६ पुष १३ गते १२:०७     राजाराम न्यौपाने

हेटाैडा। प्रदेश-३ को राजधानी हेटौँडा हुने भएको छ । नेकपाको बहुमत रहेको प्रदेश- ३ को बैठकले अब प्रदेशको राजधानी हेटौँडा टुंगो लगाउने भएको हो ।

अधिकांश सांसदको असन्तुष्टिका बाबजुद प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सामु प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्ने बाध्यात्मक परिस्थिति आइपरेको हो ।

प्रदेशको स्थायी राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतले तोक्न सक्ने संवैधानिक व्यवस्था छ । प्रदेश ३ मा नेकपासँग दुईतिहाइ बहुमत छ । माघभित्रै संसद्को हिउँदे अधिवेशन शुरू हुने र अधिवेशनमा प्रदेश राजधानी तथा नामाकरणको विषय टुंगोमा पुग्ने नेकपाका एक सांसदले जानकारी दिए । संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि नै नेकपाले प्रदेश राजधानी र नामाकरणका सम्बन्धमा औपचारिक निर्णय  लिएकाे  छ ।

नाम भने बाग्मती नै रहने भएको छ । नेकपा र कांग्रेस दुवैका अधिकांश सांसद काठमाडौं उपत्यका आसपासमा राजधानी राख्नुपर्ने पक्षमा छन् । त्यसो त ११० सदस्यीय प्रदेशसभामा ५२ जना सांसद काठमाडौं उपत्यकाबाटै प्रतिनिधित्व गर्छन् ।

बर्खे अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानीको विषय सिफारिस गर्न सांसद दीपक निरौलाको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले मकवानपुर, काभ्रे, चिवतन, नुवाकोट र भक्तपुरलाई विकल्पका रूपमा प्रस्तुत गर्दै प्रतिवेदन बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.