साधारण सेयर निष्काशनबाट पछि हट्दै अर्घाखाँची सिमेन्ट, सर्वसाधारण ठगिने चिन्तामा प्रमाेटर

  २०७६ पुष १ गते १३:२२     विकासन्युज

काठमाडौं । भैरहवास्थित अर्घाखाँची सिमेन्ट, श्रीस्टील र एशिएन कंक्रिट उद्योग अवलोकन भ्रमणमा काठमाडौंबाट ३४ जना आर्थिक पत्रकार सहभागी थिए । भैरहवाका स्थानीय पत्रकारसहित करिव ४० जनाको टोलीले अर्घाखाँची उद्योग परिसर अवलोकन गर्यो ।  साँझ होटलको हलमा पत्रकारसँग अन्तरक्रिया शुरु भयो ।

सञ्चालक पशुपति मुरारकाले शुरुमा नै भने–‘भन्नै पर्ने नयाँ कुरा केही छैन । हामीले ७ वर्षअघि भारतीय लगानीमा सञ्चालित डाइनेष्टिक सिमेन्ट उद्योग लियाैं । २ वर्षपछि प्रतिदिन ७ सय टन सिमेन्ट उत्पादन थाल्यांै । अहिले उद्योगको क्षमता वृद्धि गरेर दैनिक ३ हजार टन गर्न सक्ने भएका छौं ।’ उनले पत्रकारहरुसँग केही खुशीको कुरा सुनाए र केही निराशा पनि व्यक्त गरे ।

‘स्वदेशी लगानीमा चलेको उद्योग मध्ये अर्घाखाँची सबैभन्दा ठूलो उद्योग हो । यसको गुणस्तर पनि उत्तिकै राम्रो छ । यति ठूलो उद्योग सञ्चालन गरेकोमा गर्व पनि लाग्छ’ मुरारकाले खुशी बाँडे । तर उनले खुशी भन्दा संघर्ष, चुनौतिका विषयमा धेरै कुरा गरे । ‘उद्योग चलाउन धेरै गाह्रो छ । बजारको माग भन्दा करिव दोब्बर उत्पादन क्षमताका उद्योग आएका छन् । आपूर्ति वृद्धिले सिमेन्टको मूल्य घटिरेको छ । सबै उद्योग टिक्ने सम्भावना छैन ।’

प्रतिस्पर्धा गर्न आफ्नो उद्योग सबल रहेको तर्क पनि गरे । ‘हामी पुरानो उद्योग हौं । नयाँ उद्योगको तुलनामा हाम्रो उद्योग निर्माण लागत कम छ । अहिले उत्पादन मूल्य घटेकोले खर्च कटौतिमा हामीले जोड दिएका छौं’ उनले भने । सिमेन्ट उद्योगको उत्पादन लागत घटाउन सरकारले सहयोग नगरेको तर्क छ । ‘पैसा लगानी नगरे पनि यो उद्योगको एउटा मुख्य साझेदार सरकार हो । किनकी नाफामा २५ प्रतिशत कर सरकारले लिन्छ ।

आयकर बाहेक भ्याट, स्थानीय कर, रोयल्टी धेरै शिर्षकमा सरकारले कर लिएको हुन्छ’ उनले भने–सरकारले पनि आफ्नो उद्योगको रुपमा लिनु पर्ने हो तर उद्योग प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच सरकारी निकायहरुमा छैन ।’  उद्योग चलाउन आवश्यक विजुली पनि नपाएको गुनासो उनले गरे । ‘हामीलाई २० मेगावाट विजुली किन्छौ भनिरहेका छौं । विद्युत प्राधिकरणले १० मेगावाट मात्र दिएको छ । १० मेगावाट विद्युत अहिले पनि डिजेलप्लान्टबाट प्रयोग गरिरहेका छौं’ उनले सिलसिलेबार दुःखका कुरा सुनाए ।

‘खानीसम्मको पहुँच मार्ग निर्माण उद्योग आफैले गर्नु परेको छ । उद्योगमा विजुली जोड्न ट्रान्समिसन लाईन आफैले बनाउनु परेको छ । कोइलामा ढुवानीको लागत ज्यादै धेरै छ । त्यसलाई कम गर्न पनि सरकारबाट सहयोग पाएका छैनौं । विद्युत प्राधिकरणले जति मूल्यमा भारतमा विजुली निर्यात गरेको छ त्यति मूल्यमा हामीलाई विद्युत दिन माग गर्दा पनि सरकारले हाम्रा कुरा सुनेन ।’

