साताको शेयर बजारः दुई अर्ब ५६ करोडको कारोवार

  २०७६ मंसिर २८ गते १६:२९     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय गर्यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा दुई अर्ब रुपैयाँ माथि पुगेको छ ।

पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको थियो ।

कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुग्यो । सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरिदबिक्री भए ।

उकालोको यात्रा तय गरेको नेप्सेले मङ्गलबार पनि सोही गति पछ्यायो । सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई एक हजार १५१.३६ विन्दुमा पुग्यो । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए ।

बुधबार नेप्से परिसूचक १० अङ्कले बढ्यो । कूल १०।११ अङ्कले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँमा खरिदबिक्री भए ।

यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई बजार बन्द भयो । सो दिन नेप्से ११।१७ अङ्कले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो । कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ रुपैयाँमा खरिदबिक्री भए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.