त्रिविको दीक्षान्त समारोहः मञ्चमा स्वरोजगारका कुरा, चौरमा विदेशिने गफ

  २०७६ पुष ३ गते १९:१३     सन्ताेष राेकाया, डाेमी शेर्पा

काठमाडौं । टन्टलापुर घाम । शिरमा कालो टोपी । मलिन मुहार । काखमा बच्चा राखेर एकोहोरो मोबाइलमा व्यस्त थिइन् चितवनकी सुमित्रा पाैडेल (नाम परिवर्तन) ।

बिहीबार ललितपुरको पुल्चोक क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा देखिएको दृश्य हो यो । हजारौं विद्यार्थीकोबीचमा यस्ता धेरै दृश्यहरु थिए । ती दृश्यहरुमा हर्ष उल्लास र पृथक किसिमको रौनकता पनि थियो ।

विद्यार्थीहरुको जम्काभेट भएको त्यो मैदानमा कोही आफूले हासिल गरेको शिक्षाको प्रमाणपत्र लिन व्यस्त थिए भने कोही तस्विर खिचाउन तल्लिन । कोही भने वर्षौंदेखि भेट नभएका साथीसँगीहरुसँग गफीरहेका थिए ।

बिहीबार भएको ४५औं दीक्षान्त समारोहको रौनकता आफैमा रोचक थियो । तिनै रौनकता छाएका दृश्यहरुभित्र पनि बैग्लै किसिमको रौनकता थियो । भनिन्छ नि ! धन,दौलत र पैसा बाँडेर कम हुन्छ तर शिक्षा न चोरले चोर्न सक्छ नत दाजुभाइ दिदीबहिनीहरुबीच बाँड्न सकिन्छ । बरु ज्ञान जति बाँड्यो त्यति वृद्धि हुन्छ ।

देखिएका दृश्यहरुमा न कुनै अभाव थियो, न कुनै चिन्ता वा पीडा नै । थियो त केबल त्रिभुवन विश्वविद्यालयलयले प्रदान गरेको प्रमाणपत्रभित्र लुकेको खुसियाली । प्रमाणपत्र लिँदै तस्विर खिच्नमा मक्ख थिए विद्यार्थीहरु । त्यही रमाइलाेभित्र अनेकौं सपनाहरु पनि थिए ।

तर, कतिपय भने आफ्नो सपनासँग अनविज्ञ थिए ।

विकासन्युजले धेरै विद्यार्थीहरुसँग तपाईले स्नातक, स्नातकोत्तर तहको प्रमाणपत्र पाएर दीक्षित भइसक्नु भयो के छ अब योजना ? के गर्नु हुन्छ ? भन्ने खालका प्रश्न गर्दा धेरैले आफू भविश्यमा के बन्ने र के गर्ने भन्ने कुरामा अन्यौल र अनविज्ञ थिए । त्यही अन्यौलता तिनै चितवनकी सुमित्रा पाैडेलमा पनि थियो ।

अंग्रेजी विषयमा स्नातकोत्तर गरेर दीक्षित हुन आएपुगेकी उनी आफू भविश्यमा के बन्छु र के गर्छु भन्नेमा भने बेखवर थिइन् । स्नातकोत्तरमा अंग्रेजी विषय पास गर्नु चानचुने कुरा होइन । स्नातकोत्तर तह पास गरिसकेको व्यक्ति देशको मेरुदण्ड हो । उसले जे जस्तो गरेर पनि आफ्नो भविश्यलाई उज्वल पार्न सक्छ ।

तर, सुमित्राको जवाफले भने एकछिन उनलाई मात्र होइन, नेपाली शैक्षिक संस्थाहरुले पनि सोच्न र मनन गर्न आवश्यक बनायो ।

‘श्रीमान अष्ट्रेलिया हनुहुन्छ, सायद म पनि उत} जान्छु होला,’ उनले भनिन् ।

धेरै विद्यार्थी सहभागी थिए दीक्षान्त समारोहमा । हामीले धेरैका भविश्यका योजनाहरु लक्ष्यहरु बुझ्ने प्रयास पनि गर्यौं । तर अधिकांशहरु आफ्नो भविश्यप्रति अनविज्ञ थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेकी आस्था स्वाँरको भनाइ पनि सुमित्राको भन्दा फरक थिएन । उनले पनि अहिले पढिरहेको तर भविश्यमा यही बन्छु र यही गर्छु भन्ने योजना नभएको सुनाइन् ।

आफ्नो छोरीको दीक्षान्त समारोहमा उपस्थित भएका त्रिविका एक प्राध्यापक पनि नेपालको शिक्षा पद्धतिलाई सराप्छन् । उनी नेपालको शिक्षा प्रणाली कागजमा मात्र देखिने बताउँछन् । उनले नेपाली शैक्षिक पद्धती वैज्ञानिक नभई सर्टिफिकेटमा मात्र सिमित रहने उनको भनाइ छ ।

४५औं दीक्षान्त समारोहमा सहभागी भएका धेरै विद्यार्थीहरुले विदेश जाने योजना भएको सुनाए । विद्यार्थीहरुले देशमा केही अवसर छैन, विदेश जान्छौं भन्ने योजनाहरु सुनाइरहँदा मञ्चमा आसिन विशिष्ठ व्यक्तित्वहरु भने युवाहरुले अब विदेश जानु पर्दैन, देशमै रोजगारको सिर्जना गर्छौं भन्ने आश्वासनहरु बाँडिरहेका थिए ।

त्यही आश्वासन शिक्षामन्त्री गिरिराजमणी पोखरेलको मुखबाट पनि सुनियो । समारोहमा प्रमुख व्यक्तित्वका रुपमा आसिन शिक्षामन्त्री पोखरेलले पनि युवाहरुलाई मञ्चबाटै स्वरोजगारका सपनाहरु बाँड्न भ्याए । उनले युवाहरुमा धेरै अभिभारा थपिएकोले सरकारले सकेसम्म विदेश जानबाट रोक्ने खालका योजनाहरु ल्याउने बताए आश्वासन पनि दिए ।

त्रिभुवन विश्वविद्यालयको ४५औ दीक्षान्त समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु सहभागी थिए । दीक्षित हुन योग्य ७० हजार ७७ विद्यार्थी भएपनि १५ प्रतिशत विद्याथीहरु मात्र दिक्षान्तमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.