बैंकका स्कीमः ३० लाख नगद हुनेले १ कराेडकाे घर किन्न सक्ने, घर बनाउन चाहिने सबै रकम बैंकले दिने

  २०७६ पुष ३ गते १३:१०     विकासन्युज

काठमाडौं । आफू बस्दै आएको वा मन परेको ठाउँमा एउटा घर बनाउनु प्रायः सबै नेपालीको चाहना हो । तर, चाहनाले मात्रै पुग्दैन । साढे २ तले आवाशीय घर बनाउन पनि ७५ लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ ।

यस्तो खर्चमा घडेरी किन्ने पैसा पनि थप्नुपर्यो भने सामान्य पेशा व्यवसाय गर्ने नेपालीको लागि काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रमा घर बनाउने सपना पूरा गर्न गाह्रै पर्ने हुन्छ ।

तर, नेपालीको चाहना र बजारको यथार्थलाई समन्वय गर्न बैंकिङ क्षेत्रले नयाँ नयाँ योजनाहरु ल्याउन लागेका छन् । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै नयाँ घर बनाउनको लागि प्याकेज घोषणा गरेको हो ।

राष्ट्र बैंकले यसअघि नै सार्वजनिक गरेको प्याकेज घर वा अपार्टमेन्ट नभएका र अपार्टमेन्ट वा घर बनाउनको लागि बैंक वित्तीय संस्थाबाट ऋण नलिएका व्यक्तिहरुका लागि हो ।

यस्तो छ राष्ट्र बैंकको प्याकेज

राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्ति (फस्ट होम बायर) लाई लक्षित गरी नयाँ योजना ल्याएको थियो । बैंक वित्तीय संस्थाले दिने १ करोड ५० लाख रुपैयाँसम्मको आवाशीय घर कर्जामा ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था नयाँ योजनामा छ ।

यो योजनाअनुसार २ करोड १४ लाख रुपैयाँको घर वा अपार्टमेन्ट किन्दा त्यसको ७० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँसम्म बैंक वा वित्तीय संस्थाले ऋण दिनेछ । बाँकी ६४ लाख रुपैयाँ भने बैंकमा बुझाउनु पर्नेछ ।

यसअघि घर वा अपार्टमेन्ट किन्न धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्रै ऋण लिन पाइन्थ्यो । यस्तो ऋण लिने ऋणीको किस्ता बढाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सानिमा बैंकको योजना

सानिमा बैंकले नयाँ घर बनाउनेहरुलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्थालाई सहयोग गर्नको लागि सानिमाले नयाँ योजना ल्याएको हो ।

सानिमा बैंकले ल्याएको योजनाअनुसार पहिलो पटक घर बनाउन ऋण लिने व्यक्तिहरुले घर निर्माणको शतप्रतिशतसम्म ऋण लिन पाउने छन् । घर बनाउन चाहिने जति पैसा बैंकले ऋणको रुपमा दिने भएपछि घर बनाउन सहज हुनेछ ।

एनएमबी बैंकको योजना

एनएमबी बैंक र मेरोघरडटकमबीच सम्झौता भएको छ । यो सम्झौता अनुसार पनि मेरोघरसँगको समन्वयमा बनाउने घरमा बैंकले नै ऋण दिनेछ ।

घर बनाउन लाग्ने जति खर्च हुन्छ, सो बराबरको रकम बैंकबाट ऋणको रुपमा प्राप्त हुने गरी व्यवस्था मिलाइने मेरोघरको भनाइ छ । यो योजनामा सहभागी हुनेले पनि घर बनाउनको लागि आफूले लगानी नगरी बैंकको साँवा व्याजको किस्ता मात्रै तिरे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.