हाल प्रतिदिन ८ हजार टन सिमेन्टको माग भएको तर दैनिक उत्पादन क्षमता १६ हजार टन पुग्न लागेको जानकारी दिदै मुरारकाले सिमेन्टको माग वृद्धि गर्न दुई वटा विकल्प सुझाए । ‘विटुमिन सडक बनाउन छोडेर संक्रिट सडक बनाउने हो भने सिमेन्टको माग पनि बढ्छ । सडकको टिकाउ पनि ४० वर्षसम्मको हुन्छ । वैदेशिक व्यापार घाटा कम गर्न पनि सहयोग पुग्छ’ उनले भने ।

उनका अनुसार दोस्रो विकल्प निर्यात हो । निर्यातको लागि गुणस्तरको विषयमा अस्पष्टता रहेको उनले आंैल्याए । ‘नेपाली सिमेन्ट चीन वा बंगलादेश निर्यातको सम्भावना छैन । भारतको विहार, उत्तर प्रदेश र वेष्ट बंगालमा निर्यात गर्न सकिन्छ । भारतमा निर्यात गर्नको लागि भारतीय स्ट्याण्डर्डमा उत्पादन हुनुपर्छ । नेपाल र भारतमा फरक फरक स्ट्याण्डर्ड भए भने निर्यात गर्न सकिदैन’ उनले भने ।

साधारण निष्काशन विषयमा दुविधामा

अर्घाखाँची सिमेन्टको सेयर सर्बसाधारणको लागि सेयर निष्काशन गर्ने कि नगर्ने भन्ने विषयमा दुविधा भएको मुरारकाले बताए । ‘पहिला हामी साधारण सेयर जारी गर्न तयार भएका थियौं । तर अहिले सर्वसाधारणमा सेयर निष्काशन गर्यो भने पब्लिकका लागि ठग्ने नियत राखेको जस्तो हुन सक्छ’ उनले भने–‘क्षेत्रगत रुपमा सिमेन्ट उद्योगको अवस्था राम्रो छैन । सिमन्ट उद्योगको भविष्य म राम्रो देख्दिन ।’

उत्पादन मुलक उद्योगले पब्लिकमा शेयर निष्काशन गरेर राम्रो उदारहण सेट नसकेको समेत बताए । साथै, उनको भनाई उद्योग घाटामा जाँदै छ भन्नेमा नै केन्द्रीत थियो । ‘कम्पनी घाटामा जान लाग्यो भनेर शेयर निष्काशन नगर्ने खोजिएको हो कि बढी नाफा भएकोले नाफा बाँड्न नचाहेकोले शेयर निष्काशन गर्न नखोजेको हो’ नयाँ प्रश्न उठ्यो ।

‘पहिला धेरै नाफा भएकोले शेयर निष्काशन गरिएन, अहिले घाटा हुने डरले निष्काशन गर्न नचाहेको हो ।’ उनको जवाफसँगै हलमा हाँसो गुञ्जियो । मुरारकाका अनुसार यस उद्योगमा करिव ७ सय करोड रुपैयाँ लगानी भएको छ । गत वर्ष कम्पनीको कुल कारोबार एक हजार करोड रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षमा कारोबार कम हुने उनले बताए ।

‘उद्योग पूर्ण क्षमतामा चलाउन सकिएको छैन’ उद्योगका प्रबन्ध निर्देशक राजेश अग्रवालले भने–‘तीन सिफ्टमा उत्पादन क्षमताको ७० प्रतिशतभन्दा बढी उत्पादन भएपछि मात्र कम्पनी नाफामा जान्छ ।’ हाल उद्योगको क्षमताको ५० प्रतिशतभन्दा कम उत्पादन भईरहेको उनले बताए ।
‘पहिला हरके वर्ष १८/२० प्रतिशतले बजार बढेको थियो । दुई तिहाइको सरकार आएपछि निर्माण सामाग्रीको बजार कम्तिमा ३० प्रतिशतले बढ्छ भन्ने हाम्रो अनुमान थियो । तर स्थायी सरकार आएपछि निर्माण क्षेत्रमा झन् कम काम भयो । निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी थपिए, माग बढेन’ उनले भने ।

भट्टीेबाट विजुली उत्पादन

कम्पनीले सिमेन्ट उद्योगको भट्टिबाट निष्कने तातोहावालाई वास्पिकरण गरेर उर्जा परिवर्तन गरेको छ । अर्घाखाँची उद्योगलाई वातावरणमैंत्री बनाउन महत्वपूर्ण कार्य गरेको उनले बताए । ‘अहिले एक मेगावाट उत्पादन भएको छ । उद्योग पूर्ण क्षमतामा चल्दा साढे दुई मेगावाटसम्म विजुली उत्पादन हुनेछ’ मुरारकाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